राखेपको निर्देशनविपरीत एन्फाका ८ प्रतिनिधि बहराइन उडे

सहयात्रा टिभी

काठमाडौं । चैत ७, विश्वकप तथा एसिया कप फुटबलको छनोटको लागि बहराइनमा रहेको नेपाली फुटबल टोलीको खेल हेर्न एन्फाले आफ्ना ८ जना प्रतिनिधिलाई बहराइन पठाएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले अनावश्यक रुपमा आर्थिक भार पर्ने भन्दै ८ प्रतिनिधिको भ्रमण नगराउन एन्फालाई निर्देशन दिएको थियो । तर एन्फाले राखेपको निर्देशन लत्याउँदै आफ्ना ८ प्रतिनिधिलाई बहराइन पठाएको छ ।

हाल बहराइनमा रहेको राष्ट्रिय फुटबल टोलीको हौसला बढाउन भन्दै एन्फाले अनावश्यक रुपमा थप आठ जनालाई बहराइन पठाएको हो ।
बहराइनमा रहेको टोलीसहित अन्य गरी ४१ सदस्य टोलीको सहभागिताका लागि स्वीकृति दिनका लागि एन्फाले राखेपमा बिहीबार पत्राचार गरेको थियो ।

तर राखेपले बहराइन पुगेको फुटबल टोलीसहित डा. राजु डंगोल र मिडिया अफिसर गोविन्दराज नेपाललाई मात्र र सहभागिताको लागि स्वीकृति दिएको छ ।

तर एन्फाले राखेपको स्वीकृत विना एन्फा केन्द्रीय सदस्य टिकाराम लामा हेड अफ डेलिगेट्स तथा मणिराज विष्ट, रामचन्द्र तामाङ लामा, रन्जन कार्की, राजकाजी श्रेष्ठ, महेशचन्द्र महत, भरतबहादुर खत्री, शेरबहादुर बस्नेत, डोलुशकुमार केसी अफिसियल बहराइन पठाएको जनाएको छ ।

बहराइनमा नेपाल र घरेलु टोलीबीच चैत ८ र १३ गते हुने फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटको खेल हुँदैछ ।

प्रकाशित : 20 March, 2024

प्रतिक्रिया दिनुहोस्