आलोचनाको जवाफ गोलले दिँदै इतिहास रचेका रोनाल्डो
सहयात्रा टिभी
काठमाडौँ । असार १०, पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले उज्बेकिस्तानविरुद्ध दुई गोल गर्दै जारी फिफा विश्वकपमा आफ्नो गोलको खाता खोलेका छन् । उनको उत्कृष्ट प्रदर्शनमा पोर्चुगलले मंगलबार उज्बेकिस्तानलाई ५–० ले पराजित गर्यो ।

पहिलो खेलमा डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोसँग १–१ को निराशाजनक बराबरी खेलेपछि आलोचनाको सामना गरिरहेको पोर्चुगलका लागि यो जित ठूलो राहत बन्यो । रोनाल्डोले पहिलो हाफमै दुई गोल गर्दै टोलीलाई सहज जिततर्फ डोर्याए ।
योसँगै ४१ वर्षीय रोनाल्डो विश्वकपका छ संस्करणमा गोल गर्ने इतिहासकै पहिलो खेलाडी बने । साथै उनले पोर्चुगलका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान पनि आफ्नो नाममा लेखाए । उनले पोर्चुगलका महान् पूर्वखेलाडी युसेबियोको कीर्तिमानलाई पछि पारे ।
पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले रोनाल्डो र अर्जेन्टिनाका कप्तान लियोनल मेसीबीचको प्रतिस्पर्धाले फुटबललाई अझ माथि उठाएको बताए । उनले भने, ‘यी दुवै खेलाडीले वर्षौंदेखि फुटबललाई नयाँ उचाइ दिएका छन् । उनीहरूबीचको प्रतिस्पर्धाले एकअर्कालाई अझ उत्कृष्ट बन्न प्रेरित गरेको छ ।’
मार्टिनेजले रोनाल्डोलाई राष्ट्रिय टोलीको आदर्श व्यक्तित्वका रूपमा वर्णन गर्दै मैदानभित्र र बाहिर उनको व्यवहार युवा खेलाडीहरूका लागि उदाहरणीय रहेको बताए । दुई गोल गरेपछि मैदान छाड्ने क्रममा रोनाल्डोले टेलिभिजन क्यामेरातर्फ हेर्दै ‘म फर्किएको छु’ भनेजस्तो देखिएका थिए । तर प्रशिक्षक मार्टिनेजले रोनाल्डोले कहिल्यै आत्मविश्वास नगुमाएको बताए ।
‘उनी पनि मानिस हुन् र भावना व्यक्त गर्न पाउने अधिकार छ । तर मैले उनीजस्तो खेलाडी कहिल्यै देखेको छैन, जो जे भए पनि अर्को दिन फेरि मेहनत गर्न भोकाएको हुन्छ,’ उनले भने । उज्बेकिस्तानका प्रशिक्षक फाबियो कानाभारोले पनि रोनाल्डोको प्रशंसा गरे । सन् २००६ को विश्वकप विजेता इटाली टोलीका कप्तानसमेत रहेका कानाभारोले भने, ‘रोनाल्डोलाई एक सेन्टिमिटर पनि खाली ठाउँ दिनु हुँदैन । अवसर पाए उनी गोल गरिहाल्छन् ।’
उनले थपे, ‘पोर्चुगलका खेलाडीहरू उनलाई बल दिन खोज्छन् । डिफेन्डरका रूपमा उनी नजिक रहन निकै चनाखो हुनुपर्छ । उनी उत्कृष्ट व्यवसायिक खेलाडी हुन् । खेलपछि मैले उनलाई अझ केही वर्ष खेल्दै फुटबलको आनन्द लिन शुभकामना दिएँ ।’ यसैबीच, फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले रोनाल्डोलाई उनको ‘अविश्वसनीय उपलब्धि’का लागि बधाई दिँदै बाँकी प्रतियोगिताका लागि शुभकामना व्यक्त गरेका छन् ।
