अष्ट्रेलियालाई पेनाल्टी सुटआउमा हराउँदै इजिप्ट पहिलोपटक विश्वकपको अन्तिम १६ मा
सहयात्रा टिभी
काठमाडौँ । असार २०, इजिप्टले इतिहास रच्दै पहिलोपटक फिफा विश्वकपको अन्तिम १६ मा स्थान बनाएको छ। टेक्सासमा भएको रोमाञ्चक अन्तिम–३२ को खेलमा अष्ट्रेलियालाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै इजिप्टले नयाँ इतिहास रचेको हो।

निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। निर्णायक पेनाल्टीमा होसाम अब्देलमागुइदले गोल गर्दै इजिप्टलाई ऐतिहासिक जित दिलाए। अब इजिप्टले अन्तिम १६ मा लियोनल मेसीको अर्जेन्टिना र केप भर्डबीचको खेलको विजेतासँग मंगलबार एटलान्टामा प्रतिस्पर्धा गर्नेछ। इजिप्टले खेलको १३औँ मिनेटमा इमाम आशौरको हेडरमार्फत अग्रता लिएको थियो। करिम हाफेजको क्रसलाई आशौरले उत्कृष्ट रूपमा जाली चुमाउँदै प्रतियोगितामा आफ्नो दोस्रो गोल गरे।
त्यसपछि अष्ट्रेलियाले ५५औँ मिनेटमा बराबरी गोल फर्कायो। इजिप्टका डिफेन्डर मोहम्मद हानीले दबाबमा आफ्नै पोस्टमा हेड गर्दै आत्मघाती गोल गरेका थिए। यो प्रतियोगितामा उनको दोस्रो आत्मघाती गोल थियो। कप्तान मोहम्मद सलाह ह्यामस्ट्रिङको चोटबाट फर्किए पनि खेलभर अपेक्षाअनुसार प्रभाव जमाउन सकेनन्। अतिरिक्त समयमा उनले राम्रो अवसर गुमाए भने अष्ट्रेलियाका गोलकिपर प्याट्रिक बिचले रामीको प्रहार उत्कृष्ट बचाउ गर्दै खेललाई पेनाल्टीसम्म पुर्याए।
खेलको सुरुवातमै अष्ट्रेलियाका क्रिस्टियन भोल्पाटोको प्रहार क्रसबारमा लागेको थियो। दोस्रो हाफको सुरुमै इजिप्टका ओमार मार्मुशले नजिकबाट पाएको उत्कृष्ट अवसर पनि सदुपयोग गर्न सकेनन्। पेनाल्टी सुटआउटका लागि अष्ट्रेलियाका प्रशिक्षक टोनी पोपोभिचले अनुभवी गोलकिपर म्याथ्यु रायनलाई अन्तिम समयमा मैदानमा उतारे। तर उनको रणनीति सफल हुन सकेन।
अष्ट्रेलियाका पहिलो पेनाल्टी हानेका ह्यारी साउटरले बल बारमाथि प्रहार गरेपछि टोली दबाबमा परेको थियो। त्यसपछि दुवै टोलीका पाँच खेलाडीले लगातार गोल गरे, जसमा सलाहले पनि सहज रूपमा आफ्नो पेनाल्टी सफल बनाए। तर १८ वर्षीय अष्ट्रेलियाली डिफेन्डर लुकास हेरिङ्टनको प्रहार क्रसबारमा लागेपछि इजिप्टलाई जितको अवसर मिल्यो। अन्तिम प्रहारमा होसाम अब्देलमागुइदले कुनै गल्ती नगर्दा इजिप्ट ४–२ ले विजयी बन्यो।
जितसँगै सलाह भावुक बनेर आँसु झारे भने अष्ट्रेलियाका खेलाडी निराश बने। समूह चरणमा न्युजिल्यान्डलाई ३–१ ले पराजित गर्दै पहिलोपटक विश्वकपमा खेल जितेको इजिप्टले अर्को ऐतिहासिक उपलब्धि थप्दै पहिलोपटक विश्वकपको पहिलो नकआउट चरण पार गरेको छ।
