बिर्तामोडमा आगलागी हुँदा एकको जलेर मृत्यु लाखौँ क्षति
सहयात्रा टिभी
काठमाडौं । कात्तिक ५, झापाको बिर्तामोडमा बिहीबार बिहान एक ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने लाखौँ मूल्य बराबरको क्षति भएको छ।

इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार, रवि राजवंशीले सञ्चालन गर्दै आएको बडी ग्यारेज (ठुला सवारीसाधन मर्मत केन्द्र) को क्यान्टिनमा विद्युत् सर्ट भई आगलागी भएको हो।
बिर्तामोड नगरपालिका-२ रामचौकस्थित ध्रुव भट्टराईको जग्गामा राजवंशीले सञ्चालन गरेको टिनको छानो भएको भवनमा बिहान करिब ४ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ।
आगलागीबाट क्यान्टिनमा काम गर्दै आएका झापाकै गौरीगन्ज गाउँपालिका-२ का ६५ वर्षीय रुद्रबहादुर तामाङको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।
उनको शव जलेको अवस्थामा फेला परेको हो। आगलागीबाट क्यान्टिनभित्र रहेका भाँडाकुँडा, लत्ताकपडा, १ लाख रुपैयाँ नगद र ३ वटा खसीबाख्रा पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
यस्तै ग्यारेजसँगै टाँसिएको राजेन्द्र अग्रवालले सञ्चालन गरेको मार्बल-टाइल्सको गोदाममा समेत आगोले जलेको झापा प्रहरीले जनाएको छ।
दमकल र स्थानीयवासीको संयुक्त प्रयासमा विहान करिव ४:३० बजे तपर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। दमकलबाट आगो निभाउने क्रममा गोदामभित्र राखिएका करिब २० देखि २५ बोरा सिमेन्ट भिजेर करिब २५ हजार रुपैयाँ बराबरको थप क्षति भएको छ।
