प्लाष्टिकको झोला निषेध गर्न महानगर फेरि अलमल
काठमाडौं । साउन ५, २०८० साउन १ देखि एकल प्रयोगको प्लाष्टिकलाई निषेध गर्ने घोषणा कार्यान्वयन थाल्न काठमाडौं महानगरपालिकालाई फेरि अलमल भएको छ ।
महानगरपालिकाले प्लाष्टिकको झोलासहित फूलगुच्छा उत्पादन, बिक्री वितरण र आयातका साथै ४० माइक्रोनभन्दा पातला प्लाष्टिकको झोलाको प्रयोगलाई महानगरपालिका क्षेत्रमा प्रतिबन्ध लगाउने समेत घोषणा गरेको थियो ।
महानगरको चालु आर्थिक वर्ष २०८०/८१का लागि पारित नीति तथा कार्यक्रमबाट घोषणा भएको उक्त कार्यक्रम कार्यान्वयन गर्न महानगरले अझै बजार अनुमगन थालेको छैन ।
काठमाडौं महानगरपालिकाको यो घोषणा कार्यान्वयन भए काठमाडौंमा पातला प्लाष्टिकको झोला प्रयोग बन्द हुन सक्छ ।
महानगरपालिकाका वातावरण विभाग प्रमुख रबिनमान श्रेष्ठ बञ्चरेडाँडामा फोहोर विसर्जनामा अवरोध भएपछि प्लाष्टिकलाई निषेध गर्ने अभियान सुरु गर्न ढिलाइ भएको बताउँछन् ।
उनका अनुसार गुट्खा र परागजस्ता वस्तुहरु पसलमा झन्ड्याएर बेच्न पनि नदिने गरी कार्ययोजना बनाउन लागिएको छ । ‘छिट्टै बजारमा अनुगमन गरेर प्लाष्टिकको प्रयोग, बिक्री वितरण रोक्छौं,’ श्रेष्ठले भने ।
महानगरले गरेको पातला प्लाष्टिकको प्रतिबन्धको घोषणा मिति नै तोकेर सरकारी पक्षबाट भएको यो छैठौं घोषणा हो । महानगरले तोकिएको मितिबाटै बजारमा अनुगमन नथाल्दा यो घोषणा पनि विगतको जस्तो कागजमै सीमित हुने आशंका विज्ञहरुलाई छ ।
काठमाडौं महानगरले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा पनि एक वर्षमै महानगरलाई प्लाष्टिक झोलामुक्त गर्ने भनेको थियो ।
महानगरले प्लाष्टिक झोला नियन्त्रणमा केन्द्रित भएर एउटा बजार अनुगमन समेत नगरी योजनालाई पंगु बनायो । काठमाडौं महानगर मात्र हैन, संघ, प्रदेश र स्थानीय तहले बर्सेनि यस्ता घोषणा गरिरहेका हुन्छन् । कार्यान्वयनमा भने शून्य प्रगति छ ।