चिनियाँ राजदूत र अर्थमन्त्री पुनबीच शिष्टाचार भेटवार्ता
काठमाडौँ । चैत ६, अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले चिनियाँ सहयोग तथा लगानीमा निर्माणाधीन विकास आयोजनाका कामलाई तीव्रता दिन आग्रह गरेको उनको सचिवालयले जनाएको छ । उनले प्रक्रियामा रहेका आयोजना अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।
चीनले पछिल्लो दशकमा गरेको आर्थिक विकास र गरिबी निवारणको काम विश्वकै लागि उदाहरणीय हुन सक्ने बताएको चर्चा गर्दै चीनको अनुभव नेपालका लागि पनि सान्दर्भिक हुन सक्ने उल्लेख गरे ।
चीनले नेपालको भौतिक विकाससहित विभिन्न क्षेत्रमा विगतदेखि नै सहयोग गर्दै आएकामा धन्यवाद दिँदै पुनले नेपालको अर्थतन्त्रमा केही शिथिलता देखिएको र जनताको विकासको आकांक्षा उच्च भएकाले नियमितभन्दा थप सहयोगको अपेक्षा राखिएको उल्लेख गरे ।
नेपाल र चीनबीच रेल मार्गसम्बन्धी परियोजनामा यसअघि नै सैद्धान्तिक सहमति भइसकेको छ । केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण काम जारी छ ।
मन्त्री पुनले तातोपानी र रसुवागढी नाका नियमित सञ्चालनमा आएकामा चिनियाँ पक्षलाई धन्यवाद दिए ।
मन्त्री पुनले आगामी वैशाखमा हुने लगानी सम्मेलनका लागि निमन्त्रणा गरिसकिएको जानकारी दिँदै बढिभन्दा बढी लगानीकर्ता आउन प्रेरित गरिदिन राजदूत छनलाई आग्रह गरे ।
चीनले नेपालको आर्थिक र सामाजिक विकासलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिँदै उनले कृषि, उद्योग र प्रविधि क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताए ।
‘चीन–नेपाल सम्बन्ध उचाइमा पुर्याउन तथा नेपालको विकास र समृद्धिमा हातेमालो गर्न चाहन्छौं,’ राजदूत छनले भने, ‘दुई देशबीच आगामी दिनमा आपसी समन्वय र सहकार्य थप प्रगाढ हुने विश्वास दिलाउन चाहन्छौं ।’
यस्तै उनले पोखरा र भैरहवा विमानस्थलमा चिनियाँ कम्पनीका जहाजले उडान गर्नेबारे छलफल चलिरहेको जानकारी मन्त्री पुनलाई दिए । त्यसका लागि हवाई रुट साथै पोखरा–काठमाडौं र भैरहवा–काठमाडौं उडान समेत अनुमति चाहिने उल्लेख गरे ।