विनोद चौधरीले भने- उद्योगीलाई हतोत्साही बनाउने काम भयो

सहयात्रा टिभी

काठमाडौँ । चैत ८, बाँसबारी जग्गा प्रकरणमा उद्योगी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बयान लिएको छ । आज बिहान सरकारी वकिलको कार्यालयमा आफैँ पुगेका चौधरीसँग सीआईबीले झण्डै दुई घण्टा बयान लिएको हो । बयान दिएर निस्कने क्रममा चौधरीले जग्गा प्रकरणका नाममा आफूमाथि राजनीतिकरण गरिएको बताए ।

उनले विगत १४० वर्षदेखि आफ्नो परिवारले मुलुकमा थुप्रै उद्योग तथा परियोजना सञ्चालन गर्दै आएको उल्लेख गर्दै १० रोपनी जग्गाका लागि कुदृष्टि राख्यो भन्नु विकृत मानसिकताको उपजबाहेक केही नभएको बताए । चौधरीले कारखानाको जग्गा आफ्ना बुबाको पालामै कानुनी रुपमा नै आएको बयान दिएका छन् । उनले बाँसबारी जग्गा प्रकरणमा आफू चोखो रहेको जिकिर गर्दै यस्ता गतिविधिबाट उद्यमी, लगानीकर्तालाई हतोत्साहित बनाउने बताए ।

उनले भने, ‘मैले कुरा भनिरहँदा नेपालका उद्यमी र करदाताले कुन सन्देश लिएर जाने हुन् भन्ने हेक्का राज्यले राख्नुपर्ने हो ।’ अहिले राजनीतिक स्टन्ट भइरहेको उल्लेख गर्दै उनले आफ्नो चरित्रको प्रमाणपत्र उनीहरुलाई दिइरहन जरुरी नभएको समेत बताए ।

काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा सीआईबीले उनलाई बयानको लागी बोलाएको थियो । सो जग्गा प्रकरणमा सिआइबीले व्यवसायी अरूण चौधरी, कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई गत माघ १८ गते पक्राउ गरेको थियो।

 

प्रकाशित : 21 March, 2024

प्रतिक्रिया दिनुहोस्