माछीखोला जलविद्युत आयोजनाको निर्माण कार्य तत्काल रोक्न धार्चे पालिकाले आग्रह

सहयात्रा टिभी

काठमाडौं । मंसिर ३०, उत्तरी गोरखाको धार्चे गाउँपालिका वडा-३ र ५ जोड्ने रेसे खोलामा बन्न लागेको १६ मेगावाटको माछीखोला जलविद्युत आयोजनाको निर्माण कार्य तत्काल रोक्न पालिकाले आग्रह गरेको छ।

वातावरण प्रभाव मुल्याकंनको मापदण्ड विपरित जथाभावी उत्खनन गरेको भन्दै पालिकाले काम बन्द गर्न भनेको हो । सम्बन्धित निकायबाट अनुमति समेत नलिएको पालिकाले जनाएको छ ।

यसरी जथाभावी डोजर लगाउँदा माछिखोला रेसे सडकमा क्षति पुगेको र सिङ्ला गाउँ र माछिखोला बजारमा पहिरो जोखिम बढेको जनाएको छ ।

आयोजनाको डिपिआर अध्ययन गरी जोखिममुक्त तथा न्यूनिकरणको विश्वास सुनिश्चित नभएसम्म निर्माण कार्य अघि नबढाउन पालिकाले भनेको छ ।

जथाभावी डोजर लगाएर प्राकृतिक स्रोत साधनको दोहन एवं वन क्षेत्रमा हानी नोक्सानी पुर्‍याउने काम आयोजनाले गरेको पालिकाले जनाएको छ । सम्बन्धित निकायको स्वीकृती बिना उक्त काम भएको भन्दै आपत्ति जनाएको छ ।

वाटर इनर्जी डेभलपमेन्ट प्रालि काठमाडौंले उक्त क्षेत्रमा जलविद्युत आयोजना निर्माण गर्न लागेको हो ।

 

प्रकाशित : 15 December, 2024

प्रतिक्रिया दिनुहोस्