रवि लामिछानेको विवादास्पद तस्बिर सार्वजनिक, प्रहरी भन्छ- अनुसन्धान गर्दैछौं

काठमाडौं । पुष ४, सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने हिरासतभित्र सुतेको भन्दै एक तस्बिर सामाजिक सञ्जालमा निकै फैलिएको छ ।
रास्वपाका सहकोषाध्यक्ष दिपक बोहरा आफैंले हिरासतभित्रैबाट तस्बिर बाहिरिएको बताउँदै सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । कास्की प्रहरीको हिरासत कक्षबाटै सिसीटिभी फुटेजबाट निकालेर उक्त तस्बिर सार्वजनिक गरिएको बताइएको छ । यद्यपि यसको आधिकारिकरुपमा पुष्टि भने हुन सकेको छैन ।
बुधबार सामाजिक सञ्जालमा भाइरल भएको तस्बिरबारे जिल्ला प्रहरी कार्यालय कास्कीले केही भन्न सकिने अवस्था नरहेको बताएको छ । कास्की प्रहरी प्रवक्ता डिएसपी बसन्त शर्माले तस्बिरको यकिन हुन नसकेको बताए । उनले तस्बिरको आधिकारिकताको बारेमा अनुसन्धान जारी रहेको जनाए ।
उनले भने, ‘यसको आधिकारिता पुष्टि हुन सकेको छैन । त्यसको यकिन गर्न अनुसन्धान गर्दैछौं ।’ उनका अनुसार तस्बिरको आधिकारिकता पहिल्याउने प्रयत्न भइरहेको छ ।
यस्तै नेपाल प्रहरीको साइबर ब्युरोले पनि यसको आधिकारिकता यकिन हुन नसकेको बताएको छ । साइबर ब्युरोका प्रवक्ता एसपी दिपकराज अवस्थिले तस्बिरको बारेमा केही ठम्याउन नसकिएको बताए । उनले बुधबारदेखि सामाजिक सञ्जालमा छाएको तस्बिरको यकिन गर्ने प्रयत्न भइरहेको जानकारी दिए ।