भेनेजुएला भूकम्प: आमा-दिदी गुमाएका बालकको चार दिनपछि जीवितै उद्धार
सहयात्रा टिभी
काठमाडौँ । असार १५, शक्तिशाली भूकम्प गएको केही दिनपछि भेनेजुएलामा भग्नावशेषबाट जीवितै उद्धार गरिएका केही ‘चमत्कारी’ घटनाहरू सार्वजनिक भएका छन् । गत बुधबार ३९ सेकेन्डको अन्तरालमा गएका ७.२ र ७.५ म्याग्निच्युडका दुईवटा शक्तिशाली भूकम्पका कारण सयौँ भवनहरू भत्किएका छन् भने हजारौँ मानिस अझै बेपत्ता छन् ।

भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजका अनुसार सप्ताहन्तमा मात्रै भग्नावशेषबाट ३३ जनालाई जीवितै बाहिर निकालिएको छ । जीवितै उद्धार गरिएकामा दुई जना ११ वर्षीय बालक छन् । उनीहरूलाई आइतबार दुई फरक-फरक भत्किएका भवनबाट केही घण्टाको अन्तरालमा उद्धार गरिएको हो ।
उद्धार गरिएका ११ वर्षीय बालक मोइसेस करिब ९.८ फिट (३ मिटर) गहिरो भग्नावशेषमा पुरिएका थिए । कोलम्बियाको विपद् जोखिम व्यवस्थापन एकाइका अनुसार टोलीले ६ घण्टाको कडा मिहिनेतपछि उनलाई बाहिर निकाल्न सफल भएको थियो ।
मोइसेसलाई उद्धार गर्दा आँखालाई घामबाट जोगाउन पट्टी बाँधिएको थियो । रोयटर्सका अनुसार मोइसेस भेटिएको स्थान नजिकै उनकी आमा र दिदी मृत फेला परेका थिए । त्यसको केही घण्टापछि काराबालेडा सहरबाट अर्का ११ वर्षीय बालकको पनि जीवितै उद्धार गरिएको भिडियो राष्ट्रपति रोड्रिगेजले सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् । उनले लेखेकी छन्, “यो घडीमा प्रत्येक नागरिकको जीवन भेनेजुएलाका लागि आशाको किरण हो ।”
विपद्को पहिलो ४८ देखि ७२ घण्टालाई जीवितै उद्धारका लागि महत्त्वपूर्ण समय मानिन्छ । यो समय घर्किसकेकाले थप मानिस जीवितै पाउने आशा क्षीण बन्दै गएको छ । यद्यपि, उद्धारकर्मीले आश मारिसकेका छैनन् । आइतबार नै फ्रान्सेली र अमेरिकी टोलीले काराबालेडामा एक बुबा र उनका किशोर छोरालाई जीवितै उद्धार गरेका छन् ।
बढ्दो आक्रोश र परकम्पको त्रास
भूकम्पबाट सबैभन्दा बढी प्रभावित तटीय क्षेत्र ला गुइरा बनेको छ । लगातार गइरहेका परकम्पहरूका कारण स्थानीय त्रसित छन् र यसले उद्धार कार्यमा समेत बाधा पुर्याइरहेको छ । सरकारको सुस्त र फितलो उद्धार प्रक्रियालाई लिएर स्थानीयमा आक्रोश बढ्दो छ ।
कारिबे र तानागुआरेनाजस्ता बढी प्रभावित क्षेत्रमा अझै पनि भग्नावशेष हटाउने काम सुरु हुन सकेको छैन । एक स्थानीयले बीबीसीलाई बताएअनुसार सरकारले सडक बन्द गरेर उल्टै उद्धार कार्यमा बाधा पुर्याइरहेको छ ।
अहिले हजारौँ मानिसहरू घर छोडेर गाडी, विमानस्थल र गल्फ कोर्षजस्ता खुला ठाउँमा पाल टाँगेर बसिरहेका छन् । काराबालेडाको एउटा गल्फ कोर्ष अहिले आपत्कालीन राहत केन्द्र र अस्थायी अस्पतालमा परिणत भएको छ ।
