सरकारले मनसुनजन्य विपद् प्रतिकार्यमा उच्च सतर्कता
सहयात्रा टिभी
काठमाडौँ । असार १७, देशभर मनसुनी प्रणाली सक्रिय भएसँगै बाढी, पहिरो र डुबानको जोखिम बढेको छ। बुधबार र बिहीबार मौसम थप प्रतिकूल रहने पूर्वानुमानपछि सरकारले विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्रलाई उच्च सतर्कतामा राखेको छ।

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मनसुन थप सशक्त बनेपछि देशभरका जोखिमयुक्त क्षेत्रमा उद्धार र राहतका लागि सुरक्षाकर्मीहरू तैनाथ गरिएको छ।
सशस्त्र प्रहरी बल ९एपीएफ० ले विपद्का बेला तत्काल उद्धार टोली खटाउन सहज होस् भनी देशभर ५४ स्थानमा ‘अस्थायी मनसुन प्रतिकार्य बेस’ स्थापना गरेको छ। एपीएफ प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार १६ वटा अति जोखिमयुक्त स्थानमा भने जनशक्ति र स्रोतसाधनसहितका स्थायी बेसहरू नै तयारी अवस्थामा छन्।
विपद्को सूचना लिन सशस्त्र प्रहरीले ‘एपीएफ कम्युनिटी अलर्ट सिस्टम’ मोबाइल एप र १११४ हटलाइन सेवा सञ्चालनमा ल्याएको छ। प्रवक्ता कार्कीले भने, ‘नागरिकले एपमार्फत सूचना दिनेबित्तिकै नजिकको बाहिनीमा जानकारी पुग्छ र उद्धार टोली तत्काल घटनास्थलमा खटिन्छ। हामी चौबिसै घण्टा तयारी हालतमा छौँ।’
