अढाइ सय सरकारी भवनको पुन: निर्माण सम्पन्न

सहयात्रा टिभी

काठमाण्डौं । पुष–१३, भूकम्पले भत्किएका २४८ सरकारी भवन पुनःनिर्माण सम्पन्न भएको छ । गोरखा भूकम्पले क्षति पुगेका ४१५ सरकारी भवन बनाउनु पर्ने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार १४५ भवन पुनःनिर्माण भइरहेको छ । २२ भवन पुनःनिर्माण गर्न बाँकी रहेको प्राधिकरणले तीन वर्षे अवधिमा गरेको प्रगति विवरणमा उल्लेख छ ।

हालसम्म ६० प्रतिशत सरकारी भवन पुनःनिर्माण सम्पन्न भएकामा चालु आर्थिक वर्षको अन्त्यसम्ममा ७५ प्रतिशत पूरा गर्ने लक्ष्य रहेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले राससलाई जानकारी दिए ।

आर्थिक वर्ष २०७६र७७ मा ९० प्रतिशत पुनःनिर्माण सक्ने लक्ष्य छ । आव २०७७र७८ मा ४१५ वटै सरकारी भवनको पुनःनिर्माण सकिने उनले बताए । भूकम्पले १६२ सरकारी भवनमा पूर्ण र २५३ मा आंशिक क्षति पुगेको थियो ।

सुरक्षा निकायका सय भवन पुनःनिर्माण सम्पन्न

सुरक्षा निकायका ३८३ भवन पुनःनिर्माण गर्नुपर्नेमा हालसम्म १०३ वटा भवन सम्पन्न भएको छ भने १०२ भवन पुनःनिर्माण भइरहेको प्राधिकरणले जनाएको छ । सुरक्षा निकायका १७८ भवन बनाउन बाँकी रहेको जनाइएको छ ।

चालु आर्थिक वर्षको अन्त्यसम्म सुरक्षा निकायका ६० प्रतिशत भवन पुनःनिर्माण गरिसक्ने लक्ष्य छ । आर्थिक वर्ष २०७६र७७ मा ९५ प्रतिशत पुनःनिर्माण सकिने कार्ययोजना छ । आव २०७७र७८ मा ३८३ अर्थात् शतप्रतिशत सुरक्षा निकायका भवनको पुनःनिर्माण सक्ने प्राधिकरणले जनाएको छ ।

भूकम्पले नेपाली सेनाका २०४, नेपाल प्रहरीको १३९, सशस्त्र प्रहरीको ३१ र राष्ट्रिय अनुसन्धान विभागका नौ भवन भत्किएको थियो । रासस

प्रकाशित : 29 December, 2018

प्रतिक्रिया दिनुहोस्