बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ता
काठमाडौं । निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन आइतबार बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्मको समय तोकेको छ । असार १४ गते हुने तीनवटा प्रदेशको निर्वाचनका लागि मनोनयनको समय तोकिएको हो । असार १४ गते प्रदेश १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा निर्वाचन हुँदैछ ।
प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले उम्मेदवारी मनोनयनको कार्यक्रममा उत्साहपूर्वक सहभागी हुन राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरुलाइ अपील गर्नुभएको छ ।
दोस्रो चरणको निर्वाचनमा १ महानगरपालिका, ७ उपमहानगरपालिका, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा निर्वाचन हुँदैछ । निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाता मतदानमा भाग लिने आयोगले जनाएको छ ।
निर्वाचनबाट १५ हजार ३८ प्रतिनिधि चयन हुनेछ । देशभर ४ हजार ५ सय ८१ मतदानस्थलमा ८ हजार ३६४ मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ । २ नम्बर प्रदेशको निर्वाचन भने असोज २ गतेका लागि सारिएको छ ।