जहिल्यै लखेटिने त्रास, तैपनि वनमै बास : लोपोन्मुख वनकरिया

हेटौंडा । श्रावण–१८,मनहरी गाउँपालिका—४ मुसेधापमा लोपोन्मुख वनकरिया समुदायको बस्ती पर्सा वन्यजन्तु निकुञ्जभित्र पर्छ । निकुञ्जले बस्तीबाट अन्यत्र जान कहिले सूचना टाँस गर्छ, कहिले निकुञ्जका कर्मचारी आएर निर्देशन दिन्छन् ।मकवानपुरको राक्सिराङ गाउँपालिका–६ स्थित सामुदायिक वनक्षेत्रभित्रको छाप्रोमा चेपाङ परिवार । उनीहरूलाई अन्यत्र सर्न वन उपभोक्ता समितिले दबाब दिइरहेको छ । स्थानीय पम्फा वनकरियाले भनिन्,‘चितवन कुसुमखोलाको चेपाङ बस्तीमा निकुञ्जले आगो लगाउने र हात्ती लगाएर घर भत्कायो,’ ‘बस्तीका सबैलाई यही पिरलो छ, हाम्रो पनि त्यसरी नै भत्काउला छ कि भन्ने डर छ ।’
मकवानपुरको राक्सिराङ गाउँपालिका–६ स्थित सामुदायिक वनक्षेत्रभित्रको छाप्रोमा चेपाङ परिवार । उनीहरूलाई अन्यत्र सर्न वन उपभोक्ता समितिले दबाब दिइरहेको छ । तस्बिर : प्रताप विष्ट
पहिलाभन्दा अन्य कुरा धेरै राम्रो हुँदै गए पनि बस्ने ठाउँ पक्का नभएको पीर रहेको स्थानीय सन्तमाया वनकरियाले बताइन् । ‘निकुञ्जले बस्ती उठाउने भनेर तर्साइरहन्छ । उनले भनिन्, ‘यहीं ढुक्कसँग बस्न पाए हुन्थ्यो । मनमा सधैं यही कुरा खेलिरहन्छ ।’ पम्फा वनकरिया समुदायबाट एसएलसी पास गर्ने पहिलो महिला हुन् । उक्त समुदायका पुरुषले पनि हालसम्म एसईई गरेका छैनन् । २०५२ सालसम्म वनकरिया समुदाय पर्सा र मकवानपुरको सिमानामा पर्ने चुरेघाँचको जंगलमा फिरन्ते जीवन बिताउँदै आएका थिए ।०५५ देखि उनीहरू मुसेधापमा छाप्रो हालेर बस्न थालेका हुन् । २२ वर्षअघिसम्म उक्त स्थानमा उनीहरू बस्दा जमिन निकुञ्जभित्र थिएन । उक्त बस्तीमा २१ धुरी वनकरिया छन् । त्यतिबेलाका गाउँका अगुवाहरूले फिरन्ते जीवन बिताइरहेका लोपोन्मुख वनकरियाको संरक्षण र मूलधारमा ल्याउने उद्देश्यले मुसेधापमा बसाएको वडाध्यक्ष ध्रुव खड्काले बताए । ‘अहिले उनीहरू बसेको जमिन निकुञ्जभित्र परेको भन्दै बेलाबेला बस्ती उठाउन सूचना टाँस गर्ने गरेको छ,’ खड्काले भने, ‘यही सूचनाले उनीहरू आतंकित हुने गरेका छन् ।’यहाँ मात्रै बसोबास भएका वनकरियालाई जिल्ला वन कार्यालय मकवानपुरले कबुलियती वन समूह गठन गरेर ९ हेक्टर जमिन उपलब्ध गराएको छ । उक्त जमिनमा उनीहरू खेतपाती गर्दै आएका छन् । सरकारले जनता आवास कार्यक्रमअन्तर्गत घर बनाउन बजेट विनियोजन गर्दै आए पनि वनकरियाको आफ्नो स्वामित्वमा जग्गा नभएकाले बर्सेनि बजेट फ्रिज हुने गरेको छ ।
‘वनकरिया समुदाय उक्त थातथलो छाडेर अन्यत्र स्थानान्तरण हुन चाहेका छैनन्,’ गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले भने, ‘उनीहरू त्यहीं नै बस्न चाहेका छन् । तर निकुञ्जले उनीहरूका नाममा जग्गा दिन चाहेको छैन ।’ चितवनको कुसुमखोला घटनापछि त्यहाँका चेपाङको झैं नियति हुन सक्ने डर वनकरियामा छ । ‘धर्तीपुत्र उनीहरू नै हुन् तर उनीहरू नै स्वामित्वविहीन छन्,’ समाजशास्त्री प्रा।कृष्ण भट्टचनले भने, ‘राज्य अहिले पनि विभेदकारी भएका कारणले उनीहरू अपहेलित भइरहेका छन् ।’ निकुञ्जभन्दा पहिला उनीहरू त्यहाँ बस्दै आएका हुन् । उनीहरूको चुरेघाँचको जंगलको स्वामित्व निकुञ्जले खोसेको भट्टचनको आरोप छ । सरकारले उक्त समुदायलाई ०६६ सालदेखि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ । जन्मदर्ता गर्नेबित्तिकै वनकरिया जातिले मासिक प्रतिव्यक्ति ३ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाउँछन् ।स्थायी रूपमा बासको समस्या चेपाङ समुदायको पनि उस्तै छ । सदियौंदेखि ओत लाग्ने छाप्रोले ओगटेको जमिनसमेत उनीहरूसित छैन । पुस्तौंदेखि पसिना बगाएको खोरिया पनि उनीहरूको स्वामित्वमा छैन । कैलाश गाउँपालिका—६ पैराङका ७४ वर्षीय बुधराम चेपाङको आफ्नो नाममा एक धुर जमिन छैन । बुधरामका दम्पती गाउँको सडकछेउमा चारैतिर टेको लगाएको कतरे छाप्रोमा ओत लाग्दै आएका छन् । बस्ती नजिकै उनले ५० वर्षदेखि भिरालो जमिनमा कोदो र मकै फलाउँदै आएका छन् । न घडेरी आफ्नो नाममा छ न त त्यो जमिन ।
सडक फराकिलो बनाउँदा उनको त्यही छाप्रो पनि भत्काउनुपर्ने भएको छ । त्यसपछि कहाँ बस्ने उनलाई चिन्ता छ । राक्सिराङ गाउँपालिका–६ धिराङका रामकुमार चेपाङको पनि जमिन छैन । उनी बसेको छाप्रो र पसिना बगाएर खनजोत गरेको खोरिया पनि सामुदायिक वनभित्र पर्छ । वन उपभोक्ता समितिका पदाधिकारीले उनलाई त्यहाँबाट हट्न भनिरहेका छन् । राक्सिराङ र कैलाश गाउँपालिकामा चेपाङ समुदायको बाक्लो बसोबास छ । तर ३५ प्रतिशतभन्दा बढी चेपाङ लालपुर्जाविहीन छन् ।
यसैगरी मकवनापुरमा ३५ प्रतिशत, धादिङमा २५ र गोरखामा १० प्रतिशत चेपाङको लालपुर्जा छैन । सबैभन्दा बढी लालपुर्जा नहुने चितवनको राप्ती नगरपालिकाको लोथर र कोराकका छन् । त्यसपछि माडी नगरपालिकाको बाँदरझुलामा छन् । चितवनमा चेपाङको संख्या २८ हजार ९ सय ८९ छ । दोस्रो मकवानपुरमा १९ हजार २ सय ३३ र तेस्रो धादिङमा १४ हजार ४ सय ९२ छ । चौथो गोरखामा ३ हजार ४ सय ५४ छ । अन्य जिल्लामा बसोबास फाट्टफुट्ट छ । पूर्वसांसद गोविन्दराम चेपाङका अनुसार कुल जनसंख्यामा वर्ष दिनसम्म खान पुग्ने चेपाङ ७ प्रतिशत छन् । त्यस्तै ९ महिना पुग्ने २५ प्रतिशत, ६ महिना पुग्ने ४० र ३ महिनासम्म मात्र पुग्ने चेपाङ २८ प्रतिशत छन् ।चेपाङ समुदायको बसोबास चितवन, मकवानपुर, धादिङ, गोरखा र तनहुँमा छ । ०६८ को जनगणनाअनुसार मुलुकभर चेपाङको जनसंख्या ६८ हजार ३ सय ९९ छ । चेपाङ अगुवाका अनुसार ८० प्रतिशत चेपाङ लालपुर्जाविहीन छन् । चितवनमा सबैभन्दा धेरै ४० प्रतिशत चेपाङ लालपुर्जाविहीन छन् । उनीहरूको बास डाँडापाखा र खोरियामा छ ।