आयल निगमका कार्यकारी निर्देशक खड्काद्धारा सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर 

सहयात्रा टिभी

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । नेपाल आयल निगमको जग्गा खरिद प्रक्रियामा भ्रष्टाचार गरेको, मन्त्रिलाई असहयोग गरेको भन्दै सरकारले खड्कालाई दुई दिन अघिमात्रै पदबाट बर्खास्त गरेको थियो । खड्काले आफूलाई हटाउने निर्णय कार्यान्वयन नगर्न नगराउन सरकारको नाममा अन्तरिम आदेशको माग गरेका छन् । संसदीय समितिको सिफारिसमा सरकारले निगमका कार्यकारी निर्देशक खड्कालाई सोमबार पदबाट बर्खास्त गरेको थियो ।

खड्काले आज आफूलाई चार वर्षका लागि अर्थात २०७५ माघ १२ गतेसम्मका लागि नियुक्ती गरिएको भन्दै वर्खास्त गर्ने सरकारको निर्णय खारेज गरी पदबहालीको माग राखेर मुद्दा दायर गरेका हुन् । सो निवेदनमा खड्काले आयल निगमको तेल भण्डारणका लागि खरिद गरिएको जग्गा सार्वजनिक खरिद ऐन नियमानुसार सबै प्रक्रिया पूरा भएको दाबी गरेका छन् । साथै, खड्काले आफुलाई निगमको प्रमुख पदबाट हटाइएको आधिकारिक पत्र हालसम्म प्राप्त नभएको जिकिर पनि गरेका छन् ।

हिन्दुहरुको महान पर्व दशैँ नजिकिदै गरेको वेला यसवखत लामो समय सार्वजनिक विदा सुरु हुन लागेको र न्यायालयसमेत घटस्थापनादेखि बन्द हुने भएकोले सुनुवाईको मौकासमेत प्रदान नगरी आफूलाई हटाएको खड्काको दावी छ ।

प्रकाशित : 20 September, 2017

प्रतिक्रिया दिनुहोस्