वडादसैँको दशौँ दिन शनिवार, मान्यजनका हातबाट टीका तथा जमरा ग्रहण गरि मनाइँदै

सहयात्रा टिभी

नेपालीहरुको महान् चाड वडादसैँको दशौँ दिन आज आफ्ना मान्यजनका हातबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजया दशमी मनाइँदैछ ।

टीकाको उत्तम साइत बिहान ११ बजेर ५५ मिनेटमा रहे पनि दिनभर नै टीका लगाउन सकिने नेपाल पञ्चाङग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जनाएको छ ।

पूजाकोठा तथा दसैँघरमा विधिपूर्वक राखिएको जमरा आजैका दिन देवीपूजा विसर्जन गरी निकालिएपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट नवदुर्गा भवानीको प्रसाद, टीका र जमरा लगाइन्छ ।

विजया दशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अरु फूलको सट्टा समृद्धिको प्रतीक पहेंलो जमरा प्रयोग गरिन्छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रुपमा मनाइने यस पर्वअन्तर्गत नवरात्रिका उपलक्ष्यमा नौ दिनसम्म विभिन्न शक्तिपीठ तथा दसैँघरमा प्रत्येक दिन पूजा अर्चनासहित दुर्गा सप्तशती चण्डी र भगवतीको स्तोत्र पाठ गर्ने गरिन्छ ।

आजका दिन परिवारमा बाजेबज्यै, बाबुआमा, गुरपुरोहित तथा मान्यजनको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरुबाट यश, ऐश्वर्य वृद्धि तथा दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

 

प्रकाशित : 30 September, 2017

प्रतिक्रिया दिनुहोस्