क्याबिन क्रु संघले वायुसेवा निगममा आन्दोलन ,उडानहरु प्रभावित,

सहयात्रा टिभी

काठमाडौं । मंसिर २९, नेपाल वायुसेवा निगममा दुई जना एयर होस्टेसको करार नवीकरण नभएको विषयलाई लिएर क्याबिन क्रु आन्दोलनमा उत्रिएका छन् ।

निगम मातहतका नेपाल वायुसेवा क्याविन क्रु संघले बिहीबार एक विज्ञप्ति निकाल्दै यसबारे जानकारी दिएको छ । निगम स्रोतका अनुसार बिहीबार क्याबिन क्रुले निगम मुख्यालयमा आन्दोलन गर्दा धकेलाधकेलको समेत अवस्था आएको थियो ।

निगममा हरेक ५ वर्षमा क्याबिन क्रुको करार नवीकरण हुन्छ । यसक्रममा दुई जना एयर होस्टेसको तोकिएको योग्यता नपुगेको भन्दै करार नवीकरण गर्न व्यवस्थापनले नमानेपछि उनीहरु आन्दोलित भएका हुन् । उनीहरुको आन्दोलनका कारण बुधबार र बिहीबारका अन्तर्राष्ट्रिय उडानहरु प्रभावित बनेका छन् ।

निगम स्रोतका अनुसार बुधबार काठमाडौंबाट दोहा र दुबई उड्नु पर्ने जहाजहरु तीन घण्टा डिले गरी उडेका थिए । बिहीबार काठमाडौंबाट साउदीको रियाद र भारतको नयाँ दिल्ली उड्नु पर्ने जहाजहरु समेत क्रुको आन्दोलनका कारण प्रभावित बनेका छन् ।

निगममा १५ वर्ष सेवा गरेका क्याबिन क्रुको सेवा करार नवीकरण नभएको संघको भनाइ छ । जहाज नउड्दा विमानस्थलमा यात्रुहरु भने अलपत्र पर्ने अवस्था आएको छ ।

 

प्रकाशित : 15 December, 2022

प्रतिक्रिया दिनुहोस्