केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानमन्त्री प्रचण्डको कांग्रेस मोह : कारण केपी ओली

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ४, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र तीन जना स्वतन्त्र सांसदको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गत पुस १० गते तेस्रोपटक प्रधानमन्त्री नियुक्त भए ।

प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्रीमा आलोपालो गर्ने र राष्ट्रपतिमा एमालेलाई सघाउने गरी बनेको सत्ता गठबन्धनमा जब सरकारले विश्वासको मत लिने समयमा कांग्रेसको समेत प्रवेश भयो त्यसयता विश्वासको वातावरण भत्किदै गएको छ ।

वर्तमान सरकारसँग गठबन्धनसहितको स्पष्ट बहुमत छ, तर प्रधानमन्त्री प्रचण्ड कांग्रेसलाई समेत साथै लिएर जान चाहन्छन् र त्यसैका लागि राष्ट्रपतिमा राष्ट्रिय सहमतिको रटानमा छन् । पुस १० मा बनेको सत्ता गठबन्धन फागुन २५ गते हुने राष्ट्रपतिको चुनावसम्म फेरिने संकेतहरू देखिन थालेका छन् ।

सरकार निर्माण भएको २ महिना नपुग्दै राष्ट्रपतिको चुनावसम्म समीकरण फेरिन सक्ने नेताहरूका अभिव्यक्ति र केही घटनाक्रमले त्यसको संकेत दिन थालेको छ ।

पुस २६ गते संसदबाट सरकारले विश्वासको मत लिने बेला जब अपत्यारिलो तरिकाले कांग्रेसले पनि सरकारलाई विश्वासको मत दियो, त्यसले एमालेमा एकाएक बेचैनी पैदा भयो । कांग्रेसले दिएको विश्वासको मतलाई ढोक्सा थापेको भन्दै ओलीले फायर खोले ।

कांग्रेसले विश्वासको मत दिएपछि प्रधानमन्त्री प्रचण्डको बोली फेरियो । एमालेको भागमा करिब करिब निश्चित जस्तै रहेको राष्ट्रपति पदलाई प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको भाष्यमा परिणत गरिदिए ।

पटक–पटकका पार्टी बैठकमा पनि उनले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुने अडानलाई निरन्तरता दिइरहे । सबै दललाई मान्य हुनेगरि एमाले आफैले राष्ट्रपतिको नाम प्रस्ताव गरेपनि स्वीकार हुने प्रधानमन्त्रीको भनाइ छ ।

२६८ सांसदको समर्थनसहित प्रधानमन्त्री बनेका प्रचण्डले कांग्रेसको साथ खोज्नु नपर्ने हो । सरकार सञ्चालनका लागि पर्याप्त बहुमत हुँदाहुँदै पनि प्रचण्डले कांग्रेसको साथ छोड्न नसक्नुका मुख्य कारण एमाले अध्यक्ष ओली हुन् ।

अघिल्लो संसदबाट बनेको सरकार नै आलोपालो गर्ने सहमति पुरा नभएपछि तत्कालिन नेपाल कम्युनिस्ट पार्टी विघटन मात्रै भएन, प्रचण्ड लगायतका समूह कांग्रेससँग गठबन्धन बनाउन पुगे । त्यस्तै वर्तमान राष्ट्रपतिका जस्तै कृयाकलाप अब आउने राष्ट्रपतिले पनि दोहो-याउन सक्नेमा प्रचण्ड सशंकित छन् ।

पूर्वराष्ट्रपति रामवरण यादव र वर्तमान राष्ट्रपतिका अनुभवहरुलाई समेत नजिर बनाउँदै प्रचण्डले राष्ट्रपतिमा सबै दलको साझा उम्मेदवार हुने पर्ने आफ्नो अडानलाई मजवुत बनाउँदै लगेका हुन् ।

एमालेको पकडमा रहेका राप्रपा र रास्वपाका कारण पनि प्रधानमन्त्री प्रचण्ड आफु नेतृत्वको सरकार जुनसुकै बेला धरापमा पर्न सक्छ भन्नेमा चिन्तित छन् । राप्रपाले दिइरहेको संघीयता र गणतन्त्र विरोधी अभिव्यक्ति र सरकारबाट बाहिरिएको रास्वपाका कारण प्रचण्ड नैतिकरुपमा कमजोर भइसकेका छन् ।

यता, ओलीको निरन्तरको असहयोग र अभिव्यक्तिले पनि राष्ट्रपति निर्वाचनसम्म यो गठबन्धन फेरिने सम्भावना अत्याधिक रहेको छ । एमाले अध्यक्ष ओलीले सभामुखमा जसरी एसम्यान पात्र र प्रवृत्तिलाई अघि सारे राष्ट्रपतिमा पनि त्यही हुन सक्ने संकेत प्रचण्डले पाइसकेका छन् ।

यी र यस्तै कारण वर्तमान सत्ता गठबन्धन फेरिने अवस्था आए कांग्रेस र एकीकृत समाजवादी लगायतसँग नयाँ समिकरण बनाउँदै सिंहदरबारबाट खुमलटार जान नपर्ने पूर्वतयारीमा प्रधानमन्त्री प्रचण्ड रहेका छन् ।

त्यसैले पनि प्रधानमन्त्रीले कांग्रेससँगको मधुर सम्बन्धलाई कायम राख्दै राष्ट्रपतिमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीमध्येबाट वा साझा व्यक्ति राष्ट्रपतिको उम्मेदवार हुन सक्ने तरंग फ्याालिरहेका छन् ।

प्रकाशित : 16 February, 2023

प्रतिक्रिया दिनुहोस्