सुडानमा सत्ता सङ्घर्षको लडाइँमा २७ को ज्यान गएको पुष्टि

सहयात्रा टिभी

काठमाडौं । बैशाख ३, सुडानमा भएको सत्ता सङ्घर्षको लडाइँका क्रममा भएको हिंसात्मक घटनामा २७ जनाको ज्यान गएको छ ।

सेना र सरकारी अर्धसैनिक बल आर.एस.एफबीचको लडाइँमा कम्तीमा २७ जना मारिएको पुष्टी भएको छ ।

ज्यान गुमाउनेमा ३ जना संयुक्त राष्ट्र सङ्घका कर्मचारी रहेका बीबीसीले जनाएको छ । उनीहरुलाई सैनिक शिविरमा दुई पक्षबीच गोली हानाहान हुँदा गोली लागेको थियो । घटनामा दुई सय जनाभन्दा धेरै घाइते भएका छन् ।

राजधानी खार्तुम सहरको आकाश धुवाँले भरिएको छ । सुडानको सेनाले नागरिकलाई घरभित्रै बस्न आह्वान गरेको छ ।राजधानी खार्तुममा आज सार्वजनिक बिदाको घोषणा गरिएको छ ।

खार्तुम राज्य सुरक्षा समितिले नागरिकहरूको जीवन सम्पत्ति जोगाउन यो कदम चालेको जनाएको सीएनएनले उल्लेख गरेको छ । हिजो बिहानैदेखि दुई पक्षबीच झडप सुरु भएको हो ।

अर्धसैनिक बलले कम्तीमा तीनवटा विमानस्थल, सेना प्रमुखको निवास र राष्ट्रपति भवनलाई नियन्त्रणमा लिएको दाबी गरे पनि सेनाले अस्वीकार गरेको खबरमा उल्लेख छ । पुल र सडकहरू बन्द हुँदा मानिसहरू बाटोमै थुनिएका छन् ।

 

प्रकाशित : 16 April, 2023

प्रतिक्रिया दिनुहोस्