मिटरब्याज पीडितमाथि बल प्रयोग गरेको विषयमा माफी मागे : उपपप्रधानमन्त्री श्रेष्ठ

सहयात्रा टिभी

काठमाडौं । बैशाख १३, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितमाथि काठमाडौंको शान्तिवाटिकामा प्रहरीले बल प्रयोग गर्नु गल्ती भएको स्वीकार गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले जुनसुकै कारणले मिटरब्याज पीडितमाथि बल प्रयोग गरे पनि त्यो गल्ती भएको भन्दै माफी मागेका छन् ।

४ वैशाखमा सिंहदरबार घेराउ कार्यक्रममा जान लागेका मिटरब्याज पीडितलाई शान्तिवाटिकामा प्रहरीले लाठी र पानीको फोहोरा हानेको थियो । आफूले त्यसै दिन विहान बल प्रयोग नगर्न निर्देशन दिएको तर सुरक्षाकर्मीको फिल्ड कमाण्डरसम्म ठीक ढंगले समन्वय नहुँदा बल प्रयोग गरेर गल्ती भएको बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले मिटरब्याज पीडितलाई नियन्त्रणमा लिएपछि पनि बल प्रयोग भएको पाइएको भन्दै त्यहाँ पनि गल्ती भएको बताए । ‘जति कमजोरी भयो, गृहमन्त्रालयको नेतृत्व सम्हाल्ने व्यक्तिको नाताले पीडितहरुमाथि पुलिसको लाठी लाग्यो, त्यसका निम्ति म क्षमा याचना गर्न चाहन्छु’ उपप्रधानमन्त्री श्रेष्ठले भने ।

 

प्रकाशित : 26 April, 2023

प्रतिक्रिया दिनुहोस्