केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गेल्जे शेर्पाले ’डेथ जोन’ बाट मलेसियन पर्वतारोही बचाए

सहयात्रा टिभी

काठमाडौं । जेठ १८, सोलुखुम्बुका ३० वर्षीय गेल्जे शेर्पाले सगरमाथाको ’डेथ जोन’ भनिने क्षेत्र नजिक अलपत्र परेका मलेसियाका एक पर्वतारोहीलाई सकुशल उद्धार गरेका छन् ।

शेर्पाले १८ मेको दिन ’रवि’ भनेर चिनिने मलेसियाका पर्वतारोहीलाई साउथ पोल नजिकबाट उद्धार गरेका हुन् । सगरमाथामा यो क्षेत्रबाट कसैलाई उद्धार गर्नु असम्भव जस्तै मानिन्छ ।

गेल्जेले मलेसियाका नागरिकलाई गरेको यो उद्धारलाई पर्यटन विभागका अधिकारीले ‘चमत्कार’ भनेका छन् । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१० तात्तिङ घर भएका गेल्जे सेभेन समिट ट्रेक्सका गाइड हुन् ।

उनी चिनियाँ पर्वतारोहीलाई लिएर सगरमाथा उक्लिरहेका थिए । त्यहीबेला उनले मलेसियाका पर्वतारोहीलाई करिब ८ हजार ३०० मिटरको उचाइमा अलपत्र अवस्थामा एक्लै फेला पारे ।

गेल्जेका अनुसार ती आरोही मलेसियाका नागरिक थिए । उनलाई टोलीका सदस्यहरूले ‘रवि’ भनेर बोलाउँथे ।

उनी सगरमाथा चढिसकेर फर्किंदा अशक्त भएर अलपत्र परेका थिए । ‘उसलाई उद्धार गर्न मेरो आरोहण मैले रद्द गरेँ किनकि उसलाई जोगाउनु मेरो प्राथमिकता थियो । पैसा त पछि कमाउन पनि सकिन्छ,’ उनले ।

गेल्जेले ती आरोहीलाई पिठ्युँमा बोकेर हिँडिरहेको भिडियो सामाजिक सन्जालमा देखिन्छ । क्याम्प फोरबाट हेलिकोप्टरमार्फत मलेसियन पर्वतारोहीलाई काठमाडौं ल्याएर उपचार गरिएको थियो ।

सामान्यतया सगरमाथा चढिरहेका गाइडहरूले आफ्नो टोलीलाई छोडेर अर्को टोलीको सदस्यको वास्ता गर्दैनन् । तर गेल्जेले शिखर उक्लिरहेको चिनियाँ टोलीलाई बीचमै छाडेर अर्कै टोलीका सदस्यको उद्धार गरेका थिए ।

गेल्जेले मलेसियाका ती नागरिकको उद्धारमा जान्छु भन्दा चिनियाँ टोलीले मानेको थिएन । ‘म उद्धारमा फर्किन्छु भन्दा चिनियाँहरू मसँग रिसाए,’ गेल्जे भन्छन्, ‘पछि उनीहरूले पनि कुरा बुझे ।’

गेल्जेका अनुसार ती मलेसियन नागरिकको अवस्था कस्तो होला भनेर उनलाई खुल्दुली भइरह्यो । पछि साथीहरूले मलेसियाका ती आरोहीलाई हेलिकोप्टरबाट उद्धार गरेर काठमाडौं लगिएको जानकारी गराए । केही दिनपछि उनको मोबाइलमा म्यासेज आयो, ‘मलाई बचाएकोमा थ्याङ्क्यु ।’

त्यो म्यासेज उनै मलेसियाका नागरिकको थियो । ‘ऊ बाँच्यो भन्ने थाहा पाएपछि मलाई एकदमै खुशी लाग्यो । काठमाडौंमा उपचारपछि ऊ आफ्नो देश फर्किसकेको छ,’ गेल्जेले भने ।

 

 

 

 

प्रकाशित : 1 June, 2023

प्रतिक्रिया दिनुहोस्