Author: Kamal Rana

  • आज प्रतिनिधिसभाको बैठक बस्दै, पाँच समितिका पनि बैठक

    आज प्रतिनिधिसभाको बैठक बस्दै, पाँच समितिका पनि बैठक

    काठमाडौँ । असोज ७, सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने छन् ।

    बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ ’ प्रस्तुत गर्ने छन् । यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । त्यस्तै, कृषि वन तथा पर्यावरणमन्त्री गिता चौधरीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

    यस्तै, आज विभिन्न पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, अर्थ समिति, पूर्वाधार विकास समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।

  • न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

    न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

    काठमाडौँ । असोज ७, परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस. जयशंकरबीच अमेरिकाको न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा बुधबार दुवै नेताबीच शिष्टाचार भेटवार्ता भएको हो ।

    भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी बाढीपछिको कठिन परिस्थितिमा भारत सरकार र भारतीय जनताले दर्शाएको ऐक्यबद्धता एवं तत्काल उपलब्ध गराएको उद्धार तथा राहत सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।

    भेटवार्तामा दुवै मन्त्रीहरूबीच नेपाल-भारत बहुआयामिक सम्बन्धका विविध पक्ष, द्विपक्षीय हितका विषय तथा सम्झौताहरूको प्रगतिबारे विचारविमर्श भएको थियो । सो क्रममा दुई देशबीच लामो समयदेखि कायम रहेको घनिष्ठ, बहुआयामिक र मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ गर्दै विकास सहकार्यका क्षेत्रहरूलाई अझ प्रभावकारी रूपमा अघि बढाउने विषयमा जोड दिइएको छ।

  • आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान सुरु

    आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान सुरु

    काठमाडौँ । असोज ७, पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गर्दैछ ।

    २०७९ पुस १७ गते अङ्ग्रेजी नयाँ वर्षको दिनदेखि सञ्चालनमा आएको विमानस्थलमा नियमित अन्तरराष्ट्रिय उडान हुन नसकिरहेका बेला फ्लाई दुबईको नियमित उडान सुरु गर्न लागेपछि यहाँका पर्यटन व्यवसायी, उद्योगी तथा सर्वसाधारण उत्साहित भएका छन् ।

    अन्तरराष्ट्रिय उडानका लागि आवश्यक सम्पूर्ण तयारी तथा पूर्वाधार व्यवस्थापनको काम पूरा भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार फ्लाई दुबईको विमान बुधबार साँझ ६ः१५ बजे पोखरा अवतरण गर्नेछ भने यात्रु लिएर साँझ ७ः१५ बजे दुबईका लागि प्रस्थान गर्नेछ । विमानलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गरिनेछ ।

    अध्यागमन, भन्सार, कार्गो लगायतका सबै सेवा प्रवाहका लागि विमानस्थल तयारी अवस्थामा रहेको महाप्रबन्धक निरौलाले बताए । ‘हामी आजको दिनको पर्खाइमा छौँ । विमानस्थलबाट प्रवाह गर्नुपर्ने सम्पूर्ण तयारीका काम पूरा भएका छन् । विमानस्थल सञ्चालनपछि केही वायु सेवा कम्पनीले अन्तरराष्ट्रिय उडान गरे पनि त्यसले निरन्तरता पाउन सकेको थिएन । अहिले दुबईका लागि दैनिक नियमित उडान सुरु हुन लागेको अवस्थामा हामी उत्साहित छौँ,’ उनले भने ।

    फ्लाई दुबईको विमानबाट पोखरा आउने तथा यहाँबाट दुबई प्रस्थान गर्ने यात्रु र पर्यटकलाई पोखराका पर्यटन तथा व्यवसायीले खादा र मालाले स्वागत तथा बिदाइ गर्ने तयारी गरेका छन् ।

    पोखरा विमानस्थल भन्सार कार्यालयका प्रमुख हरि भण्डारीले भन्सार नियमानुसार गर्नुपर्ने सबै कामको तयारी पूरा भएको बताए । ‘राजस्व सङ्कलन, वैध व्यापारलाई सहजीकरण तथा यात्रुको जाँचपास र निकासी–पैठारीको काम हामी गर्छौं । त्यसका लागि आवश्यक सबै तयारी र व्यवस्थापन मिलाइसकिएको छ,’ उनले भने ।

    दुबई विश्वव्यापी हवाई ट्रान्जिट हबका रूपमा रहेको र फ्लाई दुबईले १ सय २० भन्दा बढी गन्तव्यमा उडान गर्ने भएकाले पोखरा–दुबई उडान नियमित तथा दीर्घकालीन हुने आशा गरिएको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले बताए । ‘फ्लाई दुबईको विश्वका धेरै सहरमा आफ्नै उडान छ । यसबाहेक दुबई विश्वका धेरै सहरका लागि एयर ट्रान्जिट हब हो । यसबाट पोखराको अन्तरराष्ट्रिय उडानलाई दीर्घकालीन बनाउन सकिन्छ,’ उनले भने ।

    नेपाली युवा रोजगारी तथा अध्ययनका लागि दुबई गइरहेकाले पनि पोखराबाट उडान सञ्चालन हुँदा सहज हुने उनको भनाइ छ । पोखराबाट अन्तरराष्ट्रिय उडान सञ्चालनका क्रममा आवश्यक शान्तिसुरक्षाको प्रबन्धबारे जिल्ला सुरक्षा समितिले विमानस्थलको निरीक्षण पनि गरेको छ । प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले विमानस्थलमा आवश्यक सबै सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिए ।

  • आजका लागि विदेशी मुद्राको विनिमयदर

    आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ । असोज ७, नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५३ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ ।

    युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ०८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ १५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ९५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८७ रुपैयाँ २० पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०९ रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ८० पैसा र बिक्रीदर १०९ रुपैयाँ २३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १२० रुपैयाँ २६ पैसा तोकिएको छ ।

    जापानी येन १० को खरिददर नौ रुपैयाँ ७३ पैसा र बिक्रीदर नौ रुपैयाँ ७७ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७९ पैसा र बिक्रीदर २२ रुपैयाँ ८८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ६५ पैसा र बिक्रीदर ४० रुपैयाँ ८१ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०४ पैसा कायम भएको छ ।

    केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६१ पैसा र बिक्रीदर चार रुपैयाँ ६३ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६० पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २७ पैसा र बिक्रीदर ११ रुपैयाँ ३१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ५७ पैसा र बिक्रीदर १५ रुपैयाँ ६३ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४२ पैसा र बिक्रीदर २३ रुपैयाँ ५१ पैसा तोकिएको छ ।

    राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १९ रुपैयाँ ५४ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ६२ पैसा, बहराइन दिनार एकको खरिददर ४०४ रुपैयाँ ९३ पैसा बिक्रीदर ४०६ रुपैयाँ ५३ पैसा, ओमनी रियाल एकको खरिददर ३९६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ०५ पैसा रहेको छ ।

    भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

  • कांग्रेसले आज देशभर पालिका अधिवेशन गर्दै

    कांग्रेसले आज देशभर पालिका अधिवेशन गर्दै

    काठमाडौँ । असोज ७, नेपाली कांग्रेसले आज देशभर पालिका तहको अधिवेशन गर्दैछ । पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो ।

    केही छिटपुट स्थानबाहेक देशभरका वडामा उत्साहजनक र शान्तिपूर्ण रूपमा नेतृत्व चयन सम्पन्न भइसकेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । बाढीपहिरोबाट प्रभावित नुवाकोट र धादिङका सबै वडामा मङ्गलबार अधिवेशन सम्पन्न भएको छ ।

    त्यस्तै, मधेस प्रदेशका सिरहा, सप्तरी, सर्लाही र पर्साका केही वडामा पनि अधिवेशन सफलतापूर्वक सकिएको निर्वाचन समितिले जनाएको छ । बाढीपहिरोका कारण ठूलो मानवीय तथा भौतिक क्षति बेहोरेको रसुवा जिल्लामा भने विशेष परिस्थितिलाई ध्यानमा राखी केही दिनपछि मात्र अधिवेशन गर्ने तयारी मिलाइएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।

    नयाँ विधान र निर्वाचन निर्देशिकाअनुसार आज हुने पालिका अधिवेशनबाट हरेक पालिकामा पाँच जना पदाधिकारी चयन हुनेछन् । त्यसमा एक सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव निर्वाचित हुने व्यवस्था छ । कोषाध्यक्ष भने सभापतिले निर्वाचित कार्यसमिति सदस्यमध्येबाट मनोनयन गर्ने प्रावधान छ ।

  • २०८३ साल असोज ७ गते बुधबारको राशिफल

    २०८३ साल असोज ७ गते बुधबारको राशिफल

    काठमाडौँ । असोज ७, २०८३ साल असोज ७ गते बुधबार सन् २०२६ सेप्टेम्बर २३ तारिख। भाद्र शुक्ल पक्षको द्वादशी तिथि। अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

    मेष : दिन राम्रो छ । सोचेका काम बन्नेछन् । स्वास्थ्यमा समस्या भए सुधारका संकेत देखिनेछन्। राजनीतिमा घेराबन्दी हुनेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नुहोला ।

    वृष :दिन राम्रो छ । गुम्न लागेको सम्पत्ति प्राप्त हुनेछ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । स्वास्थ्यको लगानीमा फाइदा हुनेछ । राजनीतिमा प्रगति हुनेछ । तीर्थयात्रा गर्ने योग छ ।

    मिथुन : दिन सामान्य छ । बोलीका कारण आफन्त टाढा पुग्नेछन् । स्वास्थ्यमा समस्या हुनेछ। विदेशमा गरेको लगानीबाट घाटा हुनेछ । परिवारभित्र नै विरोधको आवाज सुन्नुपर्ने हुनसक्छ ।

    कर्कट : दिन राम्रो छ । व्यापारमा नाफा हुनेछ । लगानीका क्षेत्र सबल छन् । दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ । शिक्षा र स्वास्थ्यमा लगानीका लागि हिम्मत गर्नुपर्ने देखिन्छ । धार्मिक कार्यमा सहभागी हुनु उचित हुन्छ ।

    सिंह : दिन राम्रो छ । राम्रो योजना बन्नेछ । पुराना साथीसँग भेट हुनेछ । स्वास्थ्य र शिक्षामा गरेको प्रयास सफल बन्नेछ । गुरुको आर्शिवाद लिएर अगाडि बढ्नु उचित हुन्छ ।

    कन्या : दिन राम्रो छ । मन शान्त बन्नेछ । मानसम्मान प्राप्त हुनेछ । पठनपाठनमा रुची बढ्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

    तुला : दिन सामान्य छ । बोल्दा ख्याल गर्नुपर्ने छ । खर्च बढ्ने जोखिम छ । विपक्षी साथीसँग सचेत बन्नुपर्ने समय छ । तपाईंको बोलीका कारण आफन्त टाढा हुनेछन् । गुरुबाट असहयोग हुनेछ ।

    वृश्चिक : दिन राम्रो छ । सोचेको काम बन्नेछ । आफ्नो मूल्यांकन गर्नुपर्ने दिन छ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । हरेक काममा उत्साह बढ्नेछ ।

    धनु : दिन राम्रो छ । सोचेका काम सफल बन्नेछन् । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षा र रोजगारीमा प्रगति हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । श्रमको मूल्य प्राप्त हुनेछ ।

    मकर :दिन राम्रो छ । सोचेको काम सहज बन्नेछ । व्यापारमा फाइदा हुनेछ । कर्मचारी भए बढुवा हुनेछ । राज्यको साथमा महत्त्वपूर्ण काम बन्नेछ । शिक्षामा मिहिनेत गर्नुपर्ने देखिन्छ ।

    कुम्भ : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । अनावश्य यात्राको जोखिम छ । धार्मिक कार्यमा सहभागी हुने सके मन शान्त बन्नेछ । परिवारको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुन्छ ।

    मीन :दिन राम्रो छ । बोलीका कारण काम बन्नेछ । मन शान्त बन्नेछ । धार्मिक कार्यमा सहभागी भएर दैनिकी सुरु गर्नु उचित हुन्छ । संकटमा प्रेम सम्बन्ध सुमधुर बन्नेछ । हरेक क्षेत्रमा श्रम आवश्य हुन्छ ।