Author: Kamal Rana

  • २०८३ साल असोज १० गते शनिबारको राशिफल

    २०८३ साल असोज १० गते शनिबारको राशिफल

    काठमाडौँ । असोज १०, २०८३ साल असोज १० गते शनिबार सन् २०२६ सेप्टेम्बर २६ तारिख। भाद्र शुक्ल पक्षको पूर्णिमा तिथि। चेपाङ चोनाम पर्व, अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मुल दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

    मेष : आजको दिन तपाईको पक्षमा छैन । खाइरहेको सुविधा नै कटौती हुने जोखिम छ। शिक्षामा गरेको लगानीबाट आंशिक लाभ हुनेछ। आफन्तबाट धोका हुनेछ। लगानीका क्षेत्र सबल छन्। व्यवहार गर्दा सचेत भएर अगाडि बढ्नु उचित हुन्छ।

    वृष : दिन राम्रो छ। गुम्न लागेको धन प्राप्त हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। शिक्षामा प्रगति हुनेछ। परिवारले साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। कार्यक्षेत्रमा थप मिहिनेतको खाँचाे छ ।

    मिथुन : आज शुभ कार्य बन्नेछ । पारिवारिक मेलमिलाप हुनेछ । कतै यात्रामा निस्कदा मन खुसी हुनेछ । खर्च भने बढ्ने भएकाले व्यापारमा सचेत हुनुपर्ने छ । मन शान्त बन्नेछ ।

    कर्कट : दिन राम्रो छ। राजनीतिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारलाई विश्वास गर्दा धोका हुने जोखिम छ।

    सिंह : दिन सामान्य छ। बोलीका कारण अप्ठेरो परिस्थितिको सामना गर्नुपर्ने हुनसक्छ। ऋण बढ्नेछ। राजनीतिक क्षेत्रमा धोका दिने साथी सक्रिय छन्। धार्मिक कार्यमा सहभागी भएमा दिन सहजै बित्नेछ। परिवारको साथ र सहयोगमा अगाडि बढ्ने दिन छ।

    कन्या : दिन राम्रो छ। कृषि सम्बन्धी व्यापारबाट राम्रो आम्दानी हुनेछ। शिक्षा र स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक क्षेत्रमा तपाईंको बढुवा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। अरुले विवाद गर्दा तपाईंलाई फाइदा हुनेछ।

    तुला : सामान्य दिन छ। धनलक्ष्मी योग परेको छ। राम्रो योजना बन्नेछ। समाजमा तपाईंको नामको चर्चा हुनेछ। घरभन्दा बाहिरका व्यक्तिले तपाईंको प्रशंसा गर्नेछन्। पुराना साथीको साथ मिल्नेछ।

    वृश्चिक : दिन सहज बन्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। श्रमको मूल्य प्राप्त हुनेछ। सहकर्मीको साथ मिल्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल मिल्नेछ ।

    धनु : दिन सामान्य राम्रो छ। मन अशान्त बने पनि सामाजिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ। आज यात्रामा ननिस्कनु राम्रो छ ।

    मकर : खर्च बढ्ने दिन छ । ठुलो लगानी गर्ने भए हिम्मत गर्ने समय आएको छ। विपक्षीको मन जित्न नसक्दा विवाद बढ्नेछ। सामाजिक र आर्थिक क्षेत्रमा राम्रो कामको सुरुवात हुनेछ। छिमेकीसँगको भेटमा मन शान्त बन्नेछ। विपक्षीको साथ मिल्नेछ।

    कुम्भ : दिन राम्रो छ। सहयोगीको साथ मिल्नेछ। व्यापारमा गरेको लगानीबाट नाफा हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा सक्रिय नहुनु उचित हुन्छ। सामाजिक क्षेत्रमा इज्जत गुम्ने खतरा छ।

    मीन : दिन राम्रो छ। शिक्षामा गरेको लगानीबाट उत्साह थपिने छ। विपक्षी साथीको साथ मिल्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

  • वर्षा गराउने प्रणाली २४ घण्टापछि कमजोर हुने, भारी वर्षा र हिमपातको जोखिम कायमै

    वर्षा गराउने प्रणाली २४ घण्टापछि कमजोर हुने, भारी वर्षा र हिमपातको जोखिम कायमै

    काठमाडौँ । असोज ८, बंगालको खाडीमा विकसित भएको गहिरो न्यूनचापीय प्रणाली (डिप डिप्रेसन) आगामी २४ घण्टापछि क्रमशः कमजोर बन्दै जाने भएको छ। यद्यपि यसको प्रभावका कारण आगामी तीन दिनसम्म नेपालका अधिकांश भू–भागमा भारीदेखि धेरै भारी वर्षा तथा उच्च हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    बाढी, पहिरो तथा डुबानको जोखिम उच्च रहेकाले मौसमविदहरूले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन र जोखिमयुक्त क्षेत्रमा सकेसम्म रातिको समयमा यात्रा नगर्न सुझाएका छन्। गएरातिदेखि नै देशका धेरै ठाउँमा वर्षा भइरहेको र आज यसको मात्रा तथा क्षेत्र अझै विस्तार हुने मौसमविद डेभिड ढकालले जानकारी दिएका छन्।

    महाशाखाका अनुसार भारतको विशाखापट्टनम र गोपालपुरबीचबाट उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशाको तट पार गरिसकेको यो प्रणाली उत्तर–उत्तरपश्चिमतर्फ सर्दै कमजोर हुने क्रममा छ। तर, यसको अवशिष्ट प्रभावले नेपालमा भने आगामी आइतबारसम्म उल्लेखनीय मौसमी उथलपुथल ल्याउने देखिएको छ।

    पाँचदिने जोखिम नक्सा : शुक्रबार र शनिबार २० जिल्लामा ‘रेड अलर्ट’
    महाशाखाले सार्वजनिक गरेको पाँचदिने जोखिम नक्साअनुसार असोज ८ देखि १० गतेसम्म मुलुकका विभिन्न क्षेत्रमा उच्च जोखिमको अवस्था रहनेछ।

    आज (असोज ८, बिहीबार) कोशी, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पूर्वी पहाडी जिल्लाहरूमा जोखिमको संकेतस्वरूप ‘सुन्तला’ (अरेन्ज) रङ दिइएको छ, जसको अर्थ सम्भावित विपद्‌बाट जनधनको क्षति हुन नदिन सतर्क रहनुपर्ने हुन्छ। यस्तै कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनीका तराई भू–भाग र कर्णालीका केही जिल्लालाई मौसमी अवस्थाबारे अपडेट रहन भन्दै ‘पहेँलो’ रङमा राखिएको छ।

    भोलि असोज ९ गते (शुक्रबार) जोखिम थप बढ्ने चेतावनी दिइएको छ। शुक्रबार कोशी, बागमती र गण्डकीका उच्च हिमाली भेगका ११ जिल्ला— ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोरखा, मनाङ र मुस्ताङलाई आपत्कालीन प्रतिकार्य आवश्यक पर्ने ‘रातो’ (रेड) रङको सूचीमा राखिएको छ। तराईका झापा, मोरङ, सुनसरी र मधेशका आठवटै जिल्ला तथा सुदूरपश्चिमका पाँच जिल्ला (कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र बैतडी) पहेँलो सूचीमा छन् भने बाँकी अन्य जिल्लालाई सुन्तला रङ दिएर सतर्क रहन सुझाइएको छ।

    शनिबार (असोज १०) भने वर्षाको मुख्य जोखिम मुलुकको पश्चिमी भेगतर्फ केन्द्रित हुनेछ। सो दिन कर्णाली र सुदूरपश्चिमका ९ हिमाली तथा पहाडी जिल्ला— डोल्पा, जाजरकोट, जुम्ला, मुगु, कालिकोट, बाजुरा, बझाङ, हुम्ला र दार्चुलामा ‘रेड अलर्ट’ जारी गरिएको छ।

    यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका २७ जिल्ला (लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, पाल्पा, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान, दाङ, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, बाँके, बर्दिया, सल्यान, सुर्खेत, दैलेख, कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा र बैतडी) लाई सुन्तला सूचीमा राखेर सतर्क रहन आग्रह गरिएको छ।

    आइतबारदेखि मौसममा सुधार आउने
    लगातार तीन दिनको प्रतिकूलतापछि असोज ११ गते (आइतबार) देखि भने पानी पर्ने क्रम घट्दै जाने महाशाखाको प्रक्षेपण छ। आइतबार बागमती प्रदेशभन्दा पश्चिमका सबै जिल्ला पहेँलो सूचीमा झर्नेछन् भने कोशी, मधेश र बागमतीका जिल्लाहरूलाई जोखिममुक्त सामान्य अवस्था जनाउने ‘हरियो’ रङमा राखिएको छ।

    यातायात अवरुद्ध हुन सक्ने, पदयात्रीलाई विशेष चेतावनी
    महाशाखाले जारी गरेको विशेष बुलेटिनमा अविरल वर्षाका कारण भू–क्षय, पहिरो, बाढी तथा गेग्रान बहावको तीव्र जोखिम औंल्याइएको छ। शहरी तथा तराई क्षेत्रहरूमा डुबान हुन सक्ने र नदी-खोलामा बहाव बढ्दा सडक तथा हवाई यातायात, कृषि, दैनिक जनजीवन र विकास निर्माण प्रभावित हुने सम्भावना छ।

    यसैगरी, हिमाली भेगमा भारी हिमपात हुन सक्ने भएकाले पर्वतारोही, पदयात्री तथा हिमाली क्षेत्रमा बसोबास गर्नेहरूलाई उच्च सतर्कता अपनाउन भनिएको छ। मौसम प्रणालीको निरन्तर अनुगमन गरिरहेको जनाउँदै महाशाखाले जारी हुने पछिल्ला मौसमी सूचनाहरूमा निरन्तर अद्यावधिक रहन सबैलाई अनुरोध गरेको छ।

  • रूसले नेपाल र भारत सहित ४७ देशका नागरिकलाई छलकपट गरेर युद्धमा पठाएको जेलेन्स्कीको आरोप

    रूसले नेपाल र भारत सहित ४७ देशका नागरिकलाई छलकपट गरेर युद्धमा पठाएको जेलेन्स्कीको आरोप

    काठमाडौँ । असोज ८, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले नेपाल र भारत सहित ४७ देशका नागरिकलाई छलकपट गरेर रूस–युक्रेन युद्धमा पठाइरहेको आरोप लगाएका छन् ।

    बुधबार संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै उनले रूसले विभिन्न देशका नागरिकलाई सैनिकका रुपमा भर्ती गरेर युद्धभूमिमा पठाएको र तीमध्ये धेरैले ज्यान गुमाइरहेको दाबी गरे । जेलेन्स्कीले घाना, नेपाल, ताजिकिस्तान, भारत, यमन, केन्या, जिम्बाब्वे, क्युबा, बेलारुस, सुडान र दक्षिण अफ्रिकालगायत ४७ देशका नागरिक रूसको युद्धमा प्रयोग भइरहेको उल्लेख गरे ।

    उनले सम्बन्धित देशहरूलाई आफ्ना नागरिकलाई यस्तो अवस्थाबाट जोगाउन आग्रह गर्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध विस्तार गर्न नदिन कदम चाल्न अपिल गरे । यसैबीच, भारतको विदेश मन्त्रालयका अनुसार हालसम्म २२७ भारतीय नागरिक रूसी सेनामा भर्ती भएका छन् । तीमध्ये १३९ जना सेवा मुक्त भइसकेका छन् भने ५१ जनाको मृत्यु भएको छ । भारतले उनीहरूको फिर्तीका लागि मस्कोसँग निरन्तर छलफल भइरहेको जनाएको छ ।

    जेलेन्स्कीले रूसको युद्ध सञ्चालन गर्ने आर्थिक क्षमता कमजोर बनाउनुपर्नेमा जोड दिँदै तेल उद्योग र युद्ध वित्तीय स्रोतलाई सीमित गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे । जेलेन्स्कीले उत्तर कोरियाका नेता किम जोङ उनले पनि रूसलाई सैनिक पठाएको आरोप लगाउँदै त्यसको बदलामा उन्नत सैन्य प्रविधि प्राप्त गरिरहेको दाबी गरे ।

  • भोटेकोशी विपद्पछि पुन: स्थापना र पुनर्निर्माणका लागि जी-७ को सहयोग आवश्यक : परराष्ट्रमन्त्री

    भोटेकोशी विपद्पछि पुन: स्थापना र पुनर्निर्माणका लागि जी-७ को सहयोग आवश्यक : परराष्ट्रमन्त्री

    काठमाडौँ । असोज ८, परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपालमा पुनः स्थापना र पुनर्निर्माणका लागि दीर्घकालीन अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएका छन् ।

    संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा आयोजित जी—७ विकासमन्त्रीस्तरीय बैठकमा नेपालको पछिल्लो जलवायुजन्य विपद्को अवस्थाबारे सम्बोधन गर्दै उनले पुनः स्थापना, जलवायु वित्त, विपद् पूर्व तयारी, बहुपक्षीय वित्तीय सहयोग तथा हिमाली क्षेत्रका विषयमा जी—७ को सहयोग र सहकार्यका लागि आग्रह गरे ।

    बैठकमा नेपालका तर्फबाट सम्बोधन गर्दै मन्त्री खनालले जलवायु विपद्को कठिन परिस्थितिमा नेपालप्रति ऐक्यबद्धता र सहयोग व्यक्त गर्ने जी—७ सदस्य राष्ट्र तथा अन्य मित्रराष्ट्रहरूप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट आभार व्यक्त गरे ।

    ‘नेपालले जलवायु परिवर्तन, दिगो विकास, उत्थानशीलता र विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य अघि बढाउन जी–७ ले निर्वाह गर्दै आएको नेतृत्वको उच्च कदर गर्दछ,’ उनले भने । उनले बैठक आयोजना गरेकोमा जी—७ को अध्यक्ष फ्रान्सलाई समेत धन्यवाद व्यक्त गरे ।

    उनले हालैको जलवायुजन्य विपद्ले नेपालमा पु¥याएको मानवीय तथा भौतिक क्षति अत्यन्त ठुलो रहेको बताए । मन्त्री खनालले बाढीका कारण घर, सडक, पुल, विद्यालय, स्वास्थ्य संस्था तथा जलविद्युत् पूर्वाधारमा क्षति पुग्नुका साथै जनजीवन र अत्यावश्यक सेवासमेत प्रभावित भएको बताए ।

    प्रारम्भिक आकलनअनुसार पुनः स्थापना तथा पुनर्निर्माणका लागि ५ अर्ब अमेरिकी डलरभन्दा बढी आवश्यक पर्ने उनले जानकारी दिए । विपद्को वैज्ञानिक अध्ययन अझै जारी रहेको उल्लेख गर्दै उनले तीव्र रूपमा तातिँदै गएको हिमाली वातावरणमा बरफ, चट्टान, पानी र अस्थिर भू—बनोटबीचको जटिल अन्तरक्रियाका कारण विपद् उत्पन्न भएको प्रारम्भिक अध्ययनले देखाएको बताए ।

    सरकारले जलवायु परिवर्तनसहित भौगर्भिक, हिमनदीजन्य तथा जल विज्ञानसम्बन्धी कारणको अध्ययन गर्न विशेषज्ञ समिति गठन गरेको उनले जानकारी दिए ।

    पुनः स्थापना तथा पुनर्निर्माणका लागि नेपालका पाँच प्रमुख अपेक्षा प्रस्तुत गर्दै मन्त्री खनालले पहिलो प्राथमिकताका रूपमा पुनः स्थापनाका लागि साझेदारी आवश्यक रहेको बताए । मानवीय सहायतामा मित्रराष्ट्रहरूबाट प्राप्त सहयोग र सद्भावप्रति आभार व्यक्त गर्दै उनले दीर्घकालीन पुनः स्थापना र पुनर्निर्माणका लागि अनुदान तथा सहुलियतपूर्ण वित्तीय स्रोतसहित समन्वित अन्तर्राष्ट्रिय प्रयास आवश्यक रहेको बताए ।

    दोस्रो प्राथमिकताका रूपमा जलवायु वित्तमा पहुँच सहज बनाउन आग्रह गर्दै मन्त्री खनालले अनुकूलन तथा हानि–नोक्सानीसम्बन्धी वित्त विकासशील तथा जलवायु जोखिममा रहेका मुलुकका लागि छिटो, सरल र सहज रूपमा उपलब्ध हुनुपर्ने धारणा व्यक्त गरे । नेपालले हानि तथा क्षति कोषसम्बन्धी वित्तीय व्यवस्थाका लागि अनुरोध गरिसकेको र सकारात्मक प्रतिक्रियाको प्रतीक्षामा रहेको उनले जानकारी दिए ।

  • वर्षा र विपद्को जोखिम बढेपछि विराटनगर र पोखराका विद्यालय दुई दिन बन्द

    वर्षा र विपद्को जोखिम बढेपछि विराटनगर र पोखराका विद्यालय दुई दिन बन्द

    काठमाडौँ । असोज ८, देशभर भारी वर्षाको सम्भावनासँगै निम्तिन सक्ने प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै विराटनगर र पोखरा महानगरपालिकाले आ–आफ्ना क्षेत्रभित्रका विद्यालयहरूमा दुई दिन बिदा दिने निर्णय गरेका छन्। सम्भावित बाढी, पहिरो र डुबानबाट बालबालिकालाई सुरक्षित राख्न पूर्वसावधानीस्वरूप दुवै महानगरले असोज ८ र ९ गते (आज र भोलि) पठनपाठन बन्द गरेका हुन्।

    विराटनगर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका अनुसार जल तथा मौसम विज्ञान विभागले असोज ८ देखि ११ गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको प्रक्षेपण गरेकाले विद्यालय बन्द गर्ने निर्णय लिइएको हो। वर्षाका कारण नदीनालामा पानीको सतह बढ्ने, बस्ती र सडक डुबानमा पर्ने तथा आवागमन अवरुद्ध हुने जोखिम रहेकाले विद्यार्थी र सर्वसाधारणको सुरक्षालाई प्राथमिकता दिइएको महानगरले स्पष्ट पारेको छ। यसका साथै बाढी वा डुबानको विपद् आइपरेमा सुरक्षित विद्यालय भवनहरूलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न सकिने गरी तयारी अवस्थामा राख्न पनि विराटनगर महानगरले विद्यालय प्रशासनहरूलाई आग्रह गरेको छ।

    उता पोखरा महानगरपालिकाले पनि मौसममा आएको अचानक फेरबदल र सम्भावित विपद्लाई ध्यानमा राख्दै नगर क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूमा दुई दिन स्थानीय बिदा दिएको छ। पोखराका मेयर धनराज आचार्यले बाढी, पहिरो र अतिवृष्टिको उच्च जोखिम रहेकाले विद्यालय बन्द गरिएको जानकारी दिएका छन्। उनका अनुसार अहिले दिइएको यो दुई दिनको बिदालाई पछि आउने अन्य सार्वजनिक बिदासँग समायोजन गरिनेछ। मेयर आचार्यले नगरवासी, शिक्षक, अभिभावक र विद्यार्थीहरूलाई उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन अपिलसमेत गरेका छन्।

    मौसम पूर्वानुमान महाशाखाले विशेषगरी गण्डकी र लुम्बिनी प्रदेशलगायत देशभरका विभिन्न भू-भागमा भारी वर्षाको सम्भावना औंल्याएको छ। नदी तटीय क्षेत्र र भिरालो जमिन आसपासका बासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।

  • पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग दुईतर्फी नै सञ्चालनमा

    पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग दुईतर्फी नै सञ्चालनमा

    काठमाडौँ । असोज ८, पहिरो पन्छाएसँगै अवरुद्ध बनेको पृथ्वी राजमार्ग दुईतर्फी रूपमै सञ्चालनमा आएको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका अन्तर्गत कृष्णभिर र ज्यामिरेमा खसेको लेदोसहितको पहिरो हटाएपछि राजमार्ग पूर्ण रूपमा खुलेको हो।

    धादिङ प्रहरीका अनुसार लगातारको वर्षाका कारण बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभिर नजिकै र वडा नम्बर ९ को ज्यामिरे खण्डमा पहिरो खसेको थियो। लेदो र ढुंगा-माटोसहितको पहिरोका कारण शुक्रबार बिहानदेखि राजमार्ग एकतर्फी मात्र सञ्चालनमा रहेको थियो। सडक विभाग र सुरक्षाकर्मीको टोलीले पहिरो पन्छाएपछि रोकिएका सवारीसाधनहरू दुवैतर्फ सुचारु भएका छन्।

    यसअघि गत भदौ १० र १४ गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीले कृष्णभिर खण्डको सडक कटान गर्दा पृथ्वी राजमार्ग लगातार १८ दिनसम्म ठप्प बनेको थियो। बाढीले बगाएको ठाउँमा नयाँ ट्र्याक निर्माण गरेर गत असोज १ गतेदेखि मात्रै राजमार्ग पुनः सञ्चालनमा ल्याइएको थियो।