काठमाडौँ । असोज १२, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले हर्मुज जलमार्गमा अमेरिकी नौसेनाको उन्नत मानवविहीन पानीमुनिको निगरानी उपकरण (अन्डरवाटर ड्रोन) कब्जा गरेको दाबी गरेको छ । तर, अमेरिकी सेनाले उक्त दाबीलाई अस्वीकार गर्दै आफ्ना सबै परिचालनमा रहेका मानवविहीन प्रणाली सुरक्षित र आफ्नै नियन्त्रणमा रहेको जनाएको छ ।
अल जजीराका अनुसार अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) का प्रवक्ता क्याप्टेन टिम हकिन्सले आइतबार आईआरजीसीको दाबीलाई ‘स्पष्ट रूपमा हतास मनोवृत्तिबाट आएको’ भन्दै खारेज गरेका हुन् । उनले अमेरिकाका सबै परिचालनमा रहेका मानवविहीन प्रणालीको अवस्था पुष्टि गरिएको र ती सबै अमेरिकी नियन्त्रणमै रहेको बताएका छन् ।
यसअघि आईआरजीसी नौसेनाले हर्मुज जलमार्गबाट अमेरिकी सेनाको ‘एमके–१८ मोड २ किङफिस’ नामक पानीमुनिको स्वायत्त निगरानी उपकरण कब्जा गरेको दाबी गरेको थियो । इरानी सरकारी प्रसारक आईआरआईबीले आईआरजीसीको वक्तव्य उद्धृत गर्दै उक्त उपकरण उन्नत स्वायत्त मानवविहीन पानीमुनिको सवारी रहेको जनाएको छ ।
आईआरजीसीका अनुसार उक्त उपकरण जासुसी उद्देश्यका लागि हर्मुज क्षेत्रमा परिचालित थियो र त्यसलाई सैन्य गुप्तचर तथा विद्युतीय युद्ध क्षमताको प्रयोग गरी ‘समन्वित र जटिल अभियान’ मार्फत नियन्त्रणमा लिइएको हो । आईआरजीसीले कब्जा गरिएको उपकरण आफ्ना विशेषज्ञहरूको जिम्मामा दिइएको र त्यसमा रहेका सूचना तथा डाटा निकाल्ने प्रक्रिया सुरु भएको पनि दाबी गरेको छ । आईआरजीसी नौसेनाले हर्मुज जलमार्गलाई बन्द रहेको दाबी गर्दै त्यस क्षेत्रमा अनधिकृत आवागमन विरुद्ध कडा कारबाही जारी राख्ने चेतावनीसमेत दिएको छ । यद्यपि, अमेरिकी सेनाले भने इरानको उक्त दाबीलाई अस्वीकार गर्दै हर्मुज क्षेत्रमा सञ्चालनमा रहेका आफ्ना सबै मानवविहीन प्रणाली सुरक्षित रहेको दोहोर्याएको छ ।






