Author: Kamal Rana

  • आज रास्वपाको सचिवालय बैठक बस्दै

    आज रास्वपाको सचिवालय बैठक बस्दै

    काठमाडौँ । असोज ४, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको सचिवालय बैठक आह्वान गरेका छन् ।

    बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ । सचिवालय बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय घण्टीघर, वनस्थलीमा बस्ने बताइएको छ ।

     

  • आजका लागि विदेशी मुद्राको विनिमयदर

    आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ । असोज ४, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ ७० पैसा निर्धारण गरिएको छ ।

    युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ६९ पैसा र बिक्रीदर २०५ रुपैयाँ ५० पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३८ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १२० रुपैयाँ ३२ पैसा तोकिएको छ ।

    जापानी येन १० को खरिददर नौ रुपैयाँ ७० पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ८६ पैसा र बिक्रीदर २२ रुपैयाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७६ पैसा र बिक्रीदर ४० रुपैयाँ ९२ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४२ रुपैयाँ १६ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५९ पैसा र बिक्रीदर चार रुपैयाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ०४ पैसा र बिक्रीदर ११ रुपैयाँ ०९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५ रुपैयाँ ६५ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५२ पैसा र बिक्रीदर २३ रुपैयाँ ६१ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९ रुपैयाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४९८ रुपैयाँ १३ पैसा र बिक्रीदर ५०० रुपैयाँ ०८ पैसा, बहराइन दिनार एकको खरिददर ४०६ रुपैयाँ ११ पैसा बिक्रीदर ४०७ रुपैयाँ ७० पैसा, ओमनी रियाल एकको खरिददर ३९७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३९९ रुपैयाँ २२ पैसा रहेको छ ।

    भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

  • आज ३१ जिल्लामा कांग्रेसको वडा अधिवेशन

    आज ३१ जिल्लामा कांग्रेसको वडा अधिवेशन

    काठमाडौँ । असोज ४, नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत आइतबार ३१ जिल्लामा वडा अधिवेशन हुँदैछ। केन्द्रीय निर्वाचन समितिका अनुसार शनिबार ४३ जिल्लाका ३ हजार ३९६ वडामा वडा अधिवेशन सम्पन्न भएको थियो ।

    बाँकी ३१ जिल्लामा आज वडा अधिवेशन हुनेछ । भोटेकोशी र त्रिशूली नदीको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा भने परिस्थितिअनुसार वडा अधिवेशनको नयाँ मिति तय गरिने छ। निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार शनिबार सुरु भएको वडा अधिवेशन उत्साहप्रद रहेको छ।

    शनिबार सम्पन्न वडा अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि समेत चयन गरिएको निर्वाचन समितिले जनाएको छ। आइतबार बाँकी ३१ जिल्लामा वडा अधिवेशनमार्फत वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि समेत चयन गरिने छ ।

  • काठमाडौँ उपत्यकामा रातभर सार्वजनिक यातायातको पहुँच बढाउँदै साझा

    काठमाडौँ उपत्यकामा रातभर सार्वजनिक यातायातको पहुँच बढाउँदै साझा

    काठमाडौँ । असोज ४, साझा यातायातले काठमाडौँ उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्ने भएको छ । संविधान दिवसको अवसर पारेर शनिबारदेखि थप पाँच रुटमा सेवा विस्तार गर्दै कुल ६ रुटमा २८ वटा विद्युतीय बस सञ्चालन गर्न लागिएको हो ।

    साझा यातायातका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भूपेन्द्र अर्यालका अनुसार गत वैशाख १ गतेदेखि दुईवटा रुटमा सात वटा बसमार्फत रात्रिकालीन सेवा सञ्चालन हुँदै आएको थियो । हाल नागढुंगा–एयरपोर्ट र लगनखेल–बुढानीलकण्ठ रुटमा सञ्चालन भइरहेको सेवा शनिबारदेखि थप रुटमा विस्तार गरिने भएको हो ।

    नयाँ व्यवस्थाअनुसार बुढानीलकण्ठ–गोदावरी रुटमा ६, जगाती–रत्नपार्क–ठमेलमा ६, विमानस्थल–नागढुंगा रुटमा ४, कीर्तिपुर–जमलमा ४ तथा चक्रपथ परिक्रमाका लागि दुवैतर्फ ८ वटा विद्युतीय बस सञ्चालन हुनेछन् । यसअघि सञ्चालनमा रहेका नागढुंगा–एयरपोर्ट र लगनखेल–बुढानीलकण्ठ रुटमा भने क्रमशः चार र तीन वटा बस सञ्चालन हुनेछन् ।

    कम्पनीका अनुसार रात्रिकालीन बसहरू सम्बन्धित प्रस्थानबिन्दुबाट बेलुका ८ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुनेछन् । यात्रुको चाप र आवश्यकताका आधारमा बसको संख्या तथा सेवा समय समायोजन गर्न सकिने कम्पनीले जनाएको छ । चक्रपथ परिक्रमाको रुटमा दुवैतर्फ गरी आठ वटा बस सञ्चालन हुने भएकाले उपत्यकाका विभिन्न क्षेत्रलाई रात्रिकालीन सार्वजनिक यातायात सेवासँग जोड्न सहज हुने अपेक्षा गरिएको छ ।

    त्यस्तै भक्तपुर–ठमेल, बुढानीलकण्ठ–गोदावरी, विमानस्थल–नागढुंगा, ठमेल–ट्रेकल तथा कीर्तिपुर–जमललगायत रुटमा यात्रुको आवश्यकताअनुसार सेवा सञ्चालन गरिने साझा यातायातले जनाएको छ । काठमाडौँ उपत्यकामा सार्वजनिक यातायातको माग बढ्दै गए पनि रातिको समयमा सार्वजनिक सवारी साधनको उपलब्धता तुलनात्मक रूपमा कम रहेकाले सेवा विस्तार गरिएको कम्पनीको भनाइ छ।

    रात्रिकालीन सेवा विस्तारबाट अबेरसम्म कार्यालय तथा व्यवसायमा काम गर्ने, विद्यार्थी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अन्य रात्रिकालीन सेवामा कार्यरत यात्रुलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ। विद्युतीय बस सञ्चालन भएकाले रात्रिकालीन सार्वजनिक यातायातको पहुँच विस्तारसँगै वातावरणीय प्रदूषण न्यूनीकरणमा समेत योगदान पुग्ने साझा यातायातको विश्वास छ।

  • छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

    छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

    काठमाडौँ । असोज ४, कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । शनिबार पहिरोसँगै ठूला ढुङ्गा खसेपछि करिब १०० मिटर सडक अवरुद्ध हुँदा करिडोरमा सवारी आवागमन ठप्प भएको हो ।

    पहिरोका कारण करिडोर हुँदै आवतजावत गर्ने यात्रु तथा सवारीसाधन बीच बाटोमै रोकिएका छन्, सडकमा ठूलाठूला ढुङ्गा खसेकाले तत्काल सडक खुलाउन कठिन भएको छ । जिल्ला सदरमुकाम सिमकोटमा आज सञ्चालन हुने स्वास्थ्य शिविरमा सहभागी हुन अदानचुली गाउँपालिकाबाट आएका २७ जनाभन्दा बढी नागरिकसमेत बाटोमै अलपत्र परेको अदानचुली गाउँपालिका–२ का कमल बुढाले बताए । आफू श्रीमतीको कानको उपचारका लागि शनिबार बिहान गाउँबाट सिमकोटतर्फ आएको तर, छारेभिरमा पहिरो खसेपछि आफूहरू बीच बाटोमै रोकिनुपरेको उनको भनाइ छ ।

    “उहाँहरु पहिरोका कारण सर्केगाडको खडीखेतमा बसेर सडक खुल्ने आशामा पर्खिरहनुभएको छ । स्वास्थ्य शिविरमा उपचारका लागि जाने नागरिक सडक अवरुद्ध भएपछि समयमै सिमकोट पुग्न नसक्ने चिन्तामा छन्”, बुढाले भने ।

    प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँले सडक खुलाउन पहल भइरहेको जानकारी दिएका छन् । उनका अनुसार सडकमा ठूला ढुङ्गा खसेकाले सामान्य उपकरणबाट मात्रै सडक खुलाउन सम्भव छैन । सडक खुलाउने विषयमा सडक विभागका प्रतिनिधि, अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहसहित उपलब्ध गाउँपालिका अध्यक्ष तथा सुरक्षा निकायका प्रमुखसँग छलफल गरी आइतबार बिहानैदेखि सडक खुलाउने काम सुरु गर्ने तयारी गरिएको भएको छ ।

    करिब १०० मिटर सडक क्षेत्रमा ठूला ढुङ्गा थुप्रिएकाले फुटाउनुपर्ने अवस्था छ । दुर्गम क्षेत्रमा आवश्यक साधनस्रोत तत्काल उपलब्ध गराउन कठिन हुने भएकाले सडक खुलाउन केही समय लाग्ने प्रमुख जिल्ला अधिकारी गुरागाईँले बताए । उनका अनुसार आइतबार बिहानदेखि निरन्तर काम अघि बढाएर सम्भावतः सोमबार दिउँसोसम्म कर्णाली करिडोर सञ्चालनमा ल्याउने लक्ष्य छ ।

    वर्षायाममा बाढी, पहिरो र ढुङ्गा खस्ने समस्याका कारण कर्णाली करिडोर पटकपटक अवरुद्ध हुँदै आएको छ । करिडोर अवरुद्ध हुँदा हुम्लाका नागरिकको आवतजावतसँगै उपचार, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीको ढुवानीसमेत प्रभावित हुने गरेको छ ।

  • कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रका केही स्थानमा भारी वर्षा

    कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रका केही स्थानमा भारी वर्षा

    काठमाडौँ । असोज ४, आज देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल तथा तराई भू-भागमा आंशिक बादल लाग्नेछ । नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।

    देशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ | महाशाखाका अनुसार आइतबार राति देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल तथा तराई भू-भागमा आंशिक बादल लाग्नेछ।

    कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।

    कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ।