Author: Kamal Rana

  • २०८३ साल असोज ४ गते आइतबारको राशिफल

    २०८३ साल असोज ४ गते आइतबारको राशिफल

    काठमाडौँ । असोज ४, २०८३ साल असोज ४ गते आइतबार सन् २०२६ सेप्टेम्बर २० तारिख। भाद्र शुक्ल पक्षको नवमी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

    मेष : दिन राम्रो छ। श्रमको फल अरुले लिन सक्छन्। स्वास्थ्य र शिक्षामा अघि बढ्नुहोला। स्वदेशीभन्दा विदेशी रमझमले मन आकर्षित गरेको छ। लगानी गरेको भए फाइदा हुनेछ।

    वृष : दिन सामान्य छ। खर्चालु दिन छ । जोगाउने प्रयास गर्नुहोला । राजनीतिक र सामाजिक क्षेत्रमा सेवाका अवसर मिल्नेछन्। बन्धुसँग भने सचेत भएर काम गर्नुहोला।

    मिथुन : दिन राम्रो छ। दाजुभाइसँग गरेको कार्यएकताले तपाईंलाई फाइदा हुनेछ। स्वास्थ्य र शिक्षामा गरेको लगानीबाट आम्दानी हुनेछ। धार्मिक क्षेत्रमा रुची घट्नेछ। पारिवारिक मेलमिलाप हुनेछ ।

    कर्कट : जोगिएर काम गर्नुपर्ने दिन छ । थोरै बोल्नुहोला, धेरै बोल्नाले बन्न लागेको काममा अवरोध आउनेछ । आज गोपनीयता कायम गर्नु फाइदा हुनेछ ।

    सिंह : दिन राम्रो छ। स्वास्थ्य, शिक्षा र रोजगारीको क्षेत्रमा महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ। व्यापार व्यवसायमा गरेको लगानीबाट फाइदा हुनेछ। गोपनीयता कायम गर्नुपर्ने दिन छ।

    कन्या : दिन सामान्य छ। स्वास्थ्यमा समस्या आउन सक्छ। शिक्षा र वैदेशिक रोजगारीमा भने श्रमको मूल्याङ्कन हुनेछ। पारिवारिक मनमुटाव हुनेछ । विरोधीसँग सचेत भएर काम गर्नु पर्ने छ ।

    तुला : दिन राम्रो छ। शिक्षा र स्वास्थ्यमा लगानी गर्नुहोला। सामाजिक संघसंस्थामा तपाईंको मानसम्मान बढ्नेछ। उपल्लो स्थानमा भएका व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ।

    वृश्चिक : दिन राम्रो छ। मानसम्मान प्राप्त हुनेछ । तपाईंको प्रशंसा गर्ने थपिनेछन्। कृषिमा गरेको लगानीबाट नाफा हुनेछ। परिवारको साथ लिएर अघि बढ्नु उचित हुनेछ।

    धनु : दिन राम्रो छ। घुमघाम तय हुनसक्छ। धर्मकर्ममा रमाउने दिन छ। बौद्धिक व्यक्तिसँग परामर्श गरेर गरेको कामबाट फाइदा हुनेछ। स्वास्थ्य, शिक्षामा सुधारका संकेत देखिनेछ।

    मकर : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। दाजुभाइसँगको सहकार्यमा तपाईंलाई फाइदा हुनेछ। शत्रु बढ्नेछन्। स्वास्थ्यमा समस्या देखिने छ।

    कुम्भ : दिन राम्रो छ। घुमघाम तय हुनेछ। पुरानो साथीभाइसँगको भेटले मन प्रशन्न हुनेछ। स्वास्थ्य र शिक्षामा सुधारका संकेत देखिन्छन्। परिवारको सहयोगमा काम गर्नुहोला।

    मीन : शुभ दिन छ। सहयोगी साथी बढ्नेछन्। शिक्षा र वैदेशिक क्षेत्रमा सुधारका संकेत देखिनेछन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

  • सरकारबाटै संविधानमाथि चौतर्फी आक्रमण भयो : आङ्देम्बे

    सरकारबाटै संविधानमाथि चौतर्फी आक्रमण भयो : आङ्देम्बे

    काठमाडौँ । असोज ३, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संविधान कार्यान्वयनको जिम्मेवारी पाएको सरकारबाटै संविधानमाथि चौतर्फी आक्रमण भइरहेको आरोप लगाएका छन्। उनले संविधान संशोधनका नाममा मूल मर्ममाथि प्रहार गर्ने प्रयास स्वीकार्य नहुने भन्दै सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र कार्यदलको प्रतिवेदन खारेज गर्न माग गरेका छन्।

    संविधान दिवसको अवसरमा शनिबार जारी शुभकामना सन्देशमा आङ्देम्बेले संविधान संशोधनलाई सत्ता स्वार्थको विषय बनाउन नहुने बताएका छन्। उनले बहालवाला सर्वोच्च अदालतका न्यायाधीश वा पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा नयाँ संविधान संशोधन कार्यदल गठन गरी राष्ट्रिय सहमतिका आधारमा प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखेका छन्।

    उनको भनाइमा, ‘त्यसैले त्यस्तो प्रतिवेदनलाई खारेज गरौँ। संविधान संशोधनलाई सत्ता स्वार्थको विषय नबनाऔँ। बहालवाला सर्वोच्च अदालतका न्यायाधीश वा पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा संविधान संशोधन कार्यदल गठन गरौँ।’

    संविधान संशोधनका लागि गठन गरिएको कार्यदलको क्षेत्राधिकार र संविधानका आधारभूत मूल्य मान्यतामाथि हस्तक्षेप हुन सक्ने भन्दै दलहरूले लिखित असहमति जनाएका थिए। कार्यदलले भने विभिन्न विज्ञ, राजनीतिक दल, संस्था तथा नागरिकबाट सुझाव संकलन गरी प्रतिवेदन तयार गरेको जनाएको छ।

    आङ्देम्बेले संविधान कार्यान्वयनको प्रश्न पनि उत्तिकै गम्भीर रहेको बताएका छन्। ‘संविधान कार्यान्वयन गर्ने जिम्मेवारी पाएको सरकारबाटै संविधानमाथि बलमिच्याइँ भइरहेको अनुभूति भइरहेको छ। यो गम्भीर विषय हो,’ उनले भनेका छन्।

    उनले कार्यपालिकाले व्यवस्थापिका र न्यायपालिकाको स्वतन्त्रताको सम्मान गर्नुपर्नेमा जोड दिएका छन्। संवैधानिक अंगलाई कार्यपालिकाको कारिन्दा निकायमा परिणत गर्ने प्रयास स्वीकार्य नहुने उनको भनाइ छ। ‘नेपाली कांग्रेसलाई संविधानमाथि चौतर्फी आक्रमण सरकारबाटै भइरहेको प्रतीत भएको छ,’ आङ्देम्बेले भनेका छन्, ‘सरकारको ध्यानाकर्षण गर्छु कि संविधानको हुर्मत नलिइयोस्। संविधानको मर्ममाथि खेलवाड नगरियोस्। संवैधानिक संस्थाको गरिमा नघटाइयोस्। व्यवस्थापिका र न्यायपालिकाको स्वतन्त्रताको सम्मान गरियोस्।’ उनले आवश्यक सुधारका लागि संविधान संशोधन गर्न सकिने तर संशोधनका नाममा संविधानको आत्मामाथि प्रहार गर्न नहुने बताएका छन्।

  • संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नुपर्छ : प्रचण्ड

    संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नुपर्छ : प्रचण्ड

    काठमाडौँ । असोज ३, नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट जारी संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्दै बाँकी कार्यभार पूरा गर्नु आजको मुख्य दायित्व भएको बताएका छन् ।

    संविधान दिवस २०८३ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले संविधानले परिकल्पना गरेको वास्तविक परिवर्तनलाई पूर्णता दिन सबैको एकताबद्ध प्रयास आवश्यक रहेको बताए। संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र जनताले प्राप्त गरेका अधिकारलाई पछाडि फर्काउने कुनै पनि प्रयत्न स्वीकार्य नहुने उल्लेख गर्दै संयोजक दाहालले संविधानका मूल्य र जनअधिकार कमजोर पार्ने गतिविधिविरुद्ध लोकतान्त्रिक शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड दिए

    उनले राजनीतिक परिवर्तनलाई आर्थिक–सामाजिक रूपान्तरणसँग जोड्दै शिक्षा, स्वास्थ्य, रोजगारी, उत्पादन र समान अवसरमा सबै नागरिकको पहुँच सुनिश्चित गर्नुपर्ने बताए। ‘संविधानका अक्षर मात्र होइन, यसको आत्मालाई जनताको दैनिक जीवनमा अनुभूत हुने गरी कार्यान्वयन गर्नुपर्छ’, उहाँद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ।

    संयोजक दाहालले संविधान केवल एउटा कानुनी दस्तावेज नभई नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त ऐतिहासिक राजनीतिक उपलब्धिको संस्थागत अभिव्यक्ति भएको उल्लेख गरेका छन् । उनले संविधानको प्रभावकारी कार्यान्वयनमार्फत जनताले प्राप्त गरेका अधिकार र उपलब्धिलाई संस्थागत गर्दै समृद्धि तथा सामाजिक न्यायको दिशामा अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

  • संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्छ : अध्यक्ष ओली

    संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्छ : अध्यक्ष ओली

    काठमाडौँ । असोज ३, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका पक्षधर शक्तिहरू एक ठाउँमा उभिएर संविधानको रक्षा र राष्ट्रिय एकता सुदृढ गर्नुपर्नेमा जोड दिएका छन् ।

    संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै अध्यक्ष ओलीले मुलुकको रक्षा र संविधानको संरक्षणका लागि संविधानका पक्षधर शक्तिहरू एकताबद्ध हुनुपर्ने बताएका हुन् ।

    उनले लोकतान्त्रिक, वामपन्थी, देशभक्तिपूर्ण तथा विभिन्न वर्ग, क्षेत्र र समुदायका आन्दोलनका क्रममा सहादत प्राप्त गर्नेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । संविधान जारी भएलगत्तै मुलुकले भोगेको नाकाबन्दीजस्तो कठिन परिस्थितिले संविधानको रक्षा र राष्ट्रिय एकताका लागि थप प्रेरणा दिएको अध्यक्ष ओलीले स्मरण गरेका छन् ।

    संविधान निर्माणका कठिन घडीहरू पार गर्दै आफ्नो पार्टी नेतृत्वको सरकारले छोटो समयमै आवश्यक कानुन निर्माण तथा संरचनात्मक विकासमार्फत संविधान कार्यान्वयनको चरणमा अघि बढाएको दाबीसमेत उनले गरेका छन् ।

  • आज संविधान दिवस मनाइँदै

    आज संविधान दिवस मनाइँदै

    काठमाडौँ । असोज ३, आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।

    दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन् ।

    प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेताहरुले शुभकामना सन्देश पनि जारी गरेका छन् ।

  • आजका लागि विदेशी मुद्राको विनिमयदर

    आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ । असोज ३, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ ७० पैसा निर्धारण गरिएको छ ।

    युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ६९ पैसा र बिक्रीदर २०५ रुपैयाँ ५० पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३८ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १२० रुपैयाँ ३२ पैसा तोकिएको छ ।

    जापानी येन १० को खरिददर नौ रुपैयाँ ७० पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ८६ पैसा र बिक्रीदर २२ रुपैयाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७६ पैसा र बिक्रीदर ४० रुपैयाँ ९२ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४२ रुपैयाँ १६ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५९ पैसा र बिक्रीदर चार रुपैयाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६७ पैसा रहेको छ ।

    साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ०४ पैसा र बिक्रीदर ११ रुपैयाँ ०९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५ रुपैयाँ ६५ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५२ पैसा र बिक्रीदर २३ रुपैयाँ ६१ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९ रुपैयाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४९८ रुपैयाँ १३ पैसा र बिक्रीदर ५०० रुपैयाँ ०८ पैसा, बहराइन दिनार एकको खरिददर ४०६ रुपैयाँ ११ पैसा बिक्रीदर ४०७ रुपैयाँ ७० पैसा, ओमनी रियाल एकको खरिददर ३९७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३९९ रुपैयाँ २२ पैसा रहेको छ ।

    भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।