Author: sahayatra

  • सुनको भाउ फेरि ३ लाखमुनि झर्‍यो

    सुनको भाउ फेरि ३ लाखमुनि झर्‍यो

    काठमाडौँ । असोज १, सुनको भाउ फेरि ३ लाखमुनि झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँ तोकेको छ ।

    अघिल्लो दिनको तुलनामा आज सुन तोलामा २ हजार ३ सय रुपैयाँ घटेको हो । अघिल्लो दिन ३ लाख १ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

    त्यस्तै चाँदीको भाउ तोलामा ६० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ६८५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ६२५ रुपैयाँ कायम भएको छ ।

  • अर्थमन्त्री वाग्ले तीनदिने भ्रमणका लागि नयाँदिल्ली प्रस्थान

    अर्थमन्त्री वाग्ले तीनदिने भ्रमणका लागि नयाँदिल्ली प्रस्थान

    काठमाडौँ । असोज १, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारत सरकारको निमन्त्रणामा उनी बिहीबार बिहान ७ः३५ बजेको उडानमा काठमाडौँबाट नयाँदिल्ली प्रस्थान गरेका हुन् ।

    भ्रमणक्रममा विपद्पछिको पुनर्निर्माणलगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्यबारे छलफल हुने बताइएको छ ।

    अर्थमन्त्री वाग्लेको भ्रमण टोलीमा मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नेपाली राजदुताबास नयाँदिल्लीका उपनियोग प्रमुख डा।सुरेन्द्र थापा नेपालीलगायतका छन् ।

  • मकवानपुरको इन्द्रसरोवरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु

    मकवानपुरको इन्द्रसरोवरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु

    काठमाडौँ । भदौ ३०, हेटौंडाबाट काठमाडौं जाँदै गरेको विद्युतीय (ईभी) गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

    इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार, ८ जना सवारमध्ये चार जनाको घटनास्थलमै मृत्यु भएको र बाँकी चार जनालाई उद्धार गरिएको छ ।

    उद्धार गरिएका १ जनालाई हेटौंडा अस्पताल पठाइएको छ भने बाँकीलाई काठमाडौंतर्फबाट लगिएको इप्रका भीमफेदीले जनाएको छ ।

    मंगलबार दिउँसो करिब २ बजे दुर्घटना भएको गाडी सडकबाट करिब ५०० मिटर तल भिरमा खसेको जनाइएको छ । दुर्घटनाको थप विवरण तथा मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेको छ ।

     

  • सांसद बोलिरहँदा गृहमन्त्री अगाडिबाटउठेर हिँडेको भन्दै नियमापत्ति

    सांसद बोलिरहँदा गृहमन्त्री अगाडिबाटउठेर हिँडेको भन्दै नियमापत्ति

    काठमाडौँ । भदौ ३०, नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले सांसद बोलिरहँदा गृहमन्त्री सुधन गुरुङ उठेर हिँडेको भन्दै नियमापत्ति जनाएका छन् ।

    मंगलबार जारी प्रतिनिधिसभाको बैठकमा नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल बोलिरहँदा गृहमन्त्री गुरुङ अगाडिबाट हिँडेका थिए । सोही विषयमा एमाले प्रमुख सचेतक महरले नियमापत्ति जनाएका हुन् ।

    ‘माननीय युवराज दुलाल बोलिरहेको बखत माननीय गृहमन्त्रीज्यू ‘। प्रतिनिधिसभा नियमावलीको नियम २० को ६ ले सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने व्यवस्था छ । यो नियमको उल्लंघन गर्दै माननीय गृहमन्त्री त्यो बीचबाट हिँड्नुभएको छ’, महरले सभामुख डोलप्रसादको ध्यानाकर्षण गराउँदै भने ।

    विगतमा प्रधानमन्त्री बालेन्द्र शाहले पनि यो नियमको उल्लंघन गरेको उनले बताए । यस्तो व्यवहारले सदनको मर्यादा कायम नगर्ने आग्रह गरे ।

     

  • सरकार ग्यास वितरण गर्न नसकेर लाचार सावित भएको एमालेको आरोप

    सरकार ग्यास वितरण गर्न नसकेर लाचार सावित भएको एमालेको आरोप

    काठमाडौँ । भदौ ३०, प्रतिपक्षी दल नेकपा एमालेले वर्तमान सरकार ग्यास वितरणसमेत गर्न नसकेर लाचार सावित भएको आरोप लगाएको छ ।

    मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै एमाले सांसद पद्मा अर्यालले यस्तो आरोप लगाएकी हुन् । ‘एक सुत्केरीका श्रीमान्ले ग्यास नपाएर खोलामा हाम फालेको घटना ताजै छ । यो सरकार ग्यास वितरणसमेत गर्न नसकेर लाचार सावित भएको छ,’ उनले भनिन्, ‘यो कृत्रिम अभावले ज्यालामा रोजगारी गर्ने ६५ प्रतिशतभन्दा बढी जनतालाई आक्रान्त बनाएको छ ।’

    साथै, जनता महँगो मूल्यमा ग्यास किन्न बाध्य भएकोप्रति उनले आपत्ति जनाइन् । ‘अहिले भइरहेको ग्यासको अभाव सरकारलाई सामान्य लाग्न सक्छ ।

    तर गरिखाने वर्ग, मजदुर, विद्यार्थी, अपांग भएका व्यक्ति तथा समग्र निम्न वर्गका लागि खाना पकाउने ग्यासको अभावका कारण आक्रान्त छ,’ सांसद अर्यालले भनिन्, ‘एउटा मात्रै ग्यास सिलिन्डर हुने र त्यही दिन ग्यास साटेर ल्याउने परिवारको संख्या कति छ ? त्यसको तथ्यांक सरकारसँग छ ?’

    उनले थप व्याख्या गर्दै भनिन्, ‘महँगो मूल्यमा ग्यास किन्न बाध्य जनता छन् । निम्न वर्गका लागि विद्युतीय चुल्होको सुविधा छैन । काम छाडेर ग्यास खोज्न जाने कि काम गर्न जाने ?’

     

  • घरजग्गा कारोबार रकम काठमाडौं महानगरमा सबैभन्दा उच्च

    घरजग्गा कारोबार रकम काठमाडौं महानगरमा सबैभन्दा उच्च

    काठमाडौँ । भदौ ३०, अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष घरजग्गा कारोबार रकम करिब दोब्बर बढेको छ ।

    गत आर्थिक वर्ष २०८२र८३ मा कुल ७ खर्ब २० अर्ब रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ३ खर्ब ८६ अर्ब बराबरको घरजग्गा कारोबार भएको थियो ।

    गत आवको चौथो त्रैमासमा मात्रै २ खर्ब ७५ अर्ब बराबरको घरजग्गा कारोबार भएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा १२७.६१ अर्ब बराबरको घरजग्गा कारोबार भएको थियो ।

    नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा घरजग्गाको कुल कारोबार संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ४.७४ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो कारोबार संख्या १.८४ प्रतिशतले घटेको थियो ।

    गत आर्थिक वर्षको चौथो त्रैमासमा घरजग्गाको कुल कारोबार संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.२५ प्रतिशतले बढेको छ । अघिल्लो आवमा सोही अवधिमा यस्तो कारोबार संख्या १४.६५ प्रतिशतले बढेको थियो ।