Category: राजनीति

  • एमाले मुख्य सचेतक बर्तौलाले रास्वपाको व्यवहारप्रति प्रश्न उठाए

    एमाले मुख्य सचेतक बर्तौलाले रास्वपाको व्यवहारप्रति प्रश्न उठाए

    काठमाडौं । साउन २७, सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को व्यवहारप्रति प्रश्न उठाएका छन् ।

     

    एकातिर प्रतिनिधि सभाको कामकारबाही बहिष्कार गर्ने अर्कोतिर संसदीय समितिको बैठकमा भाग लिने प्रवृतिका बीचमा मेल नखाएको बर्तौलाको टिप्पणी छ ।

    ‘यो संसद्को मूल बैठक उहाँहरू बहिष्कार गर्नुहुन्छ । तर, यही मूल सदनले दिएको विजनेश सम्पादन गर्ने संसदीय समितिहरू त्यहाँ उहाँहरू काम गरिरहनुभएको छ,’ मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने ।

    ‘एकातिर बहिष्कारको नाटक गर्दै हुनुहुन्छ । अर्कोतिर मिनी संसद्मा सहभागी हुनुहुन्छ । यो संसद्मा बहिष्कार गरेको के अर्थ ?,’ उनी प्रश्न गर्छन्, ‘के लागि जनतामा भ्रम पार्न खोज्दै हुनुहुन्छ ?’ यस्तो व्यवहार सुधार्न रास्वपालाई एमाले मुख्य सचेतक बर्तौलाको आग्रह छ ।

    एमालेका मुख्य सचेतक बर्तौलाले संसद्को मूल बैठक बहिष्कार गरेर बाहिर निस्केर प्रतिक्रिया दिने गरेको र प्रतिक्रिया दिँदा गलत शब्दहरू प्रयोग गर्ने गरेको भनेर आपत्ति जनाए ।

    ‘यो संसद् बहिष्कार गर्नुभएको छ । तर, बाहिर गएर सामाजिक सञ्जालमा प्रवेश गरेर छताछुल्ल ढंगबाट, संगठित ढंगबाट प्रधनमन्त्रीका विरुद्धमा, मन्त्रीका विरुद्धमा, आफूलाई मन नपर्ने राजनीतिक दलका नेता र सांसदहरूका विरुद्धमा गालीगलौजका शब्दहरू प्रयोग गर्नुहुन्छ,’ उनले भने ।

    ति शब्दहरू अशिष्ट रहेको उनको भनाइ छ । उनी आरोप लगाउँदा प्रयोग भएका शब्दहरूप्रति आपत्ति जनाउँछन् ।

    ‘हामीलाई हनुमानको आरोप लगाउने, कसैको छोरा वा छोरी भन्ने, दलाल भन्ने । असाध्यै असामाजिक शब्दहरू प्रयोग गरेर कसैको झड्केलो छोरो, कसैको झड्केलो छोरी, कसको के ! यो खालको बा को नाममा, आमाको नाममा, श्रीमतीको नाममा समेत, हजुरबाको नाममा समेत, स्वर्गीय भएका हजुरआमाको नाममा समेत गालीगलौजको शृङ्खला राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूबाट संगठित तरिकाबाट भइरहेको छ,’ बर्तौलाले भने ।

    उनले गलत कार्यशैली सुधार्न रास्वपा सांसदहरूलाई उनको आग्रह छ । अन्यथा, भविष्यमा आफैंलाई भारी पर्नसक्ने उनको चेतावनी छ ।

     

  • आज हुने भनिएको भूमि विधेयकमाथिको छलफल स्थगित

    आज हुने भनिएको भूमि विधेयकमाथिको छलफल स्थगित

    काठमाडौं । साउन २७, प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा आज हुने भनिएको भूमि विधेयक माथिको छलफल स्थगित भएको छ ।

    बिहान १० बजे भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकको प्रतिवेदनमाथि छलफल गर्न बैठक राखिएको थियो ।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले विधेयकको मस्यौदा तयार पारेका थिए । उक्त विधेयकको मस्यौदा यसअघि नै समिति सदस्यहरूलाई वितरण गरिसकिएको छ ।

    कतिपय सांसदहरूले मन्त्रालयले विधेयकको मस्यौदा तयार पारेको भनेर समेत असन्तुष्टि जनाएका थिए । यही बेला आज बस्ने भनिएको बैठक स्थगित भएको हो ।

    कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्य शान्ति विकले बुधबार समितिको बैठक बस्ने तयारी रहेको जानकारी दिइन् ।

    समितिका अर्का सदस्य अशोक कुमार चौधरीले प्राप्त मस्यौदाउपर समितिको आन्तरिक छलफल हुनै बाँकी रहेको बताए ।

     

  • कुलिङ पिरियड त्रुटि प्रतिवेदन कार्यान्वयनबारे दलहरूसँग छलफल गर्दै सभामुख

    कुलिङ पिरियड त्रुटि प्रतिवेदन कार्यान्वयनबारे दलहरूसँग छलफल गर्दै सभामुख

    काठमाडौं । साउन २७, संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनबारे सभामुख देवराज घिमिरे छलफलमा छन् ।

    उनले राजनीतिक दलका नेताहरूको समेत राय मागेका छन् । उनले आज बिहान ११ बजे संसदमा रहेका दलहरूका प्रमुख सचेतकहरूसँग राखेको संयुक्त छलफल भने स्थगित भएको छ ।

    सभामुख घिमिरेले यसअघि पनि दलका नेताहरूसँग संवाद गरेका छन् । संसद् सचिवालयकै अधिकारीहरूसँग छलफल गरेका छन् ।

    कुलिङ पिरियडको प्रावधान निश्कृय हुने भाषा समेत विधेयकको प्रतिवेदनमा परेको भनेर प्रश्न उठेपछि गठित संसदीय छानबिन समितिले गम्भीर त्रुटि भएको निष्कर्ष निकालेको छ । यसमा संलग्न व्यक्तिलाई नैतिक प्रश्न उठाएको छ । प्रचलित ऐन अनुसार आवश्यक कारबाही हुन सक्ने भनेर समेत सुझाएको छ ।

    यो अवस्थामा छानबिन प्रतिवेदन कार्यान्वयनको सम्बन्धमा सभामुख घिमिरेले सरोकारवाला पक्षसँग छलफल गरिरहेका हुन् ।

     

  • माधव-झलनाथबीच सार्वजनिक आरोप-प्रत्यारोप नगर्ने भद्र सहमति

    माधव-झलनाथबीच सार्वजनिक आरोप-प्रत्यारोप नगर्ने भद्र सहमति

    काठमाडौं । साउन २७, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच चर्किएको वाकयुद्ध तत्कालका लागि रोकिएको छ। एकअर्कालाई पार्टी छाड्न समेत चुनौती दिने तहमा पुगेको विवादलाई मत्थर पार्न अन्य शीर्ष नेताहरूको पहलमा दुवै नेता सार्वजनिक रूपमा आक्षेप नलगाउन सहमत भएका हुन्।

    पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा भएको छलफलपछि उनीहरूबीच ‘भद्र सहमति’ जुटेको हो। विवादको सुरुवात नेता खनालले चार वर्षअघिको पार्टी विद्रोहको औचित्यमाथि प्रश्न उठाउँदै दिएको अन्तर्वार्ताबाट भएको थियो। त्यसपछि अध्यक्ष नेपालले खनाललाई सार्वजनिक रूपमै पार्टी छाडेर ‘एमालेको सेवा गर्न’ सुझाव दिएका थिए। जवाफमा खनालले पनि ‘अझै जबज भनिरहने माधव नेपालका लागि एमाले नै उपयुक्त पार्टी’ भएको कडा प्रतिक्रिया दिएका थिए।

    शीर्ष नेताहरूबीचको टकरावले पार्टी पंक्तिमा नकारात्मक सन्देश गएपछि वरिष्ठ नेता बेदुराम भुसाल, राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाल लगायतले मध्यस्थता थालेका थिए। सोमबार भएको करिब अढाइ घण्टा लामो छलफलमा अध्यक्ष नेपालले खनाललाई आफ्ना असन्तुष्टि र प्रस्तावहरू अन्तर्वार्तामार्फत सार्वजनिक गर्नुको साटो पार्टीको औपचारिक बैठकमा राख्न आग्रह गरेका थिए।

    आफ्ना प्रस्तावहरूमाथि पार्टी बैठकमा छलफल हुने भएपछि खनाल पनि सार्वजनिक अभिव्यक्ति नदिने कुरामा सहमत भएका छन्। यो सहमतिको पृष्ठभूमिमा खनालले पतञ्जली जग्गा प्रकरणमा मुछिएको भन्दै अध्यक्ष नेपालले पदबाट राजीनामा दिनुपर्ने भनी बैठकमा राखेको प्रस्ताव छ, जसमाथि नेपाल असन्तुष्ट रहँदै आएका छन्।

    अब दुवै नेताले आफ्ना असहमति पार्टीको आन्तरिक बैठकमै सीमित राख्नेछन्। आगामी साउन ३० गते बस्ने पार्टीको सचिवालय बैठकमा खनालले उठाएका विषयमा छलफल हुने भएको छ। नेताहरूले सार्वजनिक आरोप-प्रत्यारोप रोकेर आफ्ना भनाइहरू पार्टीको विधान र आचारसंहिताभित्र रहेर सम्बन्धित कमिटीमै राख्ने समझदारी बनेको हो।

  • विश्वासको मत लिँदै बागमतीका नवनियुक्त मुख्यमन्त्री बानियाँ

    विश्वासको मत लिँदै बागमतीका नवनियुक्त मुख्यमन्त्री बानियाँ

    काठमाडौं । साउन २७, बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज विश्वासको मत लिँदैछन् ।

    नेपाली कांग्रेसका प्रदेश सभा सदस्य बानियाँ २० साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनी आफ्नै पार्टीका नेता बहादुर सिंह लामालाई अविश्वासको प्रस्तावले हटाउँदै मुख्यमन्त्री बनेका हुन् ।

    बानियाँले विश्वासको मत लिनका लागि आज दिउँसो ४ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ  । बानियाँलाई विश्वासको मत दिन सत्ता साझेदार दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले ह्वीप लगाएका छन् ।

  • आज अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा पनि मनाइँदै, राष्ट्रपतिले सम्बोधन गर्ने

    आज अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा पनि मनाइँदै, राष्ट्रपतिले सम्बोधन गर्ने

    काठमाडौं । साउन २७, हरेक वर्ष १२ अगष्टमा मनाइने अन्तर्राष्ट्रिय युवा दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘दिगो विकास र सुनौलो भविश्यको सार: स्थानीय युवाको सहभागिता समृद्धिको आधार’ भन्ने मूल नाराका साथ दिवस मनाउन लागिएको हो ।

    अन्तर्राष्ट्रिय युवा दिवस साताव्यापी कार्यक्रम गरी मनाइँदै आए पनि मूल समारोह आज आयोजना हुँदैछ । बिहान १० बजे भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजना हुने मूल समारोहलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्वोधन गर्ने कार्यक्रम छ ।

    युवा दिवस मनाउन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा २८५ संस्थागत सदस्यसहित मूल समारोह समिति र राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको अध्यक्षतामा १७ सदस्यीय सचिवालय गठन गरिएको थियो ।

    नेपालको संविधानमा उल्लेखित युवा सम्वन्धी व्यवस्थालाई कार्यान्वयन गर्न, युवा केन्द्रित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति र कानून निर्माणमा पैरवी गर्न, युवालक्षित मुद्दाहरूका सवालमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सचेतना अभिवृद्धि गर्न उत्सवमय ढंगले अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिएको छ ।

    सन् १९९८ को अगष्ट ८–१२ मा पोर्चुगलको राजधानी लिसवनमा विश्वका १४० देशका युवा मामिला हेर्ने मन्त्रीहरुको विश्वस्तरीय सम्मेलनले युवाको पक्षमा ८८ बुँदे घोषणापत्र जारी गरेको थियो । सोही सम्मेलनको सिफारिस अनुसार १७ डिसेम्बर १९९९ मा सम्पन्न संयुक्त राष्ट्रसंघको ५४ औं साधारण सभाले १२ अगस्टलाई अन्तर्राष्ट्रिय युवा दिवसको रूपमा मनाउने घोषणा गरेको थियो । सोही अनुसार सन् २००० देखि हरेक वर्षको १२ अगस्टमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिन्छ । अन्तर्राष्ट्रिय युवा दिवसकै अवसरमा अनलाइनखबर डटकमले यस वर्षको ४० वर्ष मुनिका ४० प्रभावशाली युवाको सूची सोमबार सार्वजनिक गरेको थियो ।