Category: राजनीति

  • आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    काठमाडौं । साउन २७, आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ ।


    आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आव २०८०/८१’ पेस गर्ने सम्भावित कार्यसूची छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    यसैगरी, राष्ट्रियसभाको बैठक १ः१५ मा बस्दैछ । आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ सभासमक्ष पेस गर्ने कार्यसूची छ । संविधानसभा सदस्य एवं पूर्वराज्यमन्त्री खड्गबहादुर बस्यालको निधनप्रति दुवै सदनमा श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।

  • रविको थुनामुक्त गर्न माग गरेको निवेदन माथिको बहस सकियो

    रविको थुनामुक्त गर्न माग गरेको निवेदन माथिको बहस सकियो

    काठमाडौं । साउन २६, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले आफूलाई थुनामुक्त गर्न माग गरेको निवेदनमाथिको बहस सकिएको छ ।

    न्यायाधीश नारायणप्रसाद सापकोटाको १० नम्बर इजलासमा परेको पेशीमाथि बहस सकिएर आदेश लेखनको काम भइरहेको अदालत स्रोतले जानकारी दिएको छ ।

    बुटवलको सुप्रीम सहकारी ठगी अभियोगमा लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा छन् ।

    उनले आफू सहकारी ठगीमा संलग्न नभएको जिकिर गर्दै बचतकर्ताको बचत फिर्ताको सुनिश्चित आफूबाटै गर्न चाहेको तर्क गर्दै आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा यही साउन १९ गते सोमबार निवेदन दिएका थिए ।

    उनको निवेदनमा सुनुवाइका लागि १० नम्बर न्यायाधीश नारायण सापकोटाको इजलासमा परेको र बहस सकिएपनि आदेश नआएको रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले बताए ।

    न्यायाधीश सापकोटाको इजलासको दोस्रो नम्बरमा लामिछानेको निवेदनको सुनुवाइ हुने गरी तोकिएको थियो ।लामिछाने आफ्नो भागको ठगी रकमको बिगोबापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत पनि साउन १९ गते निवेदनसँगै दाखिला गरेका थिए ।

    बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उच्च अदालतको आदेशलाई उनको सर्वोच्च अदालतले पनि सदर गरेको थियो ।

     

     

  • पूर्व उपप्रधानमन्त्रीद्वय श्रेष्ठ र यादवबीच भेटवार्ता, राजनीतिक निकासका लागि नयाँ पहलमा जोड

    पूर्व उपप्रधानमन्त्रीद्वय श्रेष्ठ र यादवबीच भेटवार्ता, राजनीतिक निकासका लागि नयाँ पहलमा जोड

    काठमाडौं । साउन २६, नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ। श्रेष्ठको हात्तीवनस्थित निवासमा आज बिहान पूर्व उपप्रधानमन्त्रीद्वयबीच भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको हो।

    श्रेष्ठको सचिवालयका अनुसार, भेटमा देशको वर्तमान परिस्थितिलाई सम्बोधन गर्न र सकारात्मक निकास दिनका लागि संघर्षशील शक्तिहरूले नयाँ पहलकदमी लिनुपर्ने आवश्यकतामाथि जोड दिइएको थियो। यथास्थितिमा अल्झिनुको सट्टा नयाँ सिराबाट अगाडि बढ्ने विषयमा पनि दुई नेताबीच कुराकानी भएको जनाइएको छ।

    त्यसैगरी, सबै पक्षले आ-आफ्ना कमजोरी स्वीकार्दै आत्मालोचना गर्नुपर्ने र वर्तमान सन्दर्भमा कसरी एकताबद्ध भएर अघि बढ्न सकिन्छ भन्ने विषयमा पनि छलफल केन्द्रित रहेको श्रेष्ठको सचिवालयले जानकारी दिएको छ।

  • चार संसदीय समितिको बैठक आज बस्ने

    चार संसदीय समितिको बैठक आज बस्ने

    काठमाडौं । साउन २६, सङ्घीय संसद्का विभिन्न चार समितिको बैठक आज बस्ने भएको छ ।


    निर्धारित कार्यतालिका अनुसार, आज अर्थ समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने जनाइएको छ ।

    अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि दफावार छलफल गर्ने कार्यसूची छ । कानुन, न्याय तथा मानवअधिकार समितिमा ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ को दफावार छलफल गर्ने कार्यक्रम छ ।

    कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘हिन्द कुश हिमालयन पार्लियामेन्टस् मिट– २०२५’ का सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । त्यसैगरी विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ उपर सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ ।

  • शीतल निवासमा जनैपूर्णिमा, राष्ट्रपति दम्पतीद्वारा रक्षाबन्धन ग्रहण

    शीतल निवासमा जनैपूर्णिमा, राष्ट्रपति दम्पतीद्वारा रक्षाबन्धन ग्रहण

    काठमाडौं । साउन २४, राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दूहरूको पवित्र पर्व जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसरमा वैदिक विधिअनुसार रक्षाबन्धन ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले पण्डित अर्जुन न्यौपानेको हातबाट शुभ साइतमा जनै फेर्नुका साथै रक्षाबन्धन बाधेका हुन् ।

    राष्ट्रपतिको सचिवालयका अनुसार, सो अवसरमा राष्ट्रपति पौडेलका परिवारका सदस्य तथा आफन्तजनको पनि उपस्थिति रहेको थियो र उनीहरूले समेत रक्षाबन्धन ग्रहण गरेका छन् ।

  • घनश्याम भूसाल र नारायणकाजी श्रेष्ठ बीच भेटवार्ता

    घनश्याम भूसाल र नारायणकाजी श्रेष्ठ बीच भेटवार्ता

    काठमाडौं । साउन २३, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालबीच भेटवार्ता भएको छ ।

    हालै माओवादीको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि पहल गर्ने निर्णय गरेकोमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले एकीकृत समाजवादीका महासचिव भूसालसँग भेट गरेका हुन् ।

    हात्तिवनस्थित श्रेष्ठको निवासमा भएको भेटमा पार्टी एकताको प्रस्तावको बारेमा र पार्टी एकताको औचित्य र सम्भावनाबारे कुराकानी भएको बताइएको छ ।

    करिब एक घण्टा चलेको भेटमा राजनीतिक परिस्थिति र कम्युनिष्ट क्रान्तिकारी शक्तिहरूको कार्यभारबारे दुई नेताबीच कुराकानी भएको थियो ।

    यस्तै नेपालका विभिन्न राजनीतिक दलहरूको वर्तमान अवस्था र भूमिका साथै कम्युनिष्ट आन्दोलनको रुपान्तरण र पुनर्गठनका विषयमा समेत छलफल भएको बताइएको छ ।

    केपी शर्मा ओली नेतृत्वको सरकार वर्तमान सरकार निरङ्कुश र भ्रष्ट बन्दै गइरहेको भन्दै उनीहरुले आलोचना गरेका छन् ।

    माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता चर्चा भइरहेका बेला श्रेष्ठ र भूसालबीचको भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

    यसअघि माओवादी वरिष्ठ उपाध्यक्ष श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’सँग भेट गरेका थिए ।