Category: ब्रेकिङ न्युज

  • प्रधानमन्त्री बालेन शाहले गरे उद्योगी तथा व्यवसायीहरूसँग छलफल

    प्रधानमन्त्री बालेन शाहले गरे उद्योगी तथा व्यवसायीहरूसँग छलफल

    काठमाडौँ । भदौ २६, प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ, चन्द्र ढकाल लगायत सहभागी छन् ।

    छलफलमा मुलुकको आर्थिक अवस्था, उद्योग–व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्ने र लगानी तथा व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्ने विषयमा पनि छलफल केन्द्रित रहेको बताइएको छ ।

     

     

  • १६१औं मोती जयन्ती मनाइँदै

    १६१औं मोती जयन्ती मनाइँदै

    काठमाडौँ । भदौ २६, राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६१औँ जन्मजयन्ती आज मुलुकभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

    १९२३ साल भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा परलोक भएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि महत्त्वपूर्ण योगदान पुर्‍याएका थिए । युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनाका साथै नेपालमा छापाखानासमेत भित्र्याएका थिए । यही छापाखानामार्फत नेपालमा पत्रकारिताको सुरुवात भएको मानिन्छ ।

    दिवसका अवसरमा आज नेपाली शिक्षा परिषद्, नेपाल प्रज्ञा प्रतिष्ठानलगायत विभिन्न साहित्यिक संस्थाले कार्यक्रम आयोजना गर्न लागेको जनाइएको छ । परिषद्ले शुक्रबार दिउँसो २ बजे कवि सम्मेलनका साथै युवा वर्ष मोती पुरस्कार वितरण गर्न लागेको अध्यक्ष रमा शर्माले जानकारी दिइन् ।

  • आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

    आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

    काठमाडौँ । भदौ २६, कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । यो पर्व प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइन्छ । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

    आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिनमात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको प्रा डा देवमणि भट्टराईले जानकारी दिए । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ । आजका दिन घरघरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ ।

    पितृसम्मान दिवस

    यसै अवसरमा आज छोराछोरीले परम्पराअनुसार आआफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाइ आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बाबु नहुनेहरूले विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।

    आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले चिनिन्छ । यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको घुइँचो लाग्छ ।

    मेलाका सबै तयारी गरिएको मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्षसमेत रहनुभएका गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष जयराम महतले जानकारी दिनुभयो । यसैगरी रसुवा र नुवाकोट सङ्गमस्थल वेत्रावतीमा पनि लाग्ने मेला लाग्छ । बेत्रावतीमा पिता दिवङ्गत भएकाहरू तर्पण, सिदादान र पिण्डदान गर्न पुग्ने गर्छन् । यस वर्ष भोटेकोशी बाढीका कारण बेत्रावतीमा मेला लाग्ने–नलाग्ने निश्चित भएको छैन ।

    ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना जीवित बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बाबु परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुल स्थिर हुने ‘बुद्धोक्त पाराजिकाय’ नामक धर्मग्रन्थमा उल्लेख छ । आजको दिनमा थोरै दान गरे पनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्वका रूपमा लिइन्छ ।

  • मन्त्रिपरिषद् बैठकबाट प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत

    मन्त्रिपरिषद् बैठकबाट प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत

    काठमाडौँ । भदौ २५, मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन शाहको अमेरिका भ्रमण स्वीकृत गरेको छ।

     

    आज (बिहीबार) बसेको बैठकले संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभामा भाग लिन जान लागेका प्रधानमन्त्री नेतृत्वको टोलीको भ्रमण स्वीकृत गरेको हो।

    सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार प्रधानमन्त्री नेतत्वको टोली आगामी असोज ६ गते अमेरिका प्रस्थान गर्नेछ भने १० गते स्वदेश फर्किनेछ।

     

     

  • नयाँ उद्योगमन्त्रीको शपथ आजै साढे पाँच बजे

    नयाँ उद्योगमन्त्रीको शपथ आजै साढे पाँच बजे

    काठमाडौँ । भदौ २५, सुनसरी–४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल निवास पुगिसकेको छ।

    प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्रीको नियुक्त गर्ने व्यवस्था छ। सोहीअनुसार प्रधानमन्त्री बालेन शाहले उनलाई आजमात्रै रिक्त भएको मन्त्री पदपुर्तिका लागि सिफारिस गरेका हुन्। आजैमात्र गौरी यादवले उक्त मन्त्री पदबाट राजीनामा दिएकी थिइन्।

    राष्ट्रपति कार्यालयका अनुसार उनको पद तथा गोपनीयताको शपन आजै साढे पाँच बजे हुँदैछ।

     

     

  • उद्योगमन्त्रीमा सांसद दीपक कुमार साह सिफारिस

    उद्योगमन्त्रीमा सांसद दीपक कुमार साह सिफारिस

    काठमाडौँ । भदौ २५, नयाँ उद्योग मन्त्रीमा सुनसरी-४ का सांसद दीपककुमार साह सिफारिस भएका छन्। प्रधानमन्त्री बालेन शाहले उनको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन्।

    गौरीकुमारी यादवले राजीनामा दिएपछि साहलाई सिफारिस गरिएको हो। साह चुनावअघि रास्वपा पार्टी प्रवेश गरेका थिए। उनी सीके राउत नेतृत्वको जनमत पार्टीबाट निष्काशनमा परेपछि आफैं दल खोलेका थिए।

    साह अहिले प्रधानमन्त्री कार्यालयमै छन्। मन्त्रिपरिषद् बैठक जारी रहँदा उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको एक कोठामा बसिरहेका हुन्।