Category: ब्रेकिङ न्युज

  • बैठकमा डिजिटल संसद्को अवधारणा अघि बढाउँदै

    बैठकमा डिजिटल संसद्को अवधारणा अघि बढाउँदै

    काठमाडौँ । भदौ ३०, प्रतिनिधि सभाले डिजिटल संसद्को अवधारणा अघि बढाउँदै छ । यसबारे मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल भएको छ ।

    सिंहदरबारस्थित कार्यव्यवस्था हलमा बसेको बैठकमा डिजिटल संसद्सँग सम्बन्धित विषयमा छलफल भएको हो ।

    सांसदहरूले शून्य समय, आकस्मिक समय र विशेष समयमा उठाएका विषयलाई डिजिटल प्रणालीमार्फत सम्बन्धित मन्त्रालय तथा निकायसँग जोड्न खोजिएको छ ।

    सांसदहरूले उठाएका विषयमा सरकारले के निर्णय ग¥यो, कति प्रगति भयो र कहिले सम्बोधन भयो भन्ने कुरा ट्र्याक गर्न सकिने प्रणाली विकास गर्ने सन्दर्भमा छलफल भएको हो ।

    सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारका अनुसार डिजिटल संसद्को अवधारणामै केन्द्रित भएर कार्यव्यवस्था परामर्श समतिमिा छलफल भएको छ । छलफल जारी छ ।

     

  • कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

    कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

    काठमाडौँ । भदौ ३०, पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएपछि तत्काल थालिएको नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ ।

    आइतबार भित्तातर्फको कटिङ तथा सडक सम्याउने काम सम्पन्न गरी केही सवारीसाधन परीक्षणका रूपमा आवतजावत गराइएको थियो । परीक्षण सफल भएपछि नियमित सवारीसाधन सञ्चालनका गर्न तीव्रता दिइएको हो । नयाँ ट्र्याक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका इञ्जिनियर ईश्वर नेपालले निर्माणको काम अन्तिम चरणमा पुगेको बताए । उनका अनुसार आज ११औँ दिनमा ग्राभेलिङ, स्लोप कटिङ र नाली निर्माणको काम भइरहेको छ ।

    उनले भने, ‘सम्भवतः असोज १ गतेदेखि पूर्ण रूपमा यातायात सञ्चालन गर्ने गरी काम अगाडि बढाइरहेका छौँ ।’ उनका अनुसार निर्माणको पहिलो चरणमा ९ देखि १० दिनसम्म ११–१२ उपकरण परिचालन गरिएको थियो । अहिले काम अन्तिम चरणमा पुगेकाले करिब ४०–५० जना दक्ष तथा अदक्ष मजदुर परिचालन गरिएको छ । आवश्यकताअनुसार ग्रेडर, रोलर र एक्साभेटरसहित पाँच–छ वटा हेभी इक्युपमेन्ट प्रयोग भइरहेका छन् ।

    हाल नयाँ ट्याकमा नदीको गेग्रान प्रयोग गरी ग्राभेलिङ भइरहेको छ । सडकको कुनामा ड्रेन निर्माण गरी पाइप राख्ने र त्यसलाई बेरेर माथि टिक ड्रेन निर्माण गर्ने काम भइरहेको उनले जानकारी दिए । सब–बेसको अन्तिम तह निर्माण भएपछि सडक यातायात सञ्चालनका लागि तयार हुने उनको भनाइ छ । करिब ३०० मिटर लामो नयाँ ट्र्याकमा सात मिटर चौडाइको सडक र नालीसहित करिब साढे सात मिटरको संरचना निर्माण गरिएको उनले बताए ।

    उनले भने, ‘यो खण्ड अलिकति जोखिम छ । थप पहिरो नआएमा तोकिएको समयमै यातायात सञ्चालन हुन्छ ।’ नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का सूचना अधिकारी इञ्जिनियर सचेन्द्र मिश्रले आइतबार नयाँ ट्याकको ग्रेडिङ सम्पन्न भएपछि फिनिसिङको काम भइरहेको बताए । उनले परीक्षणका लागि मात्र आइतबार केही सवारीसाधन पास गराइएको र अहिले नयाँ ट्याक पूर्णरूपमा बन्द रहेको जानकारी दिए ।

    उनले भने, ‘सर्वसाधारण नयाँ ट्याक खुला गरिएको भ्रममा नपर्नुहोला । परीक्षणका लागि मात्र केही हिँजो सवारीसाधन पास गराइएको हो ।’ थप समस्या नआएमा असोज १ गतेसम्म निर्माणका सबै काम सम्पन्न गरी नयाँ ट्र्याकबाट नियमित रूपमा सवारीसाधन सञ्चालन गर्ने योजना रहेको उनले बताए ।

     

  • आज भाद्रपद शुक्ल पञ्चमीः ऋषिपञ्चमी पर्व मनाइँदै

    आज भाद्रपद शुक्ल पञ्चमीः ऋषिपञ्चमी पर्व मनाइँदै

    काठमाडौँ । भदौ ३०, ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्य कर्म सकी तीज व्रतको पारायण गरेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । यस वर्ष चौथी तिथि टुटी तीज व्रतको भोलिपल्ट नै ऋषिपञ्चमी पर्व परेकाले व्रत पारायण सकेपछि पञ्चमी स्नानलगायत कर्म गर्नुपर्ने धर्मशास्त्रीहरुको मत छ ।

    हरितालिका (तीज) को व्रत एवं पूजा आजा महिला, पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहेपनि ऋषि पञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य एवं धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए ।

    महिलामा रजस्वलाका समयमा छाई छुई लगायत कुनै त्रुटी भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गर्नाले त्यसबाट मुक्ति पाइने विभिन्न धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी, र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछुतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको उनले बताए ।

    यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो ।

    ऋषि पञ्चमीको पृष्ठभूमि

    महिलाको रजस्वलासित जोडिएको ऋषि पञ्चमीका विषयमा एउटा किम्बदन्ती पनि प्रचलित छ । प्राचीन समयमा इन्द्रले विश्वरुपको शिरलाई तीन टुक्रा पारी हत्या गरेको कारण ब्रह्म हत्याको पाप भोग्नुप¥यो । यस हत्याबाट पिरोलिएका इन्द्रले आफ्नो दुःख ब्रह्मालाई सुनाए । इन्द्रको ब्रह्म हत्या निवारणका लागि ब्रह्माले एक वर्षसम्मको दोष इन्द्रलाई भोग गराई बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भाग लगाई चारैतिर फयाँकिदिए ।

    यसैकारण उब्जनी नहुने उषरभुमि, वृक्षबाट निस्कने खोटो, पानीमा निस्कने बुदबुद फेन अर्थात् फिँज र स्त्रीमा रज देखिन थालेको धार्मिक विश्वास रहेको विषय विभिन्न ग्रन्थमा उल्लेख गरिएको आध्यात्मिक पुस्तक लेखनमा सक्रिय पण्डित मधुसुदन सुवेदीले बताए ।

    रजस्वला भएका बेलामा अरुलाई छोइछाई गर्दा महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै पाप लाग्ने भएकाले छुन नहुने एवं जानी नजानी छोइछाई भएमा आजको दिनमा अरुन्धतीसहित सप्त ऋषिको पूजा गर्नाले त्यस पापबाट मुक्त भइने धार्मिक विश्वास रहेको हो । रज भनेको फोहर हो । जुन महिलामा मासिक धर्मका समयमा निस्कन्छ । यसबाट बच्नु स्वास्थ्यका लागि राम्रो हुने भएकाले अध्ययन अनुसन्धानबाट प्रमाणित भएपछि समाजमा लागू गरिएको विश्वास गरिन्छ । यसका विषयमा आधुनिक विज्ञान र स्वास्थ्यका दृष्टिकोणबाट समेत अध्ययन गरी सार्वजनिक गरिनुपर्नेमा पनि उनले जोड दिए ।

    आज स्नान गरी पूजा आजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ । यस अवसरमा आज काठमाडौँको टेकु, मूलपानी लगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजा आजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्ने गर्छ । यहाँ महिला भक्तजनले अरुन्धतीसहित सप्ऋषिको पूजा लगाउने गर्छन् । मन्दिर जाने अवसर नजुट्ने महिलाले भने नदी किनार वा घरमै पूजा, आराधना गर्ने गरेका छन् ।

  • आज प्रतिनिधिसभाको बैठक बस्दै, मन्त्रीले जवाफ दिने कार्यसूची

    आज प्रतिनिधिसभाको बैठक बस्दै, मन्त्रीले जवाफ दिने कार्यसूची

    काठमाडौँ । भदौ ३०, सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

    यस्तै, बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी सम्मिलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यसैगरी आज अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।

     

  • देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना

    देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौँ । भदौ २९, आज देशभर साधारणतया बादल लाग्नेछ । देशका केही ठाउँमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार कोशी र कर्णाली प्रदेशका पहाडी भू-भाग, बागमती, गण्डकी, लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ | यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

    देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा र मधेश प्रदेश तथा कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानमा पनि मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    राति पनि देशभर साधारणतया बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ | देशको हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी र तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

     

  • पाशुपत क्षेत्रमा बिहानैदेखि भक्तजनको भिड, सुरक्षामा खटिए १२५० प्रहरी, ९ हजारले गरे दर्शन

    पाशुपत क्षेत्रमा बिहानैदेखि भक्तजनको भिड, सुरक्षामा खटिए १२५० प्रहरी, ९ हजारले गरे दर्शन

    काठमाडौँ । भदौ २९, हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिर र आसपासका क्षेत्रको सुरक्षाका लागि १ हजार २ सय ५० प्रहरी परिचालित भएका छन् । आज बिहान ३.१५ बजेदेखि नै भक्तजनका लागि पशुपतिका ४ वटै ढोका खुला भएपछि सहज भएको छ ।

    बिहान ७ बजेसम्ममा ९ हजार भन्दा बढी दर्शनार्थीद्वारा दर्शन गरेका छन् । सुरक्षा स्रोतका अनुसार, ३ हजार दर्शनार्थी लाइनमा छन् । नेपाल प्रहरीले पशुपति मन्दिर दर्शनमा सहजीकरण गरेको हो । मन्दिर परिसरमा भक्तजनका लागि स्वास्थ्य शिविर पनि चलाइएको छ । ट्राफिक व्यवस्थापन पनि गरिएको छ ।

    सुरक्षा व्यवस्थापनमा कुनै कमी नहोस् भनेर प्रहरीले सिसिटिभी, ड्रोनबाट अनुगमन गरिरहेको छ । सादा पोशाकमा प्रहरी पनि परिचालन भएका छन् । प्रहरीले आज दिनभर दुई सिफ्टमा सुरक्षा व्यवस्था मिलाएपछि दर्शनार्थी मन्दिरमा दर्शन गर्न सहज भएको भक्तजनको प्रतिक्रिया छ ।