Category: मुख्य समाचार

  • न्यूनचापीय क्षेत्र कमजोर हुँदै, आज रातिदेखि मौसममा सुधार आउने

    न्यूनचापीय क्षेत्र कमजोर हुँदै, आज रातिदेखि मौसममा सुधार आउने

    काठमाडौँ । असोज ११, भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्र कमजोर हुँदै गएसँगै नेपालमा वर्षाको गतिविधि पनि क्रमश: घट्दै जाने मौसमविद्ले बताएका छन् ।

    यद्यपि आज दिउँसो देशका विभिन्न भूभागमा वर्षा हुने तर एक–दुई स्थानमा मात्र भारी वर्षा हुने पूर्वानुमान छ ।

    नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार उत्तर प्रदेश आसपास अवस्थित न्यूनचापीय क्षेत्र नेपालको लुम्बिनी र सुदूरपश्चिम प्रदेशको दक्षिणतर्फ रहेकाले ती क्षेत्रमा वर्षाको गतिविधि केन्द्रित भएको हो ।

    न्यूनचापीय क्षेत्रसँगै बंगालको खाडीबाट जलवाष्प बोकेको हावा पनि गएराति नेपालको मध्य भूभागतर्फ केन्द्रित भएको थियो । त्यसका कारण रातिको समयमा पनि नेपालको मध्य भूभागका विभिन्न स्थानमा ठूलो वर्षा भएको अधिकारीले बताए ।

    अहिले न्यूनचापीय प्रणाली विस्तारै कमजोर भइसकेको र त्यसको थोरै मात्र प्रभाव बाँकी रहेकाले आज पनि वर्षाका केही गतिविधि हुने उनले बताए ।

    भारतको उत्तर प्रदेशमा रहेको न्यूनचापीय क्षेत्रका साथै बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपालतर्फ आइरहेकाले मधेश, बागमती र कोशी प्रदेशको पश्चिमी भूभागमा अहिले बादल लागेको छ । त्यसैले ती क्षेत्रमा पनि वर्षा हुने सम्भावना रहेको छ ।

    यस्तै, नेपालको पश्चिमी भूभागका धेरै स्थानमा बादल लागे पनि तत्काल ठूलो वर्षा भइरहेको अवस्था नरहेको उनले बताए। चितवन आसपास र गण्डकीमा भारी वर्षाको सम्भावना कायम

    अधिकारीका अनुसार आज दिउँसो विशेषगरी सुदूरपश्चिम प्रदेशका हिमाल, पहाड र तराईका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । कोशी प्रदेशको पूर्वी भूभागमा भने तुलनात्मक रूपमा कम वर्षा हुने देखिएको छ ।

    कर्णालीदेखि पूर्वतर्फ मधेश प्रदेशसम्मका विभिन्न भूभागमा दिउँसो पनि वर्षाको क्रम जारी रहने भए पनि अधिकांश स्थानमा भारी वर्षा हुने सम्भावना नरहेको अधिकारीको भनाइ छ । यद्यपि एक–दुई स्थानमा मात्र भारी वर्षा हुन सक्ने सम्भावना भने रहेको छ ।

    उनका अनुसार मधेश प्रदेश, बागमतीको तल्लो भूभाग तथा चितवन आसपास, गण्डकीको तल्लो तथा पहाडी भूभाग, हिमाली क्षेत्र, लुम्बिनी प्रदेशका दक्षिणी भूभाग तथा सुदूरपश्चिमका हिमाल, पहाड र तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ ।

    तर आज रातिको समयमा भारी वर्षाको सम्भावना नरहने र मौसममा धेरै हदसम्म सुधार आउने मौसमविद् अधिकारीले बताएका छन् ।

     

  • बाढीपहिरो र वर्षाले नेपाल टेलिकमको सेवा प्रभावित

    बाढीपहिरो र वर्षाले नेपाल टेलिकमको सेवा प्रभावित

    काठमाडौँ । असोज ११, निरन्तरको वर्षा, हावाहुरी, बाढी तथा पहिरोका कारण नेपाल टेलिकमका विभिन्न स्थानमा दूरसञ्चार सेवा प्रभावित भएको छ ।

    नेपाल टेलिकमले २०८३ असोज ८ गतेदेखि परेको निरन्तरको वर्षा र हावाहुरीका कारण देशका विभिन्न स्थानमा सेवा अवरुद्ध भएको जनाएको हो ।

    कम्पनीका अनुसार भारी वर्षा तथा पहिरोका कारण प्राविधिक टोलीलाई प्रभावित क्षेत्रमा पुग्न कठिनाइ हुनुका साथै अप्टिकल फाइबरमा क्षति पुगेको छ ।

    यस्तै, विद्युत् आपूर्तिमा भएको अवरोध र हिमपात, वर्षात् तथा बादलका कारण सोलार साइटको प्रभावकारिता घट्दा सेवा सञ्चालनमा समस्या देखिएको टेलिकमले जनाएको छ ।

    प्राविधिक रूपमा सिस्टमबाट गर्न सकिने मर्मतसम्भारका काम जारी रहेको र सम्भव भएका स्थानमा सेवाको मर्मतकार्य भइरहेको टेलिकमले सूचना जारी गरी जानकारी दिएको छ ।

    मौसममा सुधार आएसँगै प्रभावित कार्यस्थलमा प्राविधिक टोली परिचालन गर्ने गरी तयारी अवस्थामा राखिएको कम्पनीको भनाइ छ ।

    सेवा अवरुद्ध हुँदा ग्राहकमा परेको असुविधाप्रति नेपाल टेलिकमले क्षमायाचना गरेको छ ।

    साथै, बाढी, पहिरो र निरन्तर वर्षाका कारण उत्पन्न कठिन परिस्थितिमा पनि ग्राहकले धैर्यता देखाएको भन्दै नेपाल टेलिकमले आभार व्यक्त गरेको छ ।

  • बागलुङमा पहिरोमा पुरिएर आमा र तीन छोराको मृत्यु

    बागलुङमा पहिरोमा पुरिएर आमा र तीन छोराको मृत्यु

    काठमाडौँ । असोज ११, बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ ।

    निसीखोला गाउँपालिका–३ की श्यामकुमारी विक र उनका तीन छोरा मनोज, मुकेश र निसान विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख फणीन्द्र प्रसाईंले जानकारी दिए ।

    केही बेरअघि उनीहरूको शव निकालिएको प्रहरीले जनाएको छ ।

  • नारायणी नदीमा खतराको तह नाघ्यो, भरतपुरका तटीय बस्तीमा पस्यो बाढी

    नारायणी नदीमा खतराको तह नाघ्यो, भरतपुरका तटीय बस्तीमा पस्यो बाढी

    काठमाडौँ । असोज ११, चितवनमा रातभर परेको वर्षाका कारण देवघाटस्थित नारायणी नदीमा पानीको सतहले खतराको सीमा नाघेको छ। नदीमा बहाव निरन्तर बढ्दै गएपछि भरतपुर महानगरपालिकाका नदी तटीय बस्तीहरूमा बाढी पस्न थालेको छ।

    भरतपुर महानगरपालिका–१७ र २८ का केही बस्तीहरूमा नदीको पानी पसेपछि स्थानीय बासिन्दालाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ। नदीको सतह बढ्दै जाँदा समग्र पश्चिम चितवनका तल्लो क्षेत्रमा कटान र डुबानको उच्च जोखिम देखिएको छ।

    चितवन प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार जोखिम बढेका बस्तीहरूमा प्रहरी परिचालन गरी सतर्क रहन माइकिङ तथा सूचना प्रवाह भइरहेको छ।

    नारायणीमा ७ दशमलव ३ मिटरलाई चेतावनीको तह मानिन्छ। अहिले नदीमा जलसतह चेतावनीको रेखा पार गरेर निरन्तर उकालो लागिरहेको छ।

    यसैबीच, चितवनकै बनकट्टास्थित रिउ खोलामा पनि बाढीले खतराको तह पार गरेको छ। रिउ खोलामा ३ दशमलव ४० मिटरलाई चेतावनी र ३ दशमलव ८० मिटरलाई खतराको तह मानिनेमा अहिले जलसतह ४ दशमलव ६२ मिटर पुगेको छ। यो खोलामा पानीको सतह केही घट्न थाले पनि अझै खतराको रेखाभन्दा माथि नै बगिरहेको छ।

    जल तथा मौसम विज्ञान विभागले नारायणी र रिउ खोला दुवैमा पानीको बहाव उच्च रहेकाले नदी किनारका सम्पूर्ण बासिन्दालाई विशेष सतर्कता अपनाउन र जोखिम देखिए तत्काल सुरक्षित स्थानतर्फ जान अपिल गरेको छ।

  • पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निवासबाटै पक्राउ

    पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निवासबाटै पक्राउ

    काठमाडौँ । असोज ११, पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आइतबार महाराजगञ्जस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिएको हो।

    जबरा पक्राउ परेको उच्च प्रहरी स्रोतले पुष्टि गरे पनि उनलाई कुन प्रकरणमा नियन्त्रणमा लिइएको हो भन्नेबारे विस्तृत विवरण खुलाइएको छैन।

    १७ पुस २०७५ मा प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका जबराविरुद्ध १ फागुन २०७८ मा प्रतिनिधि सभामा महाअभियोग प्रस्ताव दर्ता भएको थियो। महाअभियोग दर्ता भएसँगै उनी पदबाट निलम्बनमा परेका थिए।

    त्यसबेला संसद्‌मा लामो समयसम्म महाअभियोगको प्रक्रिया अघि नबढी अलपत्र परेको थियो। संसद्‌को तत्कालीन कार्यकाल सकिएपछि संसद् सचिवालयका तत्कालीन महासचिवले महाअभियोग प्रस्ताव निष्क्रिय भइसकेको भन्दै जबरालाई पत्र दिएका थिए।

    संसद् सचिवालयको उक्त पत्रविरुद्ध सर्वोच्च अदालतमा चार वटा रिट परेका थिए। गत २४ भदौमा प्रधानन्यायाधीश मनोजकुमार शर्माको नेतृत्वमा रहेको संवैधानिक इजलासले ती सबै रिट खारेज गरिदिएको थियो। संवैधानिक इजलासले जबराविरुद्धको महाअभियोगको औचित्य समाप्त भइसकेको ठहर गर्दै रिट खारेज गर्ने फैसला सुनाएको थियो।

  • कालीगण्डकीको बाढीले पर्वतको फर्सेमा बगायो २५ घर

    कालीगण्डकीको बाढीले पर्वतको फर्सेमा बगायो २५ घर

    काठमाडौँ । असोज ११, कालीगण्डकी नदी उर्लिएर बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका–८ फर्सेका २५ घर बगेका छन्। आइतबार बिहान करिब ८ बजे नदीको बहाव एक्कासि बस्तीतिर सोझिएपछि ती घरहरू बगेका हुन्।

    प्रहरीका अनुसार करिब ८० घरधुरी रहेको उक्त बस्तीमा बाढी पसेपछि २५ वटा घर बगाएको छ भने बाँकी घरहरू पनि तीव्र कटान र जोखिममा परेका छन्।

    बाढी पस्न थालेलगत्तै स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ। हालसम्म घटनामा कसैको पनि ज्यान नगएको प्रहरीले स्पष्ट पारेको छ।

    यता, सडकमा खसेको पहिरोका कारण उद्धार टोलीलाई घटनास्थल पुग्न कठिनाइ भइरहेको छ। घटनास्थल मिलनचोकस्थित प्रहरी चौकीबाट करिब ६ किलोमिटर पूर्वतर्फ पर्छ।

    पहिरो पन्छाएर घटनास्थलसम्म पुग्ने प्रयास भइरहेको र घटनाको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।