Category: रिपोटर्स आई

‘रिपोेर्टस आई’ मा हामी सहयात्राटीभी डट कमका प्रतिनीधि वा संवाददाताले समाजमा देखेका रोचक र घोचक घटना र विषयवस्तुलाई दृश्य मार्फत पस्कन्छौं । (भिडियो मात्रै)

  • गंगालाल केन्द्रले सबै प्रदेशमा मुटु रोग उपचार विस्तार गर्ने

    गंगालाल केन्द्रले सबै प्रदेशमा मुटु रोग उपचार विस्तार गर्ने

    काठमाडौं । असोज १५, शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले सबै प्रदेशमा मुटु रोग उपचार विस्तार गर्ने भएको छ ।

    केन्द्रका अध्यक्षसमेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको केन्द्र सञ्चालक समिति बैठकले बाँकी ६ प्रदेशमा पनि सेवा विस्तार गर्ने निर्णय गरेको हो ।

    बैठकमा मन्त्री पौडेलले मन्त्रालयले सबै प्रदेशमा प्रादेशिक अस्पतालहरुमार्फत विशिष्टिकृत उपचार विस्तार गर्ने योजनाअन्तर्गत क्यान्सर उपचार सुरु भइसकेको र अब मुटु रोगको उपचारसमेत विस्तारको प्रस्ताव राखेका थिए ।

    मन्त्रालयले हालै मात्र अर्थको स्वीकृतिपछि जलन उपचार सेवासमेत सबै प्रदेशमा आफ्नै श्रोतमा निःशुल्क रुपमा सञ्चालन गर्ने तयारी अघि बढाएको मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिए ।

     

     

     

  • शेयर बजार १ सय १४ अङ्कले उकालो लाग्यो

    शेयर बजार १ सय १४ अङ्कले उकालो लाग्यो

    काठमाडौं । असोज १५, शेयर बजार आज उच्च अङ्कले बढेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ ।

    शेयर बजार परिसूचक नेप्से आज १ सय १४ दशमलव ७० अङ्कले बढेर २ हजार ६ सय २३ दशमलव ५६ विन्दुमा पुगेको छ ।

    आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

    आज २१ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । यस्तै १५ वटा कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ । नेप्से उच्च अङ्कले बढेको दिन ३ वटा कम्पनीको शेयर भने ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    हिजो ४ अर्ब रुपैयाँको पनि कारोबार नभएकोमा आज ३ सय ७ वटा कम्पनीका १ करोड ७५ लाख कित्ता शेयर ७ अर्ब ६१ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनएलजी इन्सुरेन्स कम्पनीको २८ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।

     

  • बर्दघाट–दाउन्ने सडक आज रातभरि पूर्ण रूपमा बन्द गरिने

    बर्दघाट–दाउन्ने सडक आज रातभरि पूर्ण रूपमा बन्द गरिने

    काठमाडौं । असोज १५, एकतर्फी सञ्चालनमा आएको महेन्द्र राजमार्गअन्तर्गत बर्दघाट–दाउन्ने सडकखण्ड मंगलबार रातभरि नै पूर्ण रूपमा बन्द गरिने भएको छ ।

    जिल्ला प्रशासन कार्यालय नवलपरासीले मंगलबार एक सूचना प्रकाशित गर्दै १५ असोज राति १० बजेदेखि १६ असोज बिहान ५ बजेसम्म यो खण्ड पूर्ण रूपमा बन्द हुने जनाएको छ ।

    बर्दघाट नगरपालिका-४ दाउन्ने जंगलको खुर्साने खोलास्थित राजमार्गमा रिटेनिङ वाल भत्किएको छ । साथै करिब ४ सय मिटर सडक भास्सिएको छ । सडक भास्सिँदा विद्युत् प्रसारणको हाइटेन्सन टावर समेत ढलेको छ ।

    सोमबार साँझबाट अवरुद्ध बाटो रातभर काम गरी मंगलबार बिहान पौने ९ बजे एकतर्फी खुला गरिएको थियो । सडक मर्मत गरी सहज यातायात खुलाउने प्रयोजनका लागि मंगलबार रातभरि बन्द गरिने प्रशासनले जनाएको छ ।

    बर्दघाट बजारबाट दाउन्ने बजारसम्म अत्यावश्यकबाहेकका सबै सवारी साधन बन्द हुने प्रशासनले उल्लेख गरेको छ ।

     

     

  • एमालेले राहत तथा उद्धार कोषमा ५० लाख उपलब्ध गराउने

    एमालेले राहत तथा उद्धार कोषमा ५० लाख उपलब्ध गराउने

    काठमाडौं । असोज १५,  नेकपा एमालेले राहत तथा उद्धार कोषमा ५० लाख उपलब्ध गराउने भएको छ ।

    मंगलबार बसेको एमाले सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेश सभा सदस्यहरुलाई समेत राहत कोषमा सहयोग गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

    बैठकले पार्टीको नियमित काम रोकेर राहत र उद्धारमा परिचालित हुनसमेत पार्टी पङ्तिलाई निर्देश गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

    बैठकले बाढी तथा पहिरोमा परेर मृत्यु भएकाहरुको परिवार र घाइतेहरुको अभिभावकका रुपमा राज्य प्रस्स्तुत हुनुपर्नेमा जोड दिएको छ ।

    साथै लाइफ लाइनका रुपमा रहेका सडकहरु सञ्चालन गर्न पहिलो प्राथमिकता दिन सुझाएको महासचिव पोखरेलले जानकारी दिए ।

    क्षतिको यकिन विवरण संकलन गर्न र धान लगायतका कृषि बालीमा परेको असर हेरेर सम्बोधन गर्न पनि आग्रह गरेको छ ।

     

  • पहिरोबाट ठप्प काठमाण्डौ प्रवेश गर्ने नाका सञ्चालनमा आउन थाले

    पहिरोबाट ठप्प काठमाण्डौ प्रवेश गर्ने नाका सञ्चालनमा आउन थाले

    काठमाडौं । असोज १५, केही दिनअघि लगातारको वर्षापछि आएको बाढी पहिरोबाट ठप्प काठमाण्डौ उपत्यका प्रवेश गर्ने नाका सञ्चालनमा आउन थालेसँगै सडक यात्रामा केही सहज हुन थालेको छ ।

    धादिङको झ्याप्ले खोलाको सडकमा खसेको पहिरो पन्छाउने काम पूरा भएसँगै त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा गाडी आवागमन सञ्चालन भएको छ ।

    पूर्वतर्फ साँगाभञ्याङ भएर बाहिरिने गाडी अरनिको राजमार्ग हुँदै चौतारासम्म तथा बीपी राजमार्गतर्फ भकुण्डेबेँसीसम्म सञ्चालनमा रहेको काठमाण्डौ उपत्यका ट्राफिक कार्यालयका प्रहरी नायब उपरीक्षक रविन कार्कीले जानकारी दिनुभयो । नुवाकोटतर्फ जाने नाका खुले पनि त्यहाँबाट भने ठूला गाडी आवागमनमा केही कठिनाइ रहेको उहाँको भनाइ छ ।

    दक्षिणकाली भएर उपत्यका छाड्ने सडक भने सञ्चालनमा आउन सकेको छैन । बाढी पहिरोबाट पक्की पुल बगाएका र नदीले सडक कटान गरी ठूलो क्षति पुर्‍याएका ठाउँमा भने अझै गाडी पूर्णरूपमा सञ्चालनमा ल्याउन केही समय लाग्ने छ ।

    केही दिनअघिको बाढी पहिरोबाट देशका ५० भन्दा बढी सडकको एक सय बढी ठाउँमा क्षति पुर्‍याएको थियो । सानाठूला गरी २० वटा पुल बगायो ।

    बाढी पहिरोका कारण यात्राका क्रममा बीच बाटोमा रोकिएका यात्रुलाई गन्तव्यमा पुर्‍याउने कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललगायत सुरक्षाकर्मी खटिरहेका छन् । तथापि, केही राजमार्गका केही खण्डमा गाडी सञ्चालनमा आउन अझै केही समय लाग्ने अनुमान गरिएको छ ।

     

  • सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रीको चाप बढे

    सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रीको चाप बढे

    काठमाडौं । असोज १५, सङ्घीय राजधानी काठमाडौं भित्रने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रीको चाप बढेको छ ।

    यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा काठमाडौँ आउने मुख्य सडकमार्ग अवरुद्ध छन् । सडक अवरुद्ध भएपछि तीन दिनयता हवाईयात्रीको चाप ह्वात्तै बढेको हो ।

    मुलुकको अति व्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडानको नयाँ रेकर्ड कायम भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार एक दिनमा साढे पाँच सय उडान भएका छन् ।

    आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी ५५९ उडान भएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए । उनका अनुसार आन्तरिकतर्फ हेलिकप्टरसहित २२७ उडान (डिपार्चर) र २२१ अवतरण (अराइभल) भएका छन् ।

    अन्तर्राष्ट्रिय उडानतर्फ पनि ५६ अवतरण र ५५ उडान भएका छन् । प्रवक्ता शेर्पाले एकै दिन सम्भवतः यो हालसम्मकै सर्वाधिक उडान भएको बताए ।

    एकैदिन धेरै उडान भएकाले उडान चाप बढेको छ । यसअघि अघिल्लो वर्ष दशैंका बेला यस्तो उडान चाप थियो । विमानस्थलको विवरणमा आन्तरिक र अन्तर्राष्ट्रियमा गरी दैनिक पाँच सय हाराहारी उडान भएका थिए ।

    अन्तर्राष्ट्रियमा दैनिक एक सय १३ देखि १५ उडान भएको थियो भने आन्तरिकतर्फ पनि दैनिक दुई सय ७० उडानमार्फत १४ हजार यात्रीले आवतजावत गरेका थिए ।

    विमानस्थलका प्रवक्ता शेर्पाले आजका लागि आन्तरिकतर्फ १६९ अराइभल र १६९ डिपार्चर उडान तालिका तय गरिएको बताए ।

    अन्तर्राष्ट्रियमा ५८ डिपार्चर र ५७ अराइभल हुने उनले बताए । हेलिकप्टरको उद्धार उडानको सङ्ख्या पनि उल्लेख्य सङ्ख्यामा हुनेछन् ।

    वर्षाका कारण अवरुद्ध मुख्य सडकमार्ग आंशिक रूपमा खुलेपनि यात्रुलाई यात्रा गर्न निकै कष्टकर भइरहेको छ । यस्तो अवस्थामा यातायातको एकमात्र विकल्प हवाई उडान हो ।

    एक्कासी हवाई उडानमा पनि चाप बढेपछि यात्रुलाई गन्तव्यमा पुग्न समस्या भइरहेको छ । दिनहुँ विमानस्थलमा यात्रुको भीड लाग्ने गरेको छ ।

    आइतबार र सोमबार अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा उल्लेख्य सङ्ख्याका यात्री विमान उडानको पर्खाइमा थिए ।