शीर्ष नेता चुनावी प्रचारका लागि देश दौडाहामा

सहयात्रा टिभी

काठमाडौं । प्रमुख दलका शीर्ष नेताहरु चुनावी प्रचारप्रसारका लागि देश दौडाहामा निस्किएका छन् । शनिबारदेखि उनीहरुले विभिन्न जिल्लामा गएर चुनावी प्रचारप्रसार गर्ने कार्यक्रम रहेको छ ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार ताप्लेजुङबाट आफ्नो पार्टीको प्रचार अभियान सुरु गर्दैछन् । प्रधानमन्त्री देउवा शनिबार नै सोलुखुम्बु जाने योजना पनि रहेको छ । ताप्लेजुङबाट चुनावी प्रचारप्रसार गर्ने देउवा दार्चुलासम्म पुग्ने योजना रहेको कांग्रेसले जनाएको छ । उनले आजै ताप्लेजुङसहित पूर्वका तीन जिल्लाको चुनावी सभालाई सम्बोधन गर्नेछन् । प्रधानमन्त्री देउवाले चुनावी सभालाई सम्बोधन गर्नुअघि ताप्लेजुङमा रहेको पाथिभरा देवीको दर्शन गर्ने कार्यक्रम छ ।

सुरक्षा व्यवस्थामा कडाइ

कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवा चुनावी सभालाई सम्बोधन गर्न पूर्व पुगेपछि सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।

यस्तै, शुक्रबार गृह जिल्ला झापा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली शनिबार झापा ५ का गौरादह, गौरीगन्ज, तोपगाछीलगायत ठाउँमा चुनावी प्रचारप्रसारमा व्यस्त हुने बुझिएको छ ।

यस्तै, चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केही दिनदेखि आफ्नो निर्वाचन क्षेत्रमा चुनावी प्रचारप्रसारमा व्यस्त रहेका छन् ।

प्रकाशित : 11 November, 2017

प्रतिक्रिया दिनुहोस्