ब्यानर विवादमा अल्झिनु केटाकेटीपना : प्रधानमन्त्री
काठमाण्डौँ । बैशाख–१३,प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभागृहमा आयोजित गरिएको कार्यक्रमा माओवादीका कार्यकर्ताले ब्यानर हटाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।
बिहिबार सानेपामा आयोजित पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको १९ औं स्मृति सभामा बोल्दै प्रधानमन्त्री ओलीले तत्कालिन अवस्थामै अधिकारीको इच्छा सवल र एकीकृत पार्टी निर्माण गर्ने रहेको भन्दै त्यो अहिले आएर आफूहरुले पूरा गर्ने क्रममा रहेको समेत बताए ।
बैशाख ९ गतेको आयोजित कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा एमाले र माओवादीको पार्टी एकताबीचको संयुक्त कार्यक्रममा मार्क्स र लेनिन फोटो नराखेको विवादपछि कार्यक्रम ढिलो सुरु भएको थियो ।
एमालेको एउटा कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ब्यानर विवादबारे कडा टिप्पणी गरेका छन् । उनले ब्यानर विवादलाई केटा केटीपनको संज्ञा दिएका छन् ।
उनले पु्ष्पलाल, मनमोहन र मदन भण्डारीलाई कसैले फाल्न खोज्छ भने कम्युनिष्ट आन्दोलन नै नरहने बताए । यस्ता विषयलाई लिएर झंझट नमान्ने र सम्झाई बुझाई गर्नुपर्ने उनले बताए ।
प्रधानमन्त्री ओलीले यस्ता कुरामा ध्यान दिने थोरै रहेको भन्दै र आम कार्यकर्ताले देशको सम्वृद्धितर्फ ध्यान दिएको बताएका छन् । उनले एकताको विषयमा जस्तो समस्य आई परेपनि समस्यको समाधान गरेरै अघि बढिने बताए ।