प्रधानमन्त्री ओली र देउवाबीच छलफल
काठमाण्डौँ । जेठ–१०,प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन । ओली र देउवाबीच बुधबार साझ प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न समसामियक विषयमा छलफल भएको हो ।
छलफलमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव बिष्णु पौडेल र नेता सुवास नेम्वाङ सहभागी रहेका थिए । त्यसैगरी प्रमुख प्रतिपक्षी दलका तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरु कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, विजयकुमार गच्छदार र डा.मिनेन्द्र रिजाल सहभागी थिए ।
भेटका क्रममा संसद् नियमावली, संसदीय समिति गठन, संसद्को अन्तरिम कार्यविधि, सरकारको नीति तथा कार्यक्रम लगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । छलफलमा प्रधानमन्त्री ओलीले नियमावली बनाउने बिषयमा सहमति गरेर जान प्रमुख प्रतिपक्षी दलका नेताहरुलाई आग्रह गरेका छन्।