जनआन्दोलनमा घाइते भएका मुकेश १२ वर्षदेखि ओछ्यानमै
बनेपा । जेठ– १५, जनआन्दोलनमा घाइते भएका बनेपाका मुकेश कायस्थको जिउँदो सहिद घोषणा गर्न उनको परिवारले सकारसंग माग गरेका छन । २०६२ चैत्र २७ गते बनेपामा भएको आन्दोलनमा प्रहरीले गोली हान्दा उनी घाइते भएका थिए ।
आन्दोलनकारीले थप आन्दोलन चर्काउँदा १५ वर्षीय मुकेशमाथि सुरक्षाकर्मीले गोली चलाएको थियो । कञ्चटमा गोली लागेपछि उनी घाइते भएका हुन । उनलाई १२ वर्षदेखि नै उनको आमा मीरा कायस्थले स्याहार्दै आइरहेकी छिन् ।
मुकेश अझैसम्म पनि ओछ्यानमै रहेको बताइएको छ । १५ वर्षमा घाइते भएका मुकेश अहिले २७ वर्ष पुगेका छन । घाइतेपछि केहि समय अस्पतलमै विताएका उनलाई गाह्रो भएको आवस्थामा अस्पताल लाने बाहेक उनको घरमा नै उपचार र स्याहारसुसार भइरहेको बताइएको छ ।
पहिलेको भन्दा थोरै मात्रामा सुधार भएको मुकेशकी आमा मीराले बताएकी छिन । सरकारले जति गरेको छ उनको लागि पर्याप्त नभएको मिराले बताइन । कुरुवालाई मासिक रु ६ हजार २ सय दिएर ८ घन्टा राखेको पनि उनले बताएकी छिन ।
उसलाई फकाइरहनुपर्ने र हेरचाह गरिहनु पर्ने भएकोले आफ्नो व्यापार व्यवसाय गर्नुपर्ने समय नै सबै त्यसैमा खर्चिरहनुपरेको उनको बाबा कृष्णमानले बताएका छन । उनको उपचारमा खट्टिनु पर्ने भएकोले आफ्नो व्यवसाय कसरी चलाउने भन्ने कुराले सताउन थालेको उनको बाबा कृष्णमानले बताए ।