केन्द्र सार्न खोजेको थाहा पाएपछि डोल्पाका मेयर सिंहदरबारमा
काठमाण्डौं । जेठ–२०, प्रदेश सरकारले आफुलाई थाहा नदिइ केन्द्र सार्न खोजेको थाहा पाएपछि डोल्पाको ठूलीभेरी नगरपालिकाका मेयर गुहार माग्न सिंहदरबार आइपुगेका छन् ।
ठूलीभेरी नगरपालिकको केन्द्र जुफालबाट दुनैमा सार्न लागेको थाहा पाएपछि ठूलीभेरी नगरपालिकाका मेयर गणेशबहादुर शाही गुहार माग्न सिंहदरबारसम्म आइपुगेका हुन् ।
शाही मेयर निर्वाचित भए लगत्तै बसेको पहिलो नगरसभा बैठकले ठूलीभेरी नगरपालिकाको केन्द्र सबैभन्दा बढी जनघनत्व रहेको र विमानस्थल समेत भएको जुफालमा सार्ने निर्णय गरेको थियो । नगर परिषदको निर्णय अनुसार संघीय मामिला मन्त्रालयले सिफारिस गरेपछि मन्त्रिपरिषद बैठकले जुफाल केन्द्र कायम गरेको थियो ।
मेयर शाहीले सुर्खेत कार्यक्रममा आउँदा दुनैमा केन्द्र सार्न लागेको थाहा पाएका हुन् । यो निर्णय विरुद्ध अदालतमा पनि मुद्दा परेको छ भने संघीय मामिला मन्त्रालयले कानून मन्त्रालयसँग राय मागेको छ । प्रदेश सरकारले केन्द्र सार्ने विषयमा आफुलाई एक वचन पनि नसोधेकोमा मेयर शाहीले गुनासो व्यक्त गर्नुको साथै प्रदेशका मुख्यमन्त्रीसँग आपत्ति जनाएर लेखेको लिखित उजुरु पनि अरुले पठाउने भर नमानेर आफैँले लिएर सिंहदरबार आएको बताए ।
हालसम्म नगरपालिकाको काम जुफालबाटै भइरहेको छ । प्रदेश सरकारका मन्त्री तथा दुनैकै बासिन्दा नन्द बुढाको चलखेलबाट नगरपालिकाको केन्द्र सार्ने सिफारिस गरिएको स्रोतले जनाएको छ ।