राज्यमन्त्रीकै अगाडि राजपा कार्यकर्ताबीच कुटाकुट

महोत्तरी । श्रावण–१४, महोत्तरीको पिपरा गाउँपालिकाको दोस्रो गाउँपरिषद भइरहेका बेला आइतबार परिषदमै कुर्सी हानाहान भएको छ ।राजपा नेपालका अध्यक्षसहित बहुमतको स्थानीय सरकार रहेको पिपरा गाउँपालिकाको परिषद् भइरहेका बेला राजपा नेपालकै नेता कार्यकर्ताले परिषद्को विरोध र बहिष्कार गर्दा झडप भएको हो ।
झडपमा राजपाको पिपरा गाउँ कमिटी अध्यक्ष विनित पाण्डेसहित पाँच जना घाइते भएका छन् ।
परिषद् सुरु हुनेबित्तिकै विरोधी पक्षको तर्फबाट विनित पाण्डेले मञ्चमा पुगेर माइक खोसेर सबैलाई परिषद् हुँदैन भन्दै बाहिर जान भनेका थिए र अन्य ५०/६० जनाले कुर्सी, टेबुल तोडफोड गर्न थालेपछि दोहोरो झडप भएको थियो ।
प्रमुख अतिथीको रुपमा बोलाइएको प्रदेश २ का नवनियुक्त राज्यमन्त्री अभिराम शर्मा उपस्थित रहेकै बेला दुई पक्षबीच झडप भएको थियो ।