सर्वोच्चले छाडेलगत्तै प्रवक्ता फेरि पक्राउ, आक्रोशित विप्लवले निकाले विज्ञप्ति (विज्ञप्ति सहित)

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–८, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई प्रहरीले फेरि पक्राउ गरेपछि आक्रोशित नेत्रविक्रम चन्द  (विप्लव)ले प्रेस विज्ञप्ति निकालेका छन् । उनले बिहिबार राती जारी गरेको विज्ञप्तिमा अपहरणको शैलीमा आफ्ना कार्यकर्ताहरुलाई गरिने श्रृङ्खलाबद्ध गिरफ्तारी नरोके सरकारविरुद्ध सशक्त संघर्ष गर्ने चेतावनी दिएका छन् ।

सर्वोच्च अदालतले विश्वकर्मालाई बिहीबार रिहा गर्न आदेश दिएको केही समयमै प्रहरीले उनलाई नियन्त्रणमा लिएपछि विप्लव आक्रोशित बनेका हुन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘ सरकारले श्रृङ्खलाबद्ध गिरफ्तारी तुरुन्त रोकोस् र गिरफ्तार सबै कमरेडहरुलाई ससम्मान रिहा गरोस् भन्ने हाम्रो पार्टी जोडदार माग गर्दछ ।’

यदि सरकारले यो गैरन्यायिक प्रवृति नरोके आफुहरु सरकार विरुद्ध शसक्त संघर्ष गर्न बाध्य हुने बताएका छन् ।

विज्ञप्तिमा सरकारले पोलिटब्यूरो सदस्यहरु पदम राई, ओम पुन, कृष्ण धमला, मोहन कार्की केन्द्रीय सदस्यहरु किरण राई, दीपेश राई, देवनारायण शाह, टेकबहादुर केसीलगायत दर्जनौं नेता कार्यकर्ता पक्राउ गरि यातना दिइराखेको नेकपाको दाबि छ ।यसैगरि विज्ञप्तिमा नेकपाले भदौ ५ मा पक्राउ परेका नेकपाका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ‘असल’ लाई पक्राउ गरी सरकारले वेपत्ता बनाएको आरोप समेत लगाएको छन् ।
नेकपाले विज्ञप्ति मार्फत सरकारको यस किसिमको गैरन्यायिक हर्कतका विरुद्ध संघर्षमा उत्रिन मानवअधिकारवादी, नागरिक समाज, न्यायप्रेमी लगायतका जनसमुदायहरुमा आह्वान समेत गरेको छ ।

प्रकाशित : 24 August, 2018

प्रतिक्रिया दिनुहोस्