देश समृद्धिको दिशामा अगाडि बढिरहेकोे छ : वातावरणमन्त्री बस्नेत

सहयात्रा टिभी

जाजरकोट । पुष–१२, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले देश समृद्धिको दिशामा अगाडि बढिरहेको बताउएका छन् ।

सदरमुकाममा तेस्रो जाजरकोट महोत्सव उद्घाटन गर्दै उनले सरकारले गरेका कामको समीक्षा गर्ने समय बल्ल हुन थालेको जानकारी गराए ।

‘हामी आफ्नो पेशामा इमान्दार बनौँ, त्यो यतिबेलाको आवश्यकता हो’, उनले भने । आफू काममा लगनशील नहुने तर अर्काको विषयमा टिप्पणी गर्नेको सङ्ख्य बढी भएको उनको तर्क छ ।

जाजरकोट जिल्ला विकासको मूल प्रवाहमा आइसकेको बताउँदै वन तथा वातावरणमन्त्री बस्नेतले भने, ‘भारत र चीनजस्ता दुई ठूला देशलाई जोड्ने पारवहन राजमार्गलाई हामीले हाम्रो जिल्लालाई जोडेका छौँ ।’

पूर्व–पश्चिमलाई जोड्ने मध्यपहाडी लोकमार्गलाई जोडेर काम अगाडि बढिरहेको उल्लेख गर्दै उनले लुम्बिनीदेखि मुगुको रारासम्म जोड्ने राजमार्ग जाजरकोटसँग जोडेर अगाडि बढ्ने बताए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरीबी र कुरुपताको ब्यानर राखेर कर्णालीको बद्नाम गर्ने काम भइरहेको जनाउँदै कर्णालीको परिचय बदलिने गरी प्रदेश सरकार लागिपरेको बताए ।

बहुमूल्य जडीबुटी र जैविक कृषिउपजको केन्द्र कर्णाली प्रदेश पर्यटनको प्रचूर सम्भावना बोकेको मुख्य मन्त्री शाहीले ठोकुवा गरे ।

पूर्वशान्तिमन्त्री तथा सांसद सत्या पहाडीले आर्थिक सामाजिक रुपान्तरणका लागि देशमा व्यवस्था बदलिएकोे बताइन् ।

उनले जाजरकोट बहुमूल्य जडीबुटीको केन्द्र भएको बताउँदै जनताको अवस्था परिवर्तन गर्न आफू लागिपर्ने प्रतिबद्धता जनाइन् ।

कृषि उत्पादन, व्यवसायीकरण, कला संस्कृति, वातावरण संरक्षण र पर्यटन प्रवद्र्धनका लागि ‘आत्मनिर्भर, स्वाभिमानी, स्वच्छ, सुन्दर र समृद्ध जाजरकोटको निर्माण’ भन्ने नारासहित शुरु भएको महोत्सव यही पुस १५ गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।

उद्योग वाणिज्य सङ्घ जाजरकोटको आयोजनामा भएकोे महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहनेछ । विभिन्न कृषि उत्पादन, लघुउद्यमका कक्ष र भलिबललगायतका विभिन्न खेलकूद प्रतियोगितासमेत सञ्चालन हुने आयोजकले जनाएको छ । रासस

प्रकाशित : 27 December, 2018

प्रतिक्रिया दिनुहोस्