विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री अोली आइतबार स्विजरल्याण्ड जाने
काठमाण्डौं । माघ–५, डाओसमा हुने विश्व आर्थिक मञ्चको वार्षिक फोरममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली माघ ६ गते आइतबार स्विजरल्याण्ड जानेभएका छन् । जनवारी २२ देखि २५ सम्म चल्ने उक्त कार्यक्रममा सहभागी हुने अवसर नेपालले पहिलोपटक पाएको हो ।
शुक्रबार संसदमा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले आफु विश्व आर्थिक मञ्चको वार्षिक फोरम कार्यक्रममा सहभागी हुने क्रममा स्विजरल्याण्डको डाओसमा जान लागेको जानकारी गराए ।
उनले स्विजरल्याण्डले गरेको यो निमन्त्रणाले नेपालले पाएको सफलतातिर दुनियाँको चासो छ भन्ने स्पष्ट गराउने बताए । उनले भने ‘अब नेपाल कसैले वास्ता नगर्ने मुलुकको रुपमा होइन, सम्झिन लाएक देशको रुपमा उभिन थालेको छ ।’
जनयुद्धमा फसेको नेपालले गरेको द्वन्द ब्यवस्थापन र संविधान निर्माण प्रक्रियाले बाह्य संसारको नेपालप्रति चासो बढेको स्विजरल्याण्डले गरेको पछिल्लो निम्तोले प्रस्ट्याउने समेत उल्लेख गरे ।