एक अर्काविरुद्ध खनिए दुई पक्षका नेताहरु
काठमाडौं । पुस २३, प्रधानमन्त्री केपी शर्मा ओलीको गैरसंवैधानिक कदमविरुद्ध नेकपा (बहुमत) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा आमन्त्रित दुईजना डाक्टरहरु बाबुराम भट्टराई र मिनेन्द्र रिजालबिच घोचपेच भएको छ । संयुक्त आन्दोलनको आवाज उठिरहेकै बेला नेताहरुबीच विभिन्न विषयमा घोचपेच र छेडखाड भएको हो ।
नेकपा (बहुमत) को केन्द्रीय संघर्ष समितिले बुधबार काठमाडौंमा विभिन्न राजनीतिक दलहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । अध्यक्ष माधवकुमार नेपालले संयुक्त आन्दोलनको प्रस्ताव गरेलगत्तै बोलेका जसपाका नेता डा. बाबुराम भट्टराईले संसदीय प्रणालीको विपक्षमा विचार राखेका थिए । भट्टराईपछि बोलेका नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले भने संसदीय पद्धतिलाई खराब मान्न नहुने प्रतिक्रिया दिए । रिजाल बोल्दै गर्दा भट्टराई कार्यक्रम स्थलबाट निस्किए ।
स्वास्थ्य अवस्थाका कारण कार्यक्रमको शुरुमै बोलेका डा. भट्टराईले संसदीय व्यवस्थालाई मात्र लोकतन्त्र मान्ने गरिएको भन्दै असन्तुष्टि जनाए । उनले भने ‘चिसो भनेकै कोकाकोला भने जसरी संसदीय व्यवस्था मात्र लोकतन्त्र हो भन्ने गरिएको छ,त्यो गलत हो ।’
केही राजनीतिक विषयमा दुई नेताबीच फरक देखिए पनि प्रधानमन्त्री ओलीको कदम संविधान माथिको ‘कू’ हो भन्नेमा भने दुवैजनाले सहमति जनाए ।