नेकपा ओली पक्षले आज मोटरसाइकल र्‍याली गर्दै

सहयात्रा टिभी

काठमाडौं । माघ २१, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केपी शर्मा ओली पक्षले आज काठमाडौंमा बृहत मोटरसाइकलको र्‍याली निकाल्दै छ।

बागमती प्रदेश कमिटीको आयोजनामा माघ २३ गते हुने शक्ति प्रदर्शनको तयारीस्वरूप अनेरास्ववियू र राष्ट्रिय युवा संघले संयुक्त रूपमा मोटरसाइकलको र्‍याली गर्न लागेका हुन्।

नेकपाका नेता महेश बस्नेतले नेतृत्वमा १० हजार मोटरसाइकल र्‍याली निकाल्ने दावी गरिएको छ। मध्यान्ह १२ बजे बालकुमारीबाट सुरु हुने र्‍याली सातदोबाटो-लगनखेल-जावलाखेल-पुल्चोक-थापाथली-त्रिपुरेश्वर-एनएसी-जमलचोक- दरबारमार्ग-नारायणहिटी-जयनेपाल हल-कमलपोखरी-रातो पुल-गौशाला-एयरर्पोर्ट हुँदै तीनकुने पुगेर सभामा परिणत हुने राष्ट्रिय युवा संघले जनाएको छ।

रत्नपार्कमा हुने जनसभालाई व्यवस्थित गर्न नेकपाका नेता एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठको संयोजकत्वमा ११११ सदस्य रहेको जनसभा परिचालन कमिटी गठन गरिएको बागमती प्रदेश कमिटी अध्यक्ष आनन्दप्रसाद पोखरेलले जानकारी दिए । जनसभा सफल बनाउन प्रदेश, जिल्ला, नगर र वडासम्म जनसभा परिचालन कमिटी बनाउने र सहभागीता व्यापक बनाउने उनले बताए ।

बागमती प्रदेश संगठन कमिटीका अध्यक्ष पोखरेलको अध्यक्षतामा २५ सदस्य सचिवालय गठन भएको थियो।

प्रकाशित : 3 February, 2021

प्रतिक्रिया दिनुहोस्