नेकपा ओली समूहले आज बुटवलमा आमसभा गर्दै
काठमाडौं । फागुन १, नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समूहले आज लुम्बिनी प्रदेशको रूपन्देहीस्थित बुटवलमा जनसभा गर्दैछ। नेकपा लुम्बिनी प्रदेशले आयोजना गर्न लागेको जनसभा दिउँसो १२ बजे शुरु हुने जनाइएको छ ।
जनसभालाई प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, महासचिव विष्णु पौडेल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी र मुख्यमन्त्री शंकर पोखरेललगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
दुई लाख जनता उपस्थित हुने बताएका नेकपाका नेताहरूले आजको जनसभा ऐतिहासिक हुने दाबी गरेका छन् ।
सभाको पूर्वसन्ध्यामा नेकपाका युवा इन्चार्ज महेश बस्नेतको नेतृत्वमा युवा तथा विद्यार्थीहरुले मोटरसाइकल र्याली निकालेका थिए। उनीहरूले बुटबलका विभिन्न ठाउँमा मार्चपास समेत गरेका थिए । यो समूहले यसअघि लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती उपत्यका, धनगढी, चितवन र काठमाडौंमा जनसभा गरिसकेको छ।
गत पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपाको ओली तथा दाहाल-नेपाल समूहमा शक्ति प्रदर्शनको प्रतिष्पर्धा चल्दै आएको छ ।