महान्यायाधिवक्ता खरेलले राजीनामा दिएनन्
काठमाडौं । फाल्गुन १२, महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफूले राजीनामा नदिएको प्रष्ट पारेका छन् । मंगलबार बिहानैदेखि राजीनामा दिएको हल्ला आएपछि महान्यायाधिवक्ता खरेलले आफूले राजीनामा नदिएको र दिनुपर्ने परिस्थिति पनि नभएको बताउनु भयो । आफू राजीनामा दिने सोचमा समेत नरहेको उनले बताए । उनले भने, ‘अहिले महान्यायाधिवक्ताले राजीनामा दिने परिस्थिति पनि होइन, राजीनामा दिएको पनि होइन, राजीनामा दिने सोच पनि छैन ।’
महान्यायाधिवक्ताले राजीनामा दियो भन्ने विषय आउँदा मिडियाले आफूलाई एकपटक पनि नसोधी समाचार सम्प्रेसण गरको उनले बताए । अहिलेको परिस्थितिलाई आफू अनुकूल बनाउन चाहनेहरुबाट यस्तो हल्ला आएको पनि महान्यायाधिवक्ता खरेलले बताए । आफूले अदालतमा गरेको बहस प्रतिप्रधानमन्त्री सन्तुष्ट रहनुभएको उल्लेख गर्दै मिडियामा आएका विभिन्न हल्ला निराधार रहेको पनि स्पष्ट पार्नुभयो । उनले भने, ‘अहिलेको परिस्थितिलाई आफू अनुकूल बनाउने पनि कसैको कोसिस हुनसक्छ । प्रतिकूलतालाई अनुकूलतामा बदल्ने कोसिस पनि हुनसक्छ । सरकारको लडाइँलाई कमजोर बनाउने पनि हुनसक्छ । लेखिएको रहेछ कतै प्रधानमन्त्री असन्तुष्ट रहनुभयो महान्यायाधिवक्ता कार्यालय र सरकारी वकिलबाट गरिएको डिफेन्सलाई लिएर । जबकी प्रधानमन्त्रीले मलाई बोलाएरै करिब ६/७ दिनको बहसको कतिपय पाटापक्षलाई उहाँले सुनेर तपाईहरुले राम्रो गर्नुभएछ भनेर बधाई छ धन्यवाद छ परिणाम आफ्नो ठाउँमा छँदैछ तर जे भए पनि तपाईंहरुको तर्फबाट गरिने डिफेन्स राम्रो ढंगले भयो । हामी आशा गरेकै परिणाम सकारात्मक हुनसक्छ भन्ने कुरा उहाँले मलाई भन्नुभएको थियो ।’