एमाले संसदीय दलको बैठक आज, नेपाल–खनाल समूह नजाने
काठमाडौँ । नेकपा एमालेको संस्थापन पक्षले बोलाएको संसदीय दलको बैठक आज बस्दैछ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक डाकिएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
एमालेको खनाल-नेपाल समूहले संस्थापन पक्षलाई चुनौती दिँदै राष्ट्रिय भेला गरेपछि प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले बैठक डाकेका हुन् ।
सूर्य चुनाव चिह्नबाट चुनाव जितेका सबैलाई संसदीय दलको बैठकमा उपस्थित हुन मोबाइलमा म्यासेज गरिएको प्रमुख सचेतक भट्टराईले बताए ।
फागुन ११ को सर्वोच्च अदालतको फैसलापछि पुनर्स्थापित भएको प्रतिनिधिसभा बैठक शोक प्रस्ताव मात्रै पारित गरेर स्थगित भइरहँदा कसरी प्रस्तुत हुने भन्नेबारे अध्यक्ष ओलीले सांसदहरूलाई आजको बैठकमा निर्देशन दिने भट्टराईले बताए ।
तर एमालेको आजको संसदीय दलको बैठकलाई खनाल-नेपाल पक्षले बहिष्कार गर्ने भएको छ । राष्ट्रिय भेलामा व्यस्त हुनुपर्ने भएको कारण देखाउँदै सो समूहले बैठक बहिष्कार गर्न लागेको हो ।
राष्ट्रिय कार्यकर्ता भेला आज साँझ ५ बजेसम्म चल्ने भएकाले अरू कार्यक्रममा जान नसकिने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।
फागुन २३ मा सर्वोच्च अदालतले गरेको फैसलाअनुसार नेकपा एमाले २०७५ को जेठ २ को अवस्थामा फर्कनु पर्ने अडानमा खनाल-नेपाल समूह छ ।
ओलीले फागुन २८ मा गरेको केन्द्रीय कमिटी पुनर्गठन, नेताहरूको जिम्मेवारी हेरफेरलगायतका निर्णय सच्चिनु पर्ने बताउँदै आएको छ । तर, त्यसका लागि खनाल-नेपाल समूह बैठकमा सहभागी हुनुपर्ने ओली पक्षको अडान छ ।