राष्ट्रपति भण्डारीको दुई दिने बंगलादेश भ्रमण
काठमाडौं । चैत्र ०९, राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने राजकीय भ्रमणका लागि बंगलादेशको ढाका प्रस्थान गरेकी छिन् । राष्ट्रपति भण्डारी नेपाल एयरलाइन्सको उडान नम्बर आर ए ००१ मार्फत सोमबार बिहान ८ : ४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका प्रस्थान गरेकी हुन् ।
राष्ट्रपति भण्डारीको बिदाइका लागि विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत उच्च पदस्थ अधिकारी पुगेका थिए । भण्डारीले विमानस्थलमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपिता बंगलाबन्धु शेख मुजबुर रहमानको सतवार्षिकी जन्म जयन्तीमा सहभागी हुने कार्यक्रम रहेको बताइएको छ । सो कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपाल(बंगलादेश सम्बन्धको बारेमा प्रवचन दिनेछिन् ।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले त्यहाँको शहीद स्मारकको भ्रमण, ढाकास्थित नेपाली दूतवास भ्रमण साथै नेपाली समुदायसँग भेट गर्ने कार्यसूची पनि रहेको बताइएको छ । सांस्कृतिक टोली समेत रहने राष्ट्रपति भण्डारीको भ्रमणमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव भरतराज पौडेल र अन्य केही उच्च सरकारी अधिकारी रहने बताइएको छ ।