राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मङ्सिर ३ मा निर्वाचन घोषणा
काठमाडौँ । जेठ ८, राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान प्रतिनिधिसभा विघटन गरी अर्को निर्वाचन आगामी कात्तिक २६ र मङ्सिर ३ गते गर्ने गरी मिति घोषणा गरेकी छन् ।
नेपालको संविधानको धारा ७६ को उपधारा ७ बमोजिम सोसम्बन्धी सिफारिश मन्त्रिपरिषद्को राति अबेर बसेको बैठकबाट निर्णय भएबमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष गरेका थिए ।
पहिलो र दोस्रो चरणमा अर्को प्रतिनिधिसभा निर्वाचन गर्ने गरी मिति तोकिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेबाट मध्यराति जारी गरेको विज्ञप्तिमा जनाइएको छ । यसअघि राति नै राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा गरेको दाबी नपुगेको भन्दै खारेज गरेकी थिइन् ।
त्यसलगत्तै मध्यराति बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभा विघटन गरी नयाँ चुनावमा जाने सिफारिश गर्ने निर्णय गरेको थियो ।