कांग्रेसको रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरू आजदेखि अनशनमा
काठमाडौं । भदौँ ९, क्रियाशील सदस्यता विवाद टुंगिएको दाबी गरिपनि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने नामावली सार्वजनिक गर्न माग गर्दै थप दबाब दिन आजदेखि अनशन बस्ने भएको छ ।
क्रियाशील सदस्यको नामावली सार्वजनिक गर्नुपर्ने लगायतका तीन बुँदे माग राख्दै बुधबारदेखि जिल्ला सभापतिहरुले २४ घण्टे रिले अनशन सुरु गर्न लागेका हुन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार धर्नामा बसेका जिल्ला सभापतिहरुले पार्टीलाई थप दबाब दिन रिले अनशन सुरु गर्न लागेको नुवाकोट जिल्लाका सभापति जगदिश्वर नरसिंह केसीले जानकारी दिए ।
‘हिजो धर्ना दियौं, अब हामी आजदेखि २४ घण्टे रिले अनशनमा बस्छौं,’ केसीले भने ।
केसीका अनुसार बुधबार तीन जिल्ला सभापति अनशनमा बस्नेछन् । नुवाकोट जिल्ला सभापति केसीसहित काभ्रेका मधु आचार्य र धादिङ जिल्ला सभापति रमेश धमला पहिलो दिन रिले अनशनमा बस्ने छन् ।
कांग्रेसले १४ औं महाधिवेशन मंसिर ९ देखि १३ सम्म गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ । वडा अधिवेशन आउन १० दिन पनि बाँकी नरहेका बेला निर्वाचन समितिले क्रियाशील सदस्यताको अन्तिम सूची पाएको छैन ।
पार्टी सभापति शेरबहादुर देउवाले सदस्यता सूची निर्वाचन समितिलाई बुझाएपछि नामावली सार्वजनिक गर्ने तयारी छ ।